वर्षौंदेखि काठेपुलले जोडिँदै फोक्सुण्डो ताल

जाजरकोट– शे-फोक्सुण्डो तालसम्म पुग्न चाहिने आवश्यक पूर्वाधार निर्माण गर्न आन्तरिक तथा बाह्य पर्यटकले आग्रह गरेका छन् । डोल्पाको सदरमुकामनजिकै रहेको सुलिगाडदेखि तालसम्म पुग्न आवश्यक पूर्वाधार निर्माण भए पर्यटक तान्ने सम्भावना बलियो रहेको आगन्तुकको भनाइ छ ।
अहिले जाजरकोट सदरमुकाम तथा मध्यपहाडी लोकमार्ग हुँदै आउने पर्यटक डोल्पाको सदरमुकामसम्म आएर बास बसी अर्को दिन पैदलै फोक्सुण्डो ताल पुग्ने गर्छन् । ताल पुग्न आधा दर्जन काठको जीर्ण पुलमार्फत् सुलिगाड खोला तर्ने गरिन्छ । जीर्ण रहेका काठका लाप्का तरेर वारपार गर्दा दुर्घटनाको सम्भावना हुने गरेको नलगाड नगरपालिका–८ हल्चौरका रामप्रसाद खत्रीले बताए । डोल्पाको दुनैसम्म यातायातका साधनमा जान र आउन सकिन्छ ।
सुलिगाडबाट पैदल हिँडेर तालसम्म पुग्न दुई दिन लाग्छ । सुलिगाड खोलामा पक्की पुल निर्माण गरी पदमार्ग भरपर्दो भए आन्तरिक तथा बाह्य पर्यटक तालसम्म पुग्न र आउन सजिलो हुने सरोकारवाला बताउँछन् । पछिल्लो वर्ष तालसम्म पुग्न धेरै व्यक्तिको चासो बढेको छ । फोक्सुण्डो ताल शे–फोक्सुण्डो गाउँपालिका–८ रिग्मो गाउँ नजिकै रहेको छ ।
समुद्री सतहदेखि ३६ सय मिटर उचाइमा रहेको फोक्सुण्डो ताल ४.९४ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ । फोक्सुण्डो तालको गहिराइ १४५ मिटर भन्ने गरेता पनि स्थानीयका अनुसार ६५० मिटर गहिरो रहेको दाबी गर्दै आइरहेका छन् । दिनमा मौसमअनुसार पटकपटक रङ परिवर्तन गर्ने यस ताल अंग्रेजी वाई आकारमा फैलिएको छ भने अर्को विशेषता मानव अंग फोक्सोजस्तो पनि देखिन्छ ।
फोक्सुण्डो ताल, शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज, फोक्सुण्डो झरनालगायत माथिल्लो डोल्पा सुलिगार्डदेखि माथि पैदलमार्ग प्रयोग गर्नुपर्ने हुन्छ । स्थानीयले कतै काठेपुल, कतै ठोसो, कतै लाप्कु, साँकुलगायतका विभिन्न स्थानीय नाम भन्ने गर्दछन् । परापूर्वकालमा खोलानाला तर्न नसक्ने वृद्ध, महिला, बालबालिकाको लागि भनेर भेरिवा खोलाको एक किनारादेखि अर्को किनारासम्म आवतजावत गर्न सजिलो बनाउँदै आएको छ ।
डोल्पाका अधिकांश खोलानालामा झोलुंगे पुल निर्माणकार्य जारी रहे पनि सुलिगार्डदेखि फोक्सुण्डोसम्मको पैदलमार्गमा काठेपुलले नै यहाँ आउने सबै नागरिकलाई तालसम्म पुग्न सहयोग पुग्दै आएको छ । सुलिगार्डदेखि फोक्सुण्डो तालसम्मको पैदलमार्गमा स्थानीय नागरिक र पर्यटकका लागि आवतजावतमा सहज होस् भनी झलुंगे पुल निर्माण गरिएता पनि परम्परागत काठेपुल पनि संरक्षण गर्नुपर्ने आवश्यक रहेको शे–फोक्सुण्डो गाउँपालिका–८ का वडाध्यक्ष निमा लामाले बताए ।
उक्त क्षेत्र पर्यटकीय पदमार्ग भएको हँुदा पर्यटकलाई आकर्षित गर्नका लागि पनि काठेपुल संंरक्षणमा सरोकारवाला निकायले जोड दिनुपर्ने आवश्यक रहेको वडाध्यक्ष लामाको भनाइ छ । पदमार्गमा बीचबीचमा होटल तथा अन्य सुविधाजन्य काम गरेमा आन्तरिक तथा बाह्य पर्यटकलाई सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
वर्षायाममा केही काठेपुल तथा लाप्का भत्किएको र बाटोमा समस्या आएको ठाउँमा मर्मत गरी सहजता ल्याउन सके अझै सजिलो हुने सरोकारवाला बताउँछन् । त्यस्तै स्थानीयबासीलाई समेत गतिलो बाटो नहुँदा समस्या हुँदै आएको छ ।