Logo

नमुना थारुग्राम अलपत्र

दाङ– थारु जातिको मौलिक घरसँगै कला र संस्कृतिको संरक्षण गर्ने पर्यटनको विकास गर्ने उद्देश्यले करिब १३ वर्षअघि स्थापना भएको सिसहनिया नमुना थारुग्राम अलपत्र बन्दा घरहरू भत्किन थालेका छन् । नमुना थारुग्रामको सञ्चालन र संरक्षणमा ध्यान नदिँदा २०६५ सालमा निर्माण गरिएक घरहरू भत्किन थालेका हुन ।

स्थापना भएपछि करिब ५/६ वर्ष राम्रोसँग सञ्चालन भए पनि त्यसपछि नमुना थारुग्राम बन्द भएको नमुना थारुग्राम सञ्चालन समितिका पूर्वअध्यक्ष बेझलाल थारुले बताए । थारु जातिको परम्परागत घर, उनीहरूले प्रयोग गर्ने भाँडाकुँडा, लगाउने कपडा, बोलिने भाषा, बसाइँसराइ झल्काउने चित्रसँगै अन्य विभिन्न कला र संस्कृति संरक्षण गर्ने उद्देश्यले तत्कालीन जिल्ला विकास समितिले तीन लाख १५ हजार रुपैयाँ खर्च गरेर घोराही उपमहानगरपालिका–७ सिसहनियामा नमुना थारुग्राम स्थापना गरेको थियो ।

करिब पाँच बिगाह क्षेत्रफलमा नमुना थारुग्रामसँगै संग्रहालय स्थापना गर्ने गरी थारु जातिका परम्परागत पाँचवटा घर निर्माण गरिएको भए पनि स्थानीय सरकारले त्यसलाई सञ्चालनमा ध्यान नदिँदा नमुना थारुग्राम अलपत्र परेको अध्यक्ष चौधरी बताउँछन् । उनका अनुसार थारु समुदायका परम्परागत घर निर्माणसँगै भित्तामा थारु जातिसँग सम्बन्धित विभिन्न चित्रसमेत बनाइएको थियो ।

घरमा भित्तामा घोडा, हात्ती, माछाको चित्र, थारुले सिखर बोकेका चित्रसँगै घरभित्र बस्ने, खानलाई प्रयोग गरिने सामग्री राखिएको सिसहनिया नमुना थारुग्रामका अध्यक्ष चौधरीले बताए । उनका अनुसार उक्त स्थानमा धान कुट्नलाई प्रयोग गरिने ढिकी, चाखीसँगै तेल पेल्नलाई प्रयोग गरिने कोलसमेत राखिएको थियो तर अहिले ती सामग्री कहाँ छन् भन्ने थाहा छैन ।

पूर्वअध्यक्ष चौधरीले भने, ‘थारु जातिका परम्परागत पाँचवटा घर बनाएर करिब पाँच बिगाह जमिनलाई नमुना थारुग्रामका रूपमा विकास गर्ने प्रयास गरिएको थियो । केही समय सञ्चालन पनि भयो तर पछि चल्न सकेन ।’ होमस्टे सञ्चालनका लागि नयाँ पुस्तामा आवश्यक ज्ञानको अभावसँगै नमुना थारु ग्रामलाई विकास गर्न स्थानीय समुदायले चासो नदिँदा अलपत्र परेको उनी बताउँछन् ।

स्थापनासँगै केही समय त्यहाँ पुग्ने पाहुनालाई थारु खाना, रीतिरिवाजका बारेमा जानकारी दिनेसँगै मनोरञ्जनका लागि नृत्यसमेत देखाइने गरिएको थियो । उनका अनुसार सुरुमा त्यस ठाउँमा घुम्न जाने पाहुनालाई बास बस्नका लागि व्यवस्था गरिएको थियो । नमुना थारुग्रामलाई विकास गर्दै उक्त स्थानमा थारु संग्रहालय स्थापना गरिने, ग्रिनपार्क लगायतका संरचना निर्माण गर्ने भनिए पनि अहिलेसम्म कुनै पनि संरचना निर्माण नहुँदा १३ वर्षदेखि नमुना थारुग्राम अलपत्र बन्न पुगेको उनी बताउँछन् ।

थारु जातिको इतिहास, सस्कृति र रीतिरिवाजका बारेमा जानकारी दिने उद्देश्यले घरहरू निर्माण गरिए पनि आर्थिक अभावका कारण नमुना थारुग्राम सञ्चालन हुन नसकेको स्थानीयबासी बताउँछन् । स्थानीय सरकारले सहयोग गरे नमुना ग्राम सञ्चालन गर्न सकिने स्थानीय भुवन चौधरी बताउँछन् । तर सहयोग हुन नसकेको स्थानीयबासीको भनाइ छ । उनले दुई घरमा मानिसहरु बस्ने भएका कारण अलि राम्रा भए पनि अन्य घर भत्किने अवस्थामा पुगेको बताए ।

घोराही उपमहानगरपालिका–७ का वडाध्यक्ष खोपीराम चौधरी भने स्थानीयको बेवास्ताका कारण नमुना थारुग्राम अलपत्र परेको दाबी गर्छन् । वडाध्यक्ष चौधरीले भने, ‘राज्यले लगानी गरेर बनाएको नमुना थारुग्रामको संरक्षण र सञ्चालन गर्न स्थानीय जागरुक हुन आवश्यक छ । तर सिसहनियामा स्थानीयको चासो नहुँदा नमुना थारुग्राम अलपत्र परेको छ ।’ दुई वर्ष अघिसम्म नमुना थारुग्रामका लागि स्थानीय सरकारका रूपमा उपमहानगरपालिकाले बजेट छुट्याएर पनि स्थानीयले चासो नदिँदा विगत दुई वर्षदेखि बजेट छुट्याउन नसकिएको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्