महिला श्रमिकबारे गोल्डिनको खोज «
Logo

महिला श्रमिकबारे गोल्डिनको खोज

श्रम बजारमा महिला श्रमिकको योगदानबारे गरिएको खोजका लागि अमेरिकी आर्थिक इतिहासकार तथा श्रम अर्थशास्त्री क्लाउडिया गोल्डिनलाई यस वर्षको अर्थशास्त्रतर्फको नोबेल पुरस्कार दिइने भएको छ । केही समयपहिले स्वीडेनको स्टकहोमस्थित रोयल स्वीडिस एकेडेमी अफ साइन्सेजले यो घोषणा गरेको थियो ।

पुरस्कार विजेता गोल्डिन अर्थशास्त्रतर्फको विधामा पुरस्कृत हुने तेस्रो महिला पनि हुन् । उनले श्रम बजारमा महिलाको सहभागिता र आम्दानी, लैंगिक अन्तरको मुख्य स्रोत र परिवर्तनको कारणबारे अनुसन्धान गरेको एकेडेमीले बताएको छ । यसबाट महिला श्रम बजारका परिणामबारे हाम्रो बुझाइलाई परिष्कृत गर्न मद्दत पुग्ने एकेडेमीको दाबी छ । श्रम बजारमा महिलाको भूमिकालाई बुझ्नु समाजका लागि अत्यन्त महत्वपूर्ण रहेको र गोल्डिनको आधारभूत अनुसन्धानबाट यसका अन्तर्निहित कारक तत्वहरूका बारेमा बुझ्न सहयोग पुग्ने जनाइएको छ । उनको अनुसन्धानले भविष्यमा हुने महिला श्रम कठिनाइलाई सम्बोधन गर्नसमेत आवश्यक सहयोग पुग्ने भएकाले गोल्डिनलाई नोबेल अर्थशास्त्र पुरस्कार दिने घोषणा गरिएको एकेडेमीले जनाएको छ ।

श्रमिक उत्पादनको एकमात्र गतिशील साधन हो । उत्पादनका अन्य साधनहरू जस्तै— भूमि, पुँजी, सङ्गठन आदि श्रमिकमा निर्भर हुन्छन् । सैद्धान्तिक रूपमा हेर्ने हो भने श्रमिकलाई कार्यकुशलताका आधारमा अदक्ष, अर्धदक्ष, दक्ष, उच्च दक्ष श्रमिक गरी विभाजन गरिएको देखिन्छ । तर, व्यावहारिक रूपमा भने लैंगिक आधारमा समेत श्रमिकलाई महिला श्रमिक र पुरुष श्रमिक गरी दुई भागमा विभाजन गरेको पाइन्छ । कामको प्रकृति समान रहे पनि पुरुष र महिला श्रमिकलाई दिने पारिश्रमिकमा विभेद हुने गरेको गुनासो अल्पविकसित मुलुकमा मात्र नभई विकसित मुलुकमा समेत देखिन्छ । महिला श्रमिकलाई दिइने जिम्मेवारी, पद तथा पारिश्रमिकमा रहेको असमानताका मुख्य कारक तत्वहरू, महिला श्रमिकले अर्थतन्त्रमा पु¥याउने योगदान तथा उनीहरूको परिवर्तित व्यावसायिक जीवनजस्ता पक्षहरू समेटिएको अनुसन्धानले यस वर्षको अर्थशास्त्रतर्फको नोबेल पुरस्कार प्राप्त गर्न सफल भएको छ ।

विश्व श्रम बजारमा महिलाको कम प्रतिनिधित्व र थोरै आम्दानीबारे अध्ययन गर्न अर्थशास्त्री गोल्डिनले अमेरिकाको विगत २ सय वर्षअघिदेखिको तथ्यांक संकलन गरेको जनाएकी छन् । संकलित तथ्यांकका आधारमा श्रम बजारमा देखिएको लैंगिक अन्तर र रोजगारी दरमा आएको परिवर्तनलाई उनले प्रस्तुत गरेकी छन् । अनुसन्धानका क्रममा उनका सन् १९९० मा ‘अन्डरस्यान्डिङ द जेन्डर ग्यापः एन इकोनोमिक हिस्ट्री अफ अमेरिकन वुमेन’ र सन् २०२१ मा ‘करियर एन्ड फेमिलीः वुमेन सेन्चुरी’ नामक दुईवटा चर्चित अनुसन्धानात्मक पुस्तकसमेत प्रकाशित भएका छन् । गोल्डिनले आफ्नो अनुसन्धानमा विगत दुई सय वर्षको अवधिमा अमेरिकी महिला श्रमिकको कमाइ तथा रोजगार दरमा कसरी बदलाव भयो भन्ने कुरालाई अंग्रेजी अक्षर ‘यू’ आकारको वक्ररेखामार्फत प्रस्ट पार्ने प्रयास गरेकी छन् ।

गोल्डिनले प्रतिपादन गरेको ‘यू’ आकारको वक्ररेखामा सर्वप्रथम सन् १७९० को समयमा रहेको अर्थव्यवस्थाको चर्चा गरिएको छ । त्यस अवधिमा कृषिक्षेत्रको विस्तार र विकासले गति लिएको समय थियो । तसर्थ, देशको अर्थतन्त्रमा समेत यो क्षेत्रको योगदान ज्यादा रहेको थियो । यस अवधिमा महिला श्रमिकसमेत कामकाजमा व्यस्त रहेको पाइएको अनुसन्धानमा उल्लेख छ । विशेष गरी कृषिक्षेत्रका कार्यहरू घरभित्रै र यसको वरिपरिबाट नै गर्न सकिने भएकाले त्यस अवधिमा विवाहिता महिलाको रोजगारीको दरमा वृद्धि भएको थियो । मुलुकको अर्थतन्त्रमा समेत उनीहरूको ठूलो योगदान रहेको बताइएको छ । महिला श्रमिकका लागि अनुकूल रहेको यो अवधिले भने सधैं निरन्तरता पाउन नसकेको गोल्डिनले बताएकी छन् ।

सन् १८२० को समयमा विभिन्न मुलुकमा औद्योगिक तथा निर्माण क्षेत्रको विस्तार भएसँगै महिलाको रोजगारीको स्तर पनि खस्कँदै गएको उल्लेख छ । यस अवधिदेखि मुलुकको अर्थतन्त्रमा महिला श्रमिकको सहभागिता समेत गुम्दै गएको देखिएको छ । विशेष गरी औद्योगिक तथा निर्माण क्षेत्रमा काम गर्नका लागि घरगृहस्थी तथा बालबच्चा छोडेर टाढा जानुपर्ने थियो । त्यस समयमा महिलाका लागि घरबाट टाढा जान सहज नभएका कारणले उनीहरूको रोजगारीको स्तर घटेको बताइएको छ । यो क्रम सन् १९१० सम्म जारी रहेको तथ्यांक अनुसन्धानको यू आकारको वक्ररेखामा उल्लेख छ । तसर्थ, सन् १८२० देखि १९१० सम्मको अवधिमा महिला श्रमिकको अर्थतन्त्रमा योगदान घट्दै गएको बताइएको छ । सन् १९१० एउटा यस्तो बिन्दु बन्यो जहाँ सबैभन्दा न्यून योगदान भएको पाइयो ।

सन् १९१० पछिको अवधिमा भने महिला श्रमिकको पुनः आवागमन भएको देखिएको छ । यस अवधिमा मुलुकमा सेवा क्षेत्रसँग सम्बन्धित कार्यक्षेत्रहरूको विकास र विस्तारले महिला श्रमिकको स्तरमा समेत वृद्धि गरेको अनुसन्धानले देखाएको छ । विशेष गरी २० औं शताब्दीको सुरुवातसँगै शिक्षा, स्वास्थ्य, यातायात तथा सञ्चार, बैंक तथा वित्तीय संस्था र पर्यटनजस्ता सेवा क्षेत्रसँग सम्बन्धित उद्योग तथा व्यापार व्यवसायको प्रवद्र्धन महिला श्रमिकका लागि वरदान साबित हुन पुग्यो । उनीहरूको अर्थतन्त्रमा योगदान फेरि बढ्न सुरु भएको अनुसन्धानमा उल्लेख छ । यसपछि महिला श्रमिकको स्थिति पुनः सुधारोन्मुख बाटोमा रहेको बताइएको छ । यसका पछाडि मुख्य गरी तीन प्रमुख कारण रहेको गोल्डिनको अनुसन्धानले बताएको छ ।

महिलाको रोजगारीको स्तरमा सुधार आउनुको पहिलो र प्रमुख कारण शिक्षाको विकासलाई लिइएको छ । शिक्षाको विकासले महिलामा आत्मबलको वृद्धि भएको अनुसन्धानमा उल्लेख छ । यसले महिलाको जिम्मेवारी बढ्नुका साथै अर्थतन्त्रमा योगदानसमेत बढेको देखिएको छ । यसैगरी दोस्रो कारकका रूपमा शिक्षाको विकासपछि महिलाको अपेक्षामा आएको परिवर्तनलाई लिइएको छ । उनीहरू आत्मनिर्भर हुन खोजेको देखिन्छ । अरूप्रति निर्भर हुन नचाहेको पनि पाइएको छ । परिवारका अन्य सदस्यहरूले महिलालाई हेर्ने नजरसमेत बदलिएको उल्लेख छ । यसपछि महिलाहरू काममा व्यस्त हुने क्रमसमेत बढेको देखिएको छ ।

तेस्रो एवं महत्वपूर्ण कारकका रूपमा महिलाले प्रयोग गर्ने गर्भनिरोधक चक्कीलाई लिइएको छ । महिलाको कामकाजी हुने दरमा यी चक्कीहरूले बढोत्तरी ल्याएको जनाइएको छ । गर्भनिरोधक चक्कीले एउटा क्रान्तिकारी परिवर्तन ल्याएको देखिएको छ । यसको आविष्कार हुनुभन्दा पहिले महिलाले गर्भधारण गरेपछि उनीहरूको व्यावसायिक जीवन लगभग समाप्त भएको जस्तो मानिन्थ्यो । तर, यसको आविष्कारले धेरै हदसम्म महिलालाई व्यावसायिक जीवनमा टिकाइराक्न सजिलो बनाएको जनाइएको छ । संयुक्त राष्ट्रसंघको प्रतिवेदनले समेत गर्भनिरोधक साधनहरूको महत्वलाई प्रकाश पार्दै यसको आविष्कारले हरेक वर्ष संसारमा ३० लाख बालबालिकाको जीवनरक्षा भइरहेको जनाएको छ । यसबाट एकातिर जनसंख्याको वृद्धिदरलाई नियन्त्रण गर्न मद्दत पुगेको छ भने अर्कातर्फ गरिबी निवारणमा समेत टेवा पुगेको जनाइएको छ । यसको प्रत्यक्ष असर महिलाको जीवनस्तर सुधारमा पुगेको उल्लेख छ ।

महिला श्रमिक पुरुष श्रमिकसँगसँगै हातेमालो गर्दै हिँड्न सक्ने अवस्थामा रहेको गोल्डिनको भनाइ छ । वैवाहिक जीवनपछि पनि महिला र पुरुष एउटै धरातलमा हिँडेको देखिन्छ, तर जब महिला गर्भधारण गर्न पुग्छन् यसपछि भने यी दुवैको बाटो छुट्टिएको उनको भनाइ छ । महिलाले गर्भधारण गरेपश्चात् जबसम्म बच्चा हुर्कंदैनन् तबसम्मका लागि उनीहरू आफ्नो नियमित कामकाजी जीवनबाट टाढा रहनुपर्ने हुन्छ । यो समयमा उनीहरू शिक्षा लिइरहेका छन् वा कुनै आयआर्जनका काममा संलग्न छन् भने पनि त्यो स्थगित गर्नुपर्ने हुन्छ । यो बीचको तीन–चार वर्षको अन्तरालले गर्दा महिला श्रमिक पुरुषहरूभन्दा पछि पर्न बाध्य हुने गरेको उनको निष्कर्ष छ ।

महिलाको जीवनस्तर उकास्न सबैभन्दा महत्वपूर्ण भूमिका शिक्षा क्षेत्रको रहेको गोल्डिनको अनुसन्धानले देखाएको छ । शैक्षिक निर्णय, जसले जीवनभरको जीवनवृत्ति अर्थात् आफ्नो पेसालाई निर्धारण गर्छ, यसको प्राप्ति कम उमेरमै लिनुपर्ने उनले सुझाएकी छन् । शैक्षिक निर्णयले महिलाको आगामी भविष्यलाई निर्धारण गर्ने गर्छ । २० औं शताब्दीमा महिला शिक्षित भएपछि उनीहरूको आर्थिक तथा व्यावसायिक स्तरमा लगातार वृद्धि भइरहेको देखिएको छ । धेरैजसो विकसित मुलुकमा पुरुषको तुलनामा महिला धेरै हदसम्म अगाडि बढेको समेत अनुसन्धानमा उल्लेख गरिएको छ । युवा महिलाको अपेक्षा आफूभन्दा अगाडिको पिंढीको अनुभवले निर्धारण गर्ने हुँदा आमा शिक्षित भएको खण्डमा त्यसपछि आउने पिंढीसमेत यसबाट लाभान्वित हुने दाबी गरिएको छ । पुरानो पिंढीले नयाँ पिंढीलाई अनुभव हस्तान्तरण गर्ने भएकाले महिलाले आफ्नो व्यावसायिक जीवनलाई महत्वका साथ अगाडि बढाउनुपर्ने कुरा गोल्डिनले प्रतिपादन गरेको सिद्धान्तमा उल्लेख गरिएको छ ।

यस वर्षको अर्थशास्त्रतर्फको नोबेल पुरस्कार विजेताले प्रतिपादन गरेको सिद्धान्तले विश्वभरका महिला श्रमिकहरूको जीवनस्तर वृद्धिमा महत्वपूर्ण भूमिका खेल्न सक्ने अनुमान गरिएको छ । नेपालमा रहेका महिला श्रमिकहरूसमेत लैंगिक विभेद तथा विभिन्न पारिवारिक समस्याहरूबाट गुज्रिरहेको अवस्था छ । गोल्डिनले प्रतिपादन गरेको सिद्धान्तलाई आधार बनाएर अगाडि बढ्ने हो भने सर्वप्रथम महिलाको शिक्षाको पहुँचमा वृद्धि गर्नुपर्ने देखिन्छ । शिक्षित महिलाले आफ्नो भविष्यको निर्णय आफंै लिन सक्ने क्षमता राख्ने देखिएको छ । उनीहरू हरेक क्षेत्रमा प्रतिस्पर्धी उम्मेदवार बन्न सक्ने र पुरुषसँग एउटै धरातलमा सँगसँगै हिँड्न सक्ने बन्नेछन् । यसबाट लैंगिक विभेदको समस्या बिस्तारै हट्दै जान सक्नेछ ।

नेपालमा कामकाजी महिलामध्ये करिब ७० प्रतिशत महिला अझै पनि कृषिक्षेत्रमा संलग्न देखिन्छन् । उनीहरूले त्यस क्षेत्रबाट अपेक्षित लाभ लिन सकेको देखिँदैन । यसका लागि जीवननिर्वाहमुखी पेसाबाट कृषिलाई व्यवसायीकरण गर्नुपर्ने आवश्यकता छ । महिलालाई समेत बिस्तारै कृषिक्षेत्रबाट सेवा क्षेत्रमा स्थानान्तरण गर्ने नीति तथा कार्यक्रमहरू अगाडि ल्याउनुपर्ने देखिएको छ । महिलाको व्यावसायिक जीवनलाई प्रतिकूल प्रभाव पार्न सक्ने परम्परागत सोच, विचार तथा मान्यताहरूलाई समेत समयअनुसार परिवर्तन गर्दै लैजानुपर्ने देखिन्छ । यसले नेपालमा महिलाको जीवनस्तर उकास्नमा महत्वपूर्ण भूमिका खेल्न सक्नेछ । कुल जनसंख्याको आधाभन्दा बढी हिस्सा ओगटेका महिलाको जीवनस्तरमा हुने वृद्धिले मुलुकको समग्र आर्थिक विकासमा समेत वृद्धि हुने पक्का छ ।

प्रतिक्रिया दिनुहोस्