Logo

पुष्प खेतीमा युवा आकर्षित

महेन्द्रनगर– वैदेशिक रोजगारको विकल्पमा युवाहरू पुष्प खेतीमा आकर्षित हुन थालेका छन् । यस्तै युवामध्येमा दोधारा चाँदनी नगरपालिका–८ सुन्दर नगरका प्रेम रोकाया पर्छन् । उनी आफ्नै बारीमा पसिना चुहाउँदै फूलको सुसारमा लागि परेका छन् ।

नेपाली युवाहरू विदेशिने अवस्थामा आफ्नो देशको माया मार्न नसकी आफ्नै देशमा केही गरी परिवार धान्ने प्रयास स्वरूप उनले पुष्प खेती गरेका थिए । सोही खेतीबाट आफूले मनग्य आम्दानी गर्न सफल भएको उनले बताए । सुन्दर नगर बस्तीमा आफ्नै र समूहगत जग्गामा सुरु गरेको कलकतिया र स्थानीय जातका सयपत्री फूल फुलिरहेको देख्दा अहिले आफूलाई खुसी लाग्ने गरेको उनले बताए ।

शून्यबाट सुरुवात गरेका रोकायाले अहिले आफ्नै र समूहगत गरी करिब ९ कट्ठा जग्गामा कलकतिया र स्थानीय जातका सयपत्री पुष्प उत्पादन गर्दै राम्रो आम्दानी भएको बताए । उनको खेतबारीमा कलकतिया र स्थानीय जातका सयपत्री फूल खरिद गर्न, हेर्न आउने र टिकटक बनाउन आउने व्यक्तिहरूको भीड लाग्ने गरेको रोकाया बताउँछन् ।

नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) को सुद्दढ परियोजनाले रोकाया र उनी सम्बद्ध सुन्दर नगर कृषि समूहलाई पुष्प खेतीमा सघाएको थियो । उनले भने,‘ अहिले ९ कट्ठामा लगाएको सयपत्री खेतीले राम्रो आम्दानी भएको छ ।’ अहिलेसम्म करिब ६० हजार सयपत्री पुष्प बेचेको उनले बताए ।

रोकाया भन्छन्,‘भारतको कलकत्ताबाट ल्याएका कलकतिया जातका सयपत्री फूलका बीउलाई उत्पादन गर्न ३५ हजार खर्च लागेको थियो । उक्त बीउ खरिदमा १० हजार र मल्चिङ रोल खरिदमा २५ हजार खर्च भएको रोकायाले बताए । उनले उत्पादन गरेका सयपत्री फूल स्थानीय बजार, महेन्द्रनगर र धनगढी बजारमा निर्यात गर्दै आएको बताएका छन् । राम्रो आम्दानी भएसँगै अर्को वर्ष पनि अझै ठूलो क्षेत्रमा सयपत्री फूल उत्पादन गर्ने रोकायाले बताए ।

उनले सयपत्री फूल उत्पादन गर्न आर्थिक तथा प्राविधिक सहयोग गरेको भन्दै एनएनएसडब्लुएको सुद्दढ परियोजनालाई धन्यवाद समेत दिएका छन् । सयपत्री फूल बिक्री वितरण गरी रोकायाले आर्थिक आम्दानी मात्र नगरी आफ्नो फर्ममा प्रत्यक्ष र अप्रत्यक्ष रूपमा गरी १० जना भन्दा बढी व्यक्तिहरूलाई रोजगारीसमेत दिएका छन् । पैसा कमाउनकै लागि विदेश जाने युवाहरूले गर्न खोजे पुष्प खेतीमा प्रशस्त आम्दानी रहेको किसान रोकाया बताउँछन् ।

समय परिवर्तनसँगै विश्वमै एग्रिकल्चरको महत्व बढ्दै गइरहेको र अहिले जुनसुकै शुभ कार्य गर्दा पनि फूल अनिवार्यरुपमा चाहिने कारणले स्थानीय स्तरमा सयपत्री फूलको माग तीव्र रूपमा बढ्दै गएको रोकाया बताउँछन् । त्यसै गरी दोधारा चाँदनी नगरपालिकाका उपमेयर गंगादेवी जोशीले रोकाया र उनी सम्बद्ध कृषि समूहले उत्पादन गरेको सयपत्री पुष्प खेतीको स्थलगत अनुगमन समेत गरेकी छिन् । रोकायाले गरेको उत्पादनले नगर क्षेत्रको विकासमा सघाउ पुग्ने समेत बताइएको छ ।

रोजगारीको लागि युवाहरू विदेश पलाएन भएको अवस्थामा सुन्दर नगर क्षेत्रमा रोकायाले गरेको उत्पादनले आर्थिक उन्नतिको उदाहरण भएको उपमेयर जोशीले बताइन् । ‘दोधारा चाँदनी नगरपालिका क्षेत्र हावापानी पुष्प व्यवसायको लागि अनुकूल भएको हुँदा पुष्प खेतीको प्रचुर सम्भावना रहेको स्थानीय जानकारहरू बताउँछन् ।

पुष्पजन्य उत्पादन महेन्द्रनगर, धनगढी, नेपालगन्ज लगायतका सहरहरूमा निर्यात गर्न सकिने ठूलो सम्भावना रहेको र हावापानी अनुसार ठूलो मात्रामा व्यावसायिक फूल खेती विस्तार गर्न सके लाखौं मूल्य बराबरको फूलजन्य उत्पादन निर्यात गर्न सकिने स्थानीय केशव अधिकारीले बताए ।

प्रतिक्रिया दिनुहोस्