१४ दिनमा एक करोड ८५ लाख राजस्व
महामारीपछि चितवनमा पर्यटकको घुइँचो
चितवन– कोरोना महामारीपछि आएको आर्थिक मन्दीका कारण चितवनको पर्यटन व्यवसायमा छाएको नैरास्यता २०८० को बडादसैंले उल्लासमय बनाएको छ ।
चितवन राष्ट्रिय निकुञ्जले दसैँको अवधिमा पर्यटक प्रवेश शुल्कवापत मात्र एक करोड ८५ लाख रुपैयाँ राजस्व संकलन गरेको छ । बडादसैंको घटस्थापनादेखि पूर्णिमासम्म १४ दिनको अवधिमा निकुञ्जले एक करोड ८५ लाख ४४ हजार रुपैयाँ राजस्व संकलन गर्न सफल भएको हो । १४ दिनको अवधिमा संकलन भएको उक्त राजस्व अहिलेसम्मकै धेरै भएको निकुञ्ज प्रशासनले जनाएको छ ।
सो अवधिमा चितवन आएकामध्ये २० हजार ७०७ पर्यटकले निकुञ्ज अवलोकन गरेका छन् । स्वदेशी पर्यटकबाट निकुञ्जले १९ लाख ८४ हजार रुपैयाँ, विदेशी पर्यटकबाट एक करोड २० लाख ९६ हजार रुपैयाँ, सार्क मुलुकका पर्यटकबाट सात लाख ७९ हजार रुपैयाँ र जीप सफारीबाट ३६ लाख ८५ हजार रुपैयाँ राजस्व संकलन भएको निकुञ्जले जनाएको छ ।
मुलुककै तेस्रो ठूलो पर्यटकीय गन्तव्य सौराहबाट १२ हजार ५५८ स्वदेशी पर्यटक, ४ हजार ५४३ विदेशी पर्यटक, ५६३ सार्क मुलुकका पर्यटक तथा ४४० जना पर्यटकले जीप सफारीका लागि टिकट काटेर निकुञ्ज प्रवेश गरेका छन् । यो अवधिमा कसराबाट ३०८ जना स्वदेशी पर्यटक, ७६६ जना विदेशी पर्यटक, १०४ जना सार्क मुलुकका पर्यटक र १६४ जना अन्य पर्यटकले जीप सफारीका लागि टिकट काटेर निकुञ्ज प्रवेश गरेको निकुञ्जले जनाएको छ ।
मेघौलीबाट २७७ जना स्वदेशी पर्यटक, ५०५ जना विदेशी पर्यटक, १०९ जना सार्क मुलुकका पर्यटक तथा १११ जना अन्य पर्यटकले जीप सफारीका लागि टिकट काटेर निकुञ्ज प्रवेश गरेका हुन् । त्यसैगरी माडी क्षेत्रबाट १३ जना स्वदेशी पर्यटक, १९ जना विदेशी, तीनजना सार्क मुलुकका पर्यटक र चारजना जीप सफारी, अमलटारीबाट ५३ जना स्वदेशी, २१३ जना विदेशी र १६ जना अन्य पर्यटकले जीप सफारीका लागि निकुञ्जको टिकट काटेर प्रवेश गरेको जनाइएको छ ।
कुजौलीबाट २४ जना स्वदेशी, दुईजना विदेशी र अन्य दुईजना पर्यटकले जीप सफारीमार्फत् निकुञ्ज अवलोकनका लागि टिकट काटेको निकुञ्जले जनाएको छ । सौराहालाई प्रमुख गन्तव्य बनाएर चितवन आएका कुल पर्यटकमध्ये करिब ४० प्रतिशतले मात्र निकुञ्ज अवलोकन गर्ने गरेको तथ्यांक सार्वजनिक हुने गरेको छ ।