Logo

आन्तरिक पर्यटक आगमनमा वृद्धि

फाइल तस्बिर ।

लमजुङ– पछिल्लो समय पर्यटकीय गन्तव्यमा घुम्ने नेपालीको संख्या बढ्दै गएको छ । पर्यटक भनेको विदेशीमात्र हुन् भन्ने बुझाइ पछिल्लो समय पर्यटकीय गन्तव्यहरूमा आन्तरिक पर्यटकको चापले गलत सावित गरिदिएको छ । मुलुकभर बडा दसैंको उल्लास छाइरहेका बेला बिदाको सदुपयोग गरेर भ्रमणमा निस्कने नेपाली पर्यटकको जमात उल्लेख्य वृद्धि भएको हो ।

लमजुङ प्रवेशद्वार भएर अन्नपूर्ण पदमार्ग र तिलिचो पुग्ने पर्यटकसँगै लमजुङका ग्रामीण होमस्टे पनि आन्तरिक पर्यटकले भरिभराउ भएका छन् । विशेषगरी दसैंको समयमा लामो बिदा हुने र घुम्नका लागि मौसमसमेत अनुकूल हुने भएकाले सो समयमा हजारौं आन्तरिक पर्यटक पर्यटकीय गन्तव्य पुग्ने गरेका हुन् ।

लमजुङ भएर मनाङको तिलिचो ताल, थोरङला भन्ज्याङ जाने पर्यटकसँगै पारिवारिक रूपमा लमजुङका होमस्टेमा पनि आन्तरिक पर्यटकको उत्साहजनक आगमन भएको हो । जिल्लाका उत्कृष्ट पर्यटकीय गन्तव्य घलेगाउँ, काउलेपानी, सिउरुङ, राइनास लगायतका व्यावसायिक होमस्टे सञ्चालन भएका गाउँहरू आन्तरिक पर्यटकले भरिभराउ भएका हुन् ।

दसैंको उल्लाससँगै पर्यटकको आगमनले गाउँमा झनै उत्साह थपिएको काउलेपानी होमस्टे व्यवस्थापन समितिका अध्यक्ष देवबहादुर गुरुङले बताए । ‘दसैंमा गाउँमा आफ्ना आफन्त आएर यसै रमाइलो हुन्छ,’ गुरुङले भने, ‘त्यहीबेला पाहुनाहरू आउँदा झनै रमाइलो हुने गरेको छ, दसैंको रौनक नै छुट्टै हुन्छ ।’ यतिबेला मनाङमा पनि बाह्यभन्दा आन्तरिक पर्यटकको ओइरो लागेको छ । यद्यपि आन्तरिक पर्यटकको कुनै तथ्यांक भने छैन ।

पर्यटकीय सिजन भएकाले पदमार्गमा आन्तरिक तथा बाह्य पर्यटकको चाप बढेको पाइएको छ । पर्यटकीय सिजन भएकाले अन्नपूर्ण पदमार्गका होटल तथा व्यवसायीलाई भ्याइनभ्याई भएको अन्नपूर्ण पदमार्गअन्तर्गत होटल व्यवसायी आशकुमारी गुरुङले बताइन् । ‘अहिले बाह्यभन्दा आन्तरिक पर्यटक धेरै आउने गरेका छन्,’ गुरुङले भनिन्, ‘समयमै खबर गरेन भने बास पाउन पनि मुष्किल हुन्छ, जसो तसो व्यवस्थापन गर्दै आएका छौं ।’

बडा दसैंको बेला लामो छुट्टी हुने भएपछि बिदाको सदुपयोग गर्दै घुमघाम गर्नका लागि लमजुङका होमस्टे र अझ धेरै मनाङको तिलिचो ताल गतिलो गन्तव्य बनेको छ । पर्यटकीय गन्तव्यहरूमा यातायातको सहज पहुँच भएसँगै युवायुवतीहरू मोटरसाइकल तथा अन्य सार्वजनिक सवारीसाधन चढेर पर्यटकीय गन्तव्य पुग्ने गरेका छन् । वर्षभरि सहरमा काममा व्यस्त भएकालाई दसैंको बिदा सदुपयोग गर्दै नयाँ–नयाँ ठाउँमा घुम्दा निकै आनन्द आउने आन्तरिक पर्यटक बताउँछन् ।

समयलाई सदुपयोग गर्दै नयाँ गन्तव्य पुग्दा आफूलाई आनन्द आउनुको साथै पर्यटन प्रवर्द्धनमा पनि सहयोग पुग्ने तिलिचो पुगेका काठमाडाैंका राजेश रम्तेलले बताए । ‘प्रायः समय आफ्नो काम र कर्तव्यमा व्यस्त भइन्छ,’ रम्तेलले भने, ‘बिदाको समयलाई सदुपयोग गरेर साथीहरूसँग मिलेर घुम्दा छुट्टै रमाइलो हुने रैछ ।’ दसैं बिदाका बेला दैनिक काठमाडाैं, पोखरा, बुटवल, चितवन, पाल्पा, बुटवललगायतका स्थानबाट आएका आन्तरिक पर्यटकले होटल व्यवसायीसँगै यातायात व्यवसायीलाई पनि भ्याइनभ्याई भएको छ ।

जिल्लाका पर्यटकीय गाउँमा दैनिक एक सय बढी पर्यटक पुग्ने गरेका छन् भने अन्नपूर्ण पदमार्गमा दैनिक दुई सयको हाराहारीमा आन्तरिक पर्यटक पुग्ने गरेका छन् । दैनिकजसो विदेशी तथा आन्तरिक पर्यटकको आगमन बढ्न थालेपछि पर्यटन व्यवसायी उत्साहित भएका छन् । केही वर्ष अघिसम्म आन्तरिक पर्यटकलाई खासै चासो नदिने होटल व्यवसायी पछिल्ला वर्षमा भने व्यावसायिक रूपमा विशेष महत्व दिन थालेका छन् ।

प्रतिक्रिया दिनुहोस्