एनआरएनलाई नागरिकता दिन सुरु

बिर्तामोड– झापामा पहिलो पटक गैरआवासीय नेपाली नागरिकलाई नागरिकता वितरण गरिएको छ । जिल्ला प्रशासन कार्यालय झापाले अमेरिका बसोबास गर्दै आएका बिर्तामोड नगरपालिका–८ का देवीप्रसाद पाण्डेलाई नेपाली नागरिकताको प्रमाणपत्र वितरण गरेको हो ।
प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले पाण्डेलाई गैरआवासीय नेपाली नागरिकताको प्रमाणपत्र जारी गरी हस्तान्तरण गरेका थिए । गत जेठमा संशोधन भएको नागरिकतासम्बन्धी ऐनअनुसार नागरिकता नियमावली सरकारले यसअघि नै स्वीकृत गरेकाले गैरआवासीय नेपालीले नेपाली नागरिकता पाउने बाटो खुलेसँगै झापाबाट पहिलो गैरआवासीय नेपाली नागरिकता वितरण गरिएको प्रमुख जिल्ला अधिकारी पोखरेलले बताए ।
नागरिकतासम्बन्धी ऐनको दफा ७ (क) १ मा विदेशी मुलुकको नागरिकता प्राप्त गरी दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठनको सदस्य राष्ट्रबाहेकका देशमा बसोबास गरेको र साबिकमा वंशजको वा जन्मका आधारमा निज वा निजको बाबु वा आमा, बाजे वा बज्यै नेपालको नागरिक रही पछि विदेशी मुलुकको नागरिकता प्राप्त गरेको व्यक्तिले आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारको उपभोग गर्न पाउने गरी गैरआवासीय नेपाली नागरिकता प्राप्त गर्न सक्ने व्यवस्था भएको उनले बताए ।