सरकारको ध्यान वातावरण बनाउनुको साटो सम्मेलनमा «
Logo

लण्डनमा उच्चस्तरीय लगानी सम्मेलन

सरकारको ध्यान वातावरण बनाउनुको साटो सम्मेलनमा

काठमाडौं– मुलुकभित्र लगानीको वातावरण बनाउन नसकेको आरोप लाग्दै आएका बेला सरकारको ध्यान भने लगानी सम्मेलन आयोजनामा देखिएको छ ।

पूर्व प्रधानमन्त्री केपी ओलीको पालामा दुई–दुई पटक अन्तर्राष्ट्रिय लगानी सम्मेलन आयोजना गरिएको थियो । त्यसको औचित्य नदेखिए पनि अहिलेको सरकारले बेलायत पुगेर लगानी सम्मेलन आयोजना गरेको छ । लण्डनस्थित नेपाली दूतावासले बुधबार उच्चस्तरीय लगानी सम्मेलनको आयोजना गरेको हो ।

निजी क्षेत्रले सरकारले लगानीका लागि वातावरण बनाउन नसकेको आरोप लगाइरहेको छ । स्वदेशी र विदेशी लगानी आकर्षित गर्न आवश्यक नियमकानुन बनाउन नसकेको र केही बनेका कानुनको पनि स्थिरता नभएको आरोप लाग्दै आएको छ । लगानीकर्ताले भनेजस्तै कानुन र वातावरण तयार पार्न छाडेर सरकारको ध्यान भने एकोहोरो रुपमा लगानी सम्मेलनमा केन्द्रित बनेको छ ।

अर्थ मन्त्रालयका एक उच्च अधिकारीले लगानी सम्मेलनको कुनै अर्थ नरहेको दाबी गरे । उनले मुलुकभित्र लगानी ल्याउन आवश्यक राम्रा कानुन बनाउन नसक्ने सरकारले बाहिर गएर लगानी गर्न आऊ भन्नुको कुनै अर्थ नहुने बताए । ‘एक दशक नहुँदै तीन वटा अन्तर्राष्ट्रिय लगानी सम्मेलन गरिएका छन्,’ ती अधिकारीले भने, ‘यसको परिणाम भने उल्टो देखिएको छ । लगानी बढ्नुको साटो झनै खस्कँदै गएको छ ।’ उनले लगानी सम्मेलनमा प्रतिवद्धता मात्र आउने तर पैसा नआउने जानकारी दिए ।

ती अधिकारीले भनेजस्तै मुलुकभित्र आउने प्रत्यक्ष वैदेशिक लगानीको अवस्था नाजुक देखिन्छ । अघिल्लो आर्थिक वर्षका तुलनामा गत आर्थिक वर्षमा प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) प्रतिवद्धता २१ अर्ब रूपैयाँले घटेको छ । उद्योग विभागका अनुसार २०७८–७९ को तुलनामा गत आवमा वैदेशिक लगानीको प्रतिवद्धता २१ अर्ब एक करोड रूपैयाँले घटेको हो ।

विभागका अनुसार गत आवमा ३३ अर्ब १४ करोड रूपैयाँको वैदेशिक लगानीको प्रतिवद्धता आएको छ । अघिल्लो आवमा यो ५४ अर्ब १५ करोड रूपैयाँ थियो । यस्तै आव २०७७–७८ मा ३२ अर्ब सात करोड रूपैयाँ लगानी प्रतिवद्धता आएको थियो ।
वैदेशिक लगानीको यस्तो अवस्था रहेका बेला बेलायत पुगेर अर्थमन्त्री प्रकाशशरण महतले नेपालको समृद्धि र आर्थिक रुपान्तरणका लागि ठूलो वित्तीय श्रोतको आवश्यकता रहेको बताए । नेपाल र संयुक्त अधिराज्यबीच सन् १९२३ मा सम्पन्न मैत्री सन्धीमा हस्ताक्षर भएको एक सय वर्ष पूरा भएको अवसरमा गरिएको सम्मेलनमा उनले यसका लागि आन्तरिक श्रोत पर्याप्त नभएको भन्दै वैदेशिक लगानी खोजिएको जानकारी दिए ।

अर्थमन्त्री महतले नेपालले लगानीमैत्री वातावरणका लागि आवश्यक ऐनकानुन निर्माण तथा परिमार्जन एवं संस्थागत व्यवस्था गरेको र यस वर्षको बजेटले लगानीकर्तालाई थप सहजीकरण गर्न विभिन्न सुधारका कार्य शुरु गरेको समेत बताए । उनले अन्तर्राष्ट्रिय वित्त बजारबाट पुँजी परिचालन गर्न आवश्यक कानुनी पूर्वाधार तयार गरिने जानकारी दिँदै आगामी दिनमा बेलायतबाट लगानीमा थप वृद्धि हुने विश्वास व्यक्त गरे ।

बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यले वित्तीय केन्द्र लण्डनबाट लगानीका दीर्घकालीन वित्तीय श्रोतमार्फत् नवीकरणीय उर्जा, सूचना प्रविधि, शिक्षा तथा पर्यटन क्षेत्रमा लगानी भित्र्याउन चाहेको जानकारी दिए । नेपालले विद्युत व्यापारका लागि छिमेकी मुलुक भारतसँग द्विपक्षीय सम्झौता गरेको तथा बंगलादेशमा समेत निर्यात गर्न तयारी गरेको बताउँदै उनले नेपालको जलविद्युतबाट नेपालमात्र नभई दक्षिण एसियाली क्षेत्रमै जलवायु परिवर्तनसम्बन्धी लक्ष्य पूरा गर्न सहयोग पुग्ने बताए ।

सिटी अफ लण्डनका अल्डरम्यान तथा सेरिफ ब्रोनेक मसोजादाले सिटी अफ लण्डनमा प्रशस्त वित्तीय श्रोत तथा जोखिम बहन गर्ने बीमा कम्पनी रहेका र नेपालको दिगो विकासका लागि सिटी अफ लण्डनको सहयोग रहने बताए । बेलायती परराष्ट्र मन्त्रालयका निर्देशक बेन मेलरले गत केही वर्षमा ब्रिटिश इन्टरनेशनल इन्भेस्टमेन्टमार्फत नेपालको विभिन्न क्षेत्रमा लगानी बढ्दै गएको र वैदेशिक लगानीको वातावरण सुधारका लागि बेलायतले सहयोग गरिरहेको बताए । उनले नेपालको अति कम विकसित मुलुकबाट विकासशील मुलुकमा स्तरोन्नति हुने प्रक्रियालाई सहज बनाउन निरन्तर सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।

बेलायती संसद्मा बेलायत–नेपाल संसदीय समूहका अध्यक्ष वीरेन्द्र शर्माले नेपालका विभिन्न क्षेत्रमा लगानीका प्रशस्त सम्भावना रहेको जानकारी दिए । यूके एक्सपोर्ट फाइनान्सका प्रमुख कार्यकारी अधिकृत टिम रिडले नेपालका विभिन्न क्षेत्रमा १.५ बिलियन पाउण्डसम्म लगानी गर्न यूके एक्सपोर्ट फाइनान्स तयार रहेको बताए ।

नेपालको नवीकरणीय उर्जा, सूचना प्रविधि एवं शिक्षा क्षेत्रमा लगानी ल्याउने बारेमा केन्द्रित सम्मेलनमा यस क्षेत्रसँग सम्बन्धित व्यक्तिसँग छुट्टाछुट्टै प्यानलमा छलफल भएको छ । राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले वैदेशिक लगानी स्वीकृति तथा विदेशी कम्पनीको लाभांश फिर्ता लैजाने प्रक्रिया सरलीकरण गर्न राष्ट्र बैंक प्रतिवद्ध रहेको भन्दै लगानीकर्तालाई आश्वासन पार्ने प्रयास गरे ।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा लगानीमैत्री वातावरण भएको हुँदा वैदेशिक लगानीकर्तालाई निर्धक्क भएर लगानी गर्न आग्रह गरे ।

स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था नेपालका अध्यक्ष गणेश कार्कीले नेपालमा जलविद्युत तथा अन्य नवीकरणीय उर्जाको क्षेत्रमा लगानीका अवसरका बारेमा जानकारी दिए । ब्रिटिश इण्टरनेशनल इन्भेष्टमेण्टका प्रबन्ध निर्देशक कोलिन बक्ली तथा डोल्मा इम्प्याक्ट फण्डका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत टीम गोचरले नेपालमा आफूहरुले गरेको लगानी फलदायी रहेको बताए । उनले उत्तरदायी लगानीका लागि नेपाल उपयुक्त देश भएको धारणा राखे ।

अर्थ मन्त्रालयका अनुसार सम्मेलनमा नेपालमा लगानी गरिरहेका विकास वित्तीय संस्थाहरुको तर्फबाट इन्भेस्ट फर इम्प्याक्ट नेपालका प्रमुख कार्यकारी अधिकृत विवेक श्रेष्ठले विकास वित्तीय संस्थाहरुको लगानीका बारेमा जानकारी दिएका थिए । अर्थ मन्त्रालय तथा नेपालमा लगानी गरिरहेका ६ वटा विकास वित्तीय संस्थाहरुबीच नेपालमा विकास वित्तीय संस्थाहरुको लगानी सहजीकरण गर्ने सम्बन्धी एक समझदारीपत्रमा हस्ताक्षर पनि भएको छ ।

सम्मेलनमा बेलायती बैंकर्स, निजी लगानीकर्ताहरु, बीमा कम्पनीहरु, बेलायत लगायत यूरोपेली मुलुकका विकास वित्तीय संस्थाका प्रतिनिधिहरु, व्यापार मन्त्रालय एवं परराष्ट्र मन्त्रालयका पदाधिकारीहरु, नेपाली डायस्पोरा, नेपालमा लगानी गरिरहेका बेलायती कम्पनीलगायत गरी करिब सय जनाको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्