नेपाल–कतार सम्बन्ध प्रवर्द्धनका सम्भावना

कतारका अमिर शेख तमिम बिन हमाद अल थानी नेपाल आउने भएका छन् । परराष्ट्र मन्त्रालय स्रोतका अनुसार दुईदिने भ्रमणका लागि मंसिर ६ गते उनी नेपाल आउँदै छन् ।
कतारका अमिर शेख तमिम बिन हमाद अल थानीको भ्रमणले सम्बन्धित देशबीचको आपसी मित्रता, समझदारी र विश्वासको आधारलाई फराकिलो बनाउने उद्देश्य राखेको छ । कतार नेपाली कामदारका लागि प्रमुख अन्तर्राष्ट्रिय श्रम गन्तव्यमध्येको एक हो र त्यहाँ हाल करिब ५ लाख नेपाली युवा कार्यरत छन् । नेपाल र कतारबीच सन् १९७७ जनवरी २१ मा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो, त्यसपछि नेपाल–कतारबीचको सम्बन्ध सधैं सुमधुर रह्यो । नेपाल र कतारबीचको सम्बन्ध आपसी विश्वास र समझदारीमा आधारित छ ।
जनस्तरमा पनि पारस्परिक लाभका लागि ठूलो समझदारीको वातावरण छ । भौगोलिक क्षेत्रमा साना भए पनि दुवै देश प्राकृतिक स्रोतसाधनले भरिपूर्ण छन् । नेपालमा जलस्रोत र प्राकृतिक सौन्दर्यको प्रचुर सम्भावना छ । कतार प्राकृतिक ग्याँस र तेलको व्यापक भण्डारले समृद्ध छ । यी स्रोतहरूको सदुपयोग गरेर दुवै देश विश्वमा विकास र जीवनयापनको उच्च मापदण्डमा पुग्न सक्छन् ।
नेपाल र कतारले सन् १९९८ मा हवाई सेवा सञ्चालन गर्नेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गरेका थिए । कतार एयरवेजले अहिले राजधानी दोहाबाट काठमाडौंमा दैनिक दुईदेखि तीन उडान गर्दै आएको छ । कतारको जनशक्तिको आवश्यकताको एक हिस्सा वैदेशिक रोजगारीमा जाने नेपालीले पूरा गरी यस देशको उन्नति र समृद्धिमा आ–आफ्नो तरिकाले योगदान पुर्याइरहेको छ भन्ने सन्तोषजनक कुरा हो ।
कतार सरकार र जनताले नेपालीको इमानदारिता र कडा परिश्रममा भर परेको र उनीहरूलाई रोजगारीको अवसर उपलब्ध गराइरहनु अत्यन्तै प्रशंसनीय छ । अहिले उल्लेख्य संख्यामा विभिन्न वर्गका नेपाली जनशक्ति विभिन्न पेसामा कार्यरत छन् । कतारमा कार्यरत नेपालीहरू दुई देश र त्यहाँका जनताबीचको पुल बनेका छन् । परराष्ट्र मन्त्रालयले उद्धृत गरेअनुसार नेपाल र कतारले धेरै अन्तर्राष्ट्रिय एजेन्डा र मुद्दाहरूमा समान विचार साझा गर्छन् । दुवै देश संयुक्त राष्ट्रसंघ र असंलग्न आन्दोलनका सदस्य हुन्, जहाँ दुवैले मानवजातिको साझा हितका लागि मिलेर काम गर्छन् ।
दुवै देशले विश्वमा शान्ति र सुरक्षाको प्रवद्र्धनमा महत्वपूर्ण योगदान पु¥याइरहेका छन् । प्राचीन कालदेखि नै उद्यमशील अरब व्यापारीहरूमार्फत दक्षिण एसियाले अरब जगत्सँग घनिष्ठ अन्तरक्रिया गरेको थियो । नेपालले मध्यपूर्वमा शान्ति स्थापनाका लागि कतार राज्य र अन्य खाडी राष्ट्रहरूको आकांक्षा र चासोहरू निरन्तर साझा गर्दै आएको छ । खाडीमा पारस्परिक समझदारी सहयोग क्षेत्र तथा सम्पूर्ण विश्वका लागि धेरै महत्वपूर्ण छ ।
नेपाल र कतारबीच पारस्परिक लाभका लागि सहयोगका प्रशस्त सम्भावना छन् । सहयोगका सूचक क्षेत्रहरू हुन सक्छन्ः खाद्य प्रशोधन, पिउने प्रयोजनका लागि हिमालयन स्प्रिङ वाटर, पेट्रो केमिकल र जलविद्युत उत्पादन, बैंकिङ तथा वित्तीय क्षेत्र, पर्यटन र पर्यटनसँग सम्बन्धित उद्योगजस्ता उद्योगहरूमा संयुक्त उद्यम, पेट्रोलियम पदार्थ, हस्तनिर्मित गलैंचा, कपडा, हस्तकलाका वस्तु, औषधीय जडीबुटी, दाल, अलैंची, अदुवा, ताजा तरकारी, फूल आदिको व्यापार । विगतमा नेपालका तत्कालीन राष्ट्रपति रामवरण यादव र कतारका अमिर शेख हमाद बिन खलिफा अल थानीको उपस्थितिमा दुई देशका अधिकारीहरूले अक्टोबर, २०११ मा दुई ढाँचा सम्झौतामा हस्ताक्षर गरेका थिए ।
कानुनी सहयोग सम्झौता र समझदारी पत्र (एमओयू) को उद्देश्य दुई देशबीचको द्विपक्षीय सम्बन्धलाई बलियो बनाउने रहेको थियो । राष्ट्रसंघीय महासभाको अध्यक्षताका लागि दुई देशबीच झगडा भएको एक वर्षभन्दा कम समयपछि राष्ट्रपति यादवको राजकीय भ्रमणका क्रममा भएका सम्झौतामा हस्ताक्षर भएको थियो ।
खाडी राष्ट्रसँगको सम्बन्ध सुधार्नु नेपालका लागि विशेष महत्वको छ, किनकि कतार ठूलो संख्यामा नेपाली आप्रवासी कामदारहरू बसोबास गर्ने देश हो र हाल मलेसियापछि दोस्रो ठूलो संख्यामा आयोजक रहेको छ । नेपाल र कतारले सन् २००२ मा हवाई सेवा सम्झौतामा हस्ताक्षर गरेका थिए । अहिले कतार एयरवेजले काठमाडौंमा दैनिक सीधा यात्रुवाहक उडानहरू सञ्चालन गर्दै आएको छ र युरोप र अमेरिकातर्फ जाने नेपाली निकासी सामानको उल्लेख्य मात्रामा व्यवस्थापन गरिरहेको छ ।
भ्रमणको आदान–प्रदान नेपाल–कतार सम्बन्ध विभिन्न तहमा भएका भ्रमण आदानप्रदानबाट चिनिएको छ, जसले दुई देशबीचको राजनीतिक, आर्थिक र जनता–जनताबीचको सम्बन्धलाई थप प्रगाढ बनाउन योगदान दिएको छ ।
नेपाली पक्षको भ्रमणः पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीद्वारा अक्टोबर ३० देखि २ नोभेम्बर २०१८ सम्म कतारको राजकीय भ्रमण भएको थियो भने पूर्वराष्ट्रपति डा. रामवरण यादवले १०–१३ अक्टोबर २०११ मा कतार राज्यको आधिकारिक भ्रमण गरे । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डा. कृष्णकुमार श्रेष्ठले २०२२ मार्च २१–२३ मा कतारको भ्रमण गरेका थिए । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले २०–२२ नोभेम्बर, २०१९ मा कतारको भ्रमण गरेका थिए ।
प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले २०१९ अप्रिल ६–१० मा कतारको भ्रमण गरेका थिए । उपप्रधान तथा स्वास्थ्य तथा जनसंख्यामन्त्री डा. उपेन्द्र यादवले १३–१४ नोभेम्बर २०१८ मा कतारको भ्रमण गरेका थिए । परराष्ट्र मन्त्री डा. प्रकाशशरण महतले कूटनीतिक सम्बन्धको ४० औं वर्षको उत्सव मनाउन जनवरी २०१७ मा कतारको औपचारिक भ्रमण गरेका थिए । उपप्रधान तथा गृहमन्त्री वामदेव गौतमले ११–१४ अप्रिल २०१५ मा कतारको भ्रमण गरेका थिए । श्रम तथा यातायातमन्त्री रमेश लेखक २० जनवरी २००८ मा कतार गएका थिए । परराष्ट्रमन्त्री रमेशनाथ पाण्डेले सन् २००५ र २००६ मा कतारको भ्रमण गरेका थिए । राजा ज्ञानेन्द्र र रानी कोमल दोस्रो जी–७७ शिखर सम्मेलनमा सहभागी हुन सन् २००५ मा कतार गएका थिए । राजा वीरेन्द्रले सन् १९९९ मा कतारको निजी भ्रमण गरेका थिए । प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले सन् १९९८ मा कतारको औपचारिक भ्रमण गरेका थिए ।
कतार पक्षबाट भ्रमणः कतारको श्रम, प्रशासनिक विकास तथा सामाजिक मामिला मन्त्रालयका उपसचिव मोहम्मद हसन अल ओबैदलीले २०२१ डिसेम्बर २–३ मा नेपाल भ्रमण गरेका थिए । गृह मन्त्रालयका राहदानी तथा प्रवासी मामिला विभागका महानिर्देशक ब्रिगेडियर जनरल मोहम्मद अहमद अल अतिकले २९ फेब्रुअरीदेखि १ मार्च २०१६ सम्म नेपाल भ्रमण गरे ।
केही समयअगाडि नेपाल र कतारबीच श्रम सम्झौता नवीकरण गर्न दुई देशका श्रममन्त्री सहमत भएका थिए । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री र कतारका श्रममन्त्री बीच भएको भेटवार्तामा श्रम सम्झौता नवीकरण गर्नेबारे सहमति भएको हो । नेपाल र कतारबीच श्रम सम्झौता नवीकरणका लागि नेपाल सरकारले पठाएको मस्यौदाबारे कतारी पक्षलाई जानकारी गराएका थिए । उक्त मस्यौदालाई छिट्टै अन्तिम रूप दिने र नेपालमा हस्ताक्षर समारोह आयोजना गर्ने गरी दुई देशका मन्त्रीबीच सहमति भएको स्मरणीय छ ।
नेपाल–कतार संयुक्त समितिको चौथो बैठकमा सन् २००५ मा भएको श्रम सम्झौता पुनरावलोकन गर्ने सहमति भएको थियो । कतारमा काम गरेर फर्केका नेपालीहरूको आर्थिक–सामाजिक पुनः एकीकरणमा सघाउन नेपालले प्रस्ताव गरेको थियो । नेपालबाट लैजाने श्रमिकको दक्षता वृद्धिका लागि कतार सरकारले नेपालका सातवटै प्रदेशमा तालिम केन्द्र स्थापना गर्न सहयोग गर्ने जनाएको थियो । श्रमिकको सामाजिक सुरक्षाको प्रत्याभूति गर्ने, कार्यस्थलमा सुरक्षा, स्वास्थ्य र बीमाको व्यवस्था, सामाजिक सुरक्षामा सहभागितालगायतका विषयमा पनि छलफल भएको छ । साथै, नेपाल पर्यटन, व्यापार र लगानीको अवसरको गन्तव्यका रूपमा मन पर्ने देश भएकाले नेपाल र कतार दुवैले तुलनात्मक लाभ हुने क्षेत्रमा आर्थिक सम्बन्धलाई प्रगाढ बनाउनुपर्छ ।
नेपाल र कतारबीचको व्यापार नगण्य छ । तर, यो कतारको पक्षमा छ । नेपालबाट कतारमा निर्यात हुने प्रमुख वस्तुहरू पास्ता, गलैंचा, स्पेगेटी, चाउचाउ र चिया हुन् भने कतारबाट इथिलिनको पोलिमर, पेट्रोलको तेल र बिटुमिनस खनिज प्रमुख वस्तु हुन् । नेपालले कतारमा निर्यात बढाएर व्यापारघाटाको खाडल घटाउने उपाय खोज्नुपर्छ । यस सन्दर्भमा, यो आर्थिक, वाणिज्य र प्राविधिक सहयोगसम्बन्धी सम्झौताका साथै दुई देशबीचको चेम्बर अफ कमर्सबीच भएको एमओयूको समीक्षा÷संशोधन गर्ने उपयुक्त समय हो ।
विगतलाई सरसरी हेर्दा फिफा विश्वकप–२०२२ का लागि खाडी राष्ट्रले पूर्वाधारको विकासलाई तीव्रता दिँदा कतारले नेपाली कामदारको भर्तीमा उल्लेख्य वृद्धि गरेको थियो । अन्य श्रम गन्तव्यहरूको तुलनामा, कतारबाट ठूला पूर्वाधार परियोजनाहरूका लागि कामदारको संख्या उल्लेखनीय रूपमा बढेको छ । एग्रो इन्टरप्राइज सेन्टरले विगतमा कतारमा छानेको ताजा फलफूल, तरकारी र फ्लोरिकल्चर उत्पादनका साथै अर्थोडक्स चिया, मह, दाल र दोहामा निर्यात गर्ने तुलनात्मक सम्भाव्यता मूल्यांकन गर्न कतारमा गरेको एक अध्ययनमा सो सम्भाव्यता रहेको देखाएको छ । उत्पादन स्रोतका आधारमा बजार वास्तवमा फरक–फरक छ भन्ने कुरालाई ध्यानमा राख्दै यो निष्कर्षमा पुगियो कि दोहामा न्यूनतम पूर्वसर्तहरू पूरा भएसम्म केही कृषि उत्पादन राम्रोसँग बजार प्राप्त हुनेछन् ।
विश्वको सर्वोच्च शिखर सगरमाथा र बुद्धको जन्मस्थल लुम्बिनी प्रमुख पर्यटकीय स्थलहरूमध्ये एक हुन् । कतार सरकारको ‘कतार राष्ट्रिय भिजन–२०३०’ मा तोकेका लक्ष्यहरू पूरा गर्ने सन्दर्भमा कतार सरकारले बृहत् पूर्वाधार निर्माण गरेका कारण कतारमा रोजगारीको सम्भावना बढ्दै गएको छ । संक्षेपमा, नेपाली राष्ट्रपतिको केही वर्षअगाडिको भ्रमणले नेपाल र कतारबीचको द्विपक्षीय सम्बन्धलाई थप सुदृढ तुल्याउन मद्दत गरेको थियो । कतारका अमिर शेख तमिम बिन हमाद अलको आसन्न भ्रमण नेपालको वैदेशिक सम्बन्ध अभिवृद्धिका लागि कोसेढुंगा साबित हुने अपेक्षा गरिएको छ ।