‘बुटिक विमानस्थल’को तयारी धमाधम «

‘बुटिक विमानस्थल’को तयारी धमाधम

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई नेपाल भ्रमण वर्ष २०२० भित्रै ‘बुटिक विमानस्थल’को स्वरूप दिइने भएको छ । सरकारले विमानस्थललाई नेपाली मौलिकता झल्कने परम्परागत रूपमा विकास गर्न गरी बुटिक विमानस्थल निर्माण गर्ने लक्ष्य लिएअनुरूप काम भइरहेको विमानस्थल कार्यालयले जनाएको छ ।
विमानस्थल कार्यालयले बढीमा १ वर्ष र कम्तिमा ८ महिनाभित्र हालको विमानस्थलको स्वरूप परर्वतन हुने विमानस्थल प्रमुख राजकुमार क्षेत्रीले बताए । “हालको विमानस्थललाई बुटिक विमानस्थल बनाउनको लागि काम भइरहेको छ,” प्रमुख क्षेत्रीले भने, “नेपाली मौलिक परम्रागत शैलीमा विमानस्थल रूपान्तरण हुने छ ।”
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले पनि विमानस्थलाई बुटिक अवधारण अनुरूप रूपान्तरण गर्न तोकिएका कार्यहरू समयमा नै सम्पन्न गर्ने गत हप्ता सावर्जनिक गरिएको चालू आर्थिक वर्षको कार्यसूचीमा राखेका छन् । विमानस्थल कार्यलयका अनुसार बुटिक विमानस्थलको निर्माणका लागि हाल सात काम एकसाथ भइरहेको छ । विमानस्थलको वाह्य रङरोगन (सिलिकन पेन्टस्), बगैंचा निर्माण, साना ठूला कलात्मक मूर्ति राख्ने काम, अन्तर्राष्ट्रिय आगमन कक्षको गेटमा ६ फिट कदको बुद्धको मूर्ति राख्ने काम अगाडि बढाइएको छ । यस्तै, नेपाली संस्कृति झल्काउने मूर्ति राख्नेदेखि सरसफाइमा ध्यान केन्द्रित गरेर काम अगाडि बढाइएको पनि विमानस्थल कार्यालयले जनाएको छ ।
हाल पश्चिममा रहेको अन्तर्राष्ट्रियतर्फको टर्मिनलको वाहिर एकतर्फी रहेको (क्यानोपी) यात्रुकक्षको छानालाई दुवैतर्फबाट निर्माण गर्ने र हालको ट्याक्सी पार्किङमा यात्रु बाहिरिने कक्ष निर्माण अन्तिम चरणमा रहेको छ । करिब साढे १५ करोडको लागतमा सो टर्मिनल विस्तारको काम गर्न लागिएको विमानस्थलका उपनिर्देशक उत्सवराज खरेलले बताए । उनले भने, “यो सँगै अन्तर्राष्ट्रिय यात्रु वाह्य कक्ष विस्तार हुने छ ।” आगमन कक्षमा ठूलो बुद्धको मूर्ति स्थापनाको लागि समेत टेन्डर आह्वान भएर अन्तिम चरणका काम भइरहेको छ । जसको लागि ७५ लाख बजेट विनियोजन गरिएको छ ।
सरकारले बुटिक विमानस्थल निर्माणको लागि २९ करोड रुपैयाँ बजेट छुट्याएको छ । क्षेत्रीका अनुसार अल्पकालीन र दीर्घकालीन कार्ययोजनाअन्तर्गत दुई चरण गरेर एक वर्षभित्र बुटिक विमानस्थलमा परिणत गर्नेगरी काम भइरहेको छ । सरकारले विसं. २०७६ को बैशाखमानै विमानस्थललाई बुटिक विमानस्थलको रूपमा घोषणा गर्ने निर्णय गरेको भएपनि आन्तरिक तयारी पूरा नभएको भन्दै पहिलो चराणको लागि असार मसान्त र दोश्रो चरणको काम आगामी पुस १५ अगावै सक्नको लागि मन्त्रिपरिषद्ले समयसीमा तोकेको अवस्था छ । “सरकारले दिएको लक्ष्यअनुसार नै काम भइरहेको छ,” क्षेत्रीले भने, “आन्तरिक तयारी नपुग्दा ढिला भएको छ तर काम भने भइरहेको छ । समय अपुग भएमा समय थपको लागि समेत मन्त्रालयलाई आग्रह गरेका छौं ।”
विमानस्थलले यात्रुहरूको सहजीकरणको लागि सहयोगी समेतको व्यवस्था गरिने छ भने बुटिक विमानस्थलमा नेपालको कला र संस्कृति,परम्परा झल्काउने काष्ठकलाका सामग्री राखिनेछ । साथै आगमन र वाह्य कक्षमा नेपाली ग्रीन टि को स्वाद चखाउनेलगायतको योजना विमानस्थलको छ ।

प्रतिक्रिया दिनुहोस्