वैकल्पिक हवाई रुटको प्रबन्ध «

वैकल्पिक हवाई रुटको प्रबन्ध

नेपालमा हवाई उड्डयनको करिब सात दशक लामो इतिहासमा यहाँको उड्डयन क्षेत्रले लामो फड्को मारे पनि अझै यस क्षेत्रमा केही सीमितता कायमै छन् । वार्षिक हवाई यात्रुको संख्या झन्डै ५० लाख पुगिसकेको अवस्थामा पनि देशमा एकमात्र अन्तर्राष्ट्रिय विमानस्थल छ । आन्तरिक र विदेशी गरी तीन दर्जनभन्दा बढी वायुसेवा कम्पनीले यहाँ नियमित उडान भरिरहँदा हाम्रो हवाई आकाश साँघुरो हुँदै गएको अनुभूति गर्ने गरिएको छ । विशेषतः काठमाडौं विमानस्थल प्रवेश गर्ने एउटा मात्रै हवाई रुट भएको, त्रिभुवन विमानस्थलमा पनि एकल रनवे र पार्किङ लट पनि सीमित भएकै कारण बेलाबेलामा नेपाली हवाई आकाशमा ट्राफिक जाम हुने समस्या बढेको छ । यही समस्याका कारण समयमा जहाज नउड्ने मात्र होइन, अन्य गन्तव्यबाट आएका जहाजहरू आकाशमै परिक्रमा गरेर बस्नुपर्ने वा लखनउ, ढाकासहितका नजिकका अन्य विमानस्थलमा विश्राम गरेर मात्र नेपाल भित्रिने अवस्था बढ्दै गएको छ । यो समस्या समाधानका लागि हाल स्तरोन्नतिका क्रममा रहेका क्षेत्रीय विमानस्थलहरूको निर्माणलाई जतिसक्दो चाँडो सम्पन्न त गर्नुपर्छ नै, त्यसबाहेक वैकल्पिक अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागिसमेत पहल गर्न ढिलाइ भइसकेको छ । काठमाडौं विमानस्थल साँघुरो बन्नुको अर्को मुख्य कारण पार्किङ पनि हो, त्यसैले आन्तरिक वायुसेवा कम्पनीहरूले देशका अन्य क्षेत्रीय विमानस्थलहरू पार्किङका लागि आवश्यक पूर्वाधार बनाउन नेपाल नागरिक उड्डयन प्राधिकरणले ढिलाइ गर्नै हुँदैन, किनभने देशभरिका विमानस्थल निर्माण, सञ्चालन र व्यवस्थापनको जिम्मेवारी प्राधिकरणमै छ ।
वैकल्पिक हवाई रुटका लागि सरकार, नागरिक उड्डयन प्राधिकरणसहितका निकायले पहल थालिहाल्नुपर्छ । त्यसो त वैकल्पिक हवाई रुटका लागि पहलै नभएको भने होइन । पाँच वर्षअघि नै भारतले प्रयोग गर्न दिने भनिएको नेपालगन्ज रुट र गत वर्ष प्रयोग गर्न दिने भनिएको महेन्द्रनगर रुटको सञ्चालनका लागि नेपाल सरकारका तर्फबाट थप पहल हुन नसकेकाले यिनको प्रयोग हुन नसकेको हो । वैकल्पिक रुट प्रयोगमा आउनमा जति ढिलाइ हुँदै जान्छ, त्यति नै भैरहवा र पोखरामा बन्ने क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलहरूका साथै निकट भविष्यमै बन्ने दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलको प्रयोगमा अन्योलहरू पनि उत्तिकै थपिँदै जानेछन् । भारतले भैरहवा रुट नदिने बताइसकेको अवस्थामा हाल सहमति भइसकेका नेपालगन्ज र महेन्द्रनगर रुट तत्काल सञ्चालनमा ल्याउन ठोस पहल गर्नैपर्छ । काठमाडौं–महेन्द्रनगर–दिल्ली दोहोरो रुट भएकाले यो रुटको सञ्चालनसँगै हाल देखिएको हवाई आकाशको ट्राफिक जाम व्यवस्थापनमा निकै सहजता आउनेछ ।
नेपाललाई अन्तर्राष्ट्रिय वा क्षेत्रीय उड्डयन हब बनाउने सोच अघि सारिएको र नेपाल हुँदै लामो दूरीका उडान भर्नका लागि विभिन्न देशका वायुसेवा कम्पनीले चासो देखाइरहेको सन्दर्भमा कुनै एक हवाई रुटमा मात्र नेपाल निर्भर रहनु हुँदैन । हाल सिमराबाट मात्रै हवाई रुट खुला छ । सम्भव भएसम्म नेपाल प्रवेश र यहाँबाट बहिर्गमनका लागि उपयुक्त हुने सबै हवाई रुटको अधितम प्रयोग गर्न पाउने सुविधाका लागि भारतसँग उच्चस्तरको पहल हुनैपर्छ । ट्रान्स हिमालयन रुट प्रयोगमा आउने र यहाँ आवश्यक पूर्वाधार विकास हुनेबित्तिकै नेपाल ट्रान्जिट उडानको भरपर्दो गन्तव्य हुन सक्छ, जुन यहाँको पर्यटन विकासमा महत्वपूर्ण आधार बन्न सक्छ ।

प्रतिक्रिया दिनुहोस्