पोखरामा नमुना रक्त सञ्चार केन्द्रको भवन

पोखरा– पोखरामा देशकै नमुना रक्त सञ्चार केन्द्रको अत्याधुनिक भवन निर्माण भएको छ । सरकारी, गैरसरकारी तथा स्वदेश एवं विदेशबाट विभिन्न व्यक्ति र संघ संस्थाको सहयोगबाट करिब आठ करोडको लागतमा उक्त भवन निर्माण भएको नेपाल रेडक्रस सोसाइटी कास्कीका अध्यक्ष दण्डराज शर्माले बताए ।
देशकै नमुना र अत्याधुनिक सुविधासम्पन्न अपाङ्गमैत्री समेत रहेको उक्त भवनबाट ‘बी’ ग्रेडको सेवा सुविधा दिने गरी हाल चार तले भवन निर्माण भएको उनले जनाए । सहरी विकास तथा भवन निर्माण विभाग, संघीय आयोजना कार्यान्वयन इकाई कास्कीको प्राविधिक सहयोगमा २०७६ फागुन १२ गते सिद्धार्थ कन्स्ट्रक्सनले जिम्मा लिए पनि कोरोनाको कारण करिब डेढ वर्ष ढिलो गरी सम्पन्न गरेको हो ।
आठ करोड दुई लाखको लागतमा निर्माण भएसँगै निर्माण कम्पनीले भवना हस्तान्तरण गरिसकेको सोसाइटी कास्कीका कार्यालय प्रमुख मोहनसिंह खड्काले बताए । भवन निर्माण भएसँगै अत्याधुनिक मेसिनरीसहितका फर्निचर तथा फर्निसिङ व्यवस्थापनका लागि पाँच करोड रुपैयाँ आवश्यक भएको कार्यालयका सूचना अधिकारी कृष्णप्रसाद कोइरालाले बताए ।