दलित तथा सीमान्तकृत परिवारलाई सौर्यबत्ती «

दलित तथा सीमान्तकृत परिवारलाई सौर्यबत्ती

चरिकोट-दोलखाको मेलुङ गाउँपालिकाले गाउँपालिकाभित्रका दलित तथा सीमान्तकृत समुदायका एक हजार घरपरिवारलाई अनुदानमा सौर्यबत्ती वितरण शुरु गरेको छ ।
वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रसँगको सहकार्यमा मेलुङ गाउँपालिकाले गाउँपालिकाभित्रका सबै वडाका दलित, थामी तथा सीमान्तकृत समुदायका घरपरिवारलाई अनुदानमा सौर्यबत्ती वितरण शुरु गरेको हो ।
उज्यालो मेलुङ नारालाई साकार पार्न अनुदान वितरण गर्न शुरु गरेको सौर्यबत्ती सेटमा एक घरपरिवारलाई पुग्ने गरी चार वटा चिम, एउटा ब्याट्री, एउटा सोलार प्यानल र सौर्यबत्ती जडानका लागि आवश्यक पर्ने सामग्री रहेको गाउँपालिका अध्यक्ष नरबहादुर श्रेष्ठले बताए ।
अभियानमा मेुलुङ गाउँपालिका वडा नं ७ का १११ दलित तथा सीमान्तकृत र वडा नं ४ का ४३ घरपरिवारलाई सौर्यबत्ती सेट उपलब्ध गराएको छ । अन्य वडामा क्रमिकरूपमा वितरण गर्दै जाने कार्यक्रम रहेको गाउँपालिकाले जनाएको छ ।
अनुदानमा वितरण गर्न लागेको सौर्यबत्ती सेटको मूल्य प्रतिसोलार सेट १२ हजार पर्ने र गाउँपालिकाभित्रका एक हजार परिवारलाई नै वितरण गर्न करीब एक करोड २० लाख रुपैयाँ पर्ने भएतापनि त्यसको सबै लागत वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले व्यहोर्ने अध्यक्ष श्रेष्ठले जानकारी दिए । मेलुङ गाउँपालिकाको दुर्गम क्षेत्रमा नियमित विद्युत नहुने र अन्धकारमा बस्नुपर्ने बाध्यता तथा बालबालिकालाई अध्ययन गर्न समस्या हुने भएका कारण गाउँपालिकाले वैकल्पिक ऊर्जाको कार्यक्रमलाई अघि सारेको हो ।
मेलुङ गाउँपालिकाले उज्यालो मेलुङ अभियानअन्तर्गत गाउँपालिकाको मुख्यचोक तथा विभिन्न बस्तीमा वैकल्पिक ऊर्जा प्रवद्र्धन कार्यक्रम सञ्चालन गर्न गाउँसभाबाट नीति तथा कार्यक्रम नै पास गरी १० लाख रुपैयाँ विनियोजन गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्