विदेशमा कार्यरत श्रमिकको योगदान रकम ७६ करोड पुग्यो
७ महिनामा ३ लाख ९१ हजार आबद्ध

काठमाडौं– योगदानमा आधारित सामाजिक सुरक्षा योजनाअन्तर्गत ७ महिनामा वैदेशिक रोजगारीमा रहेका करिब ४ लाख श्रमिक सूचिकरण भएका छन् । सरकारले चैत ८ देखी वैदेशिक रोजगारी र विदेशमा स्वरोजगार रहेका नेपालीलाई योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा सामेल गरे यता ३ लाख ९१ हजार ३०१ श्रमिक आवद्ध भएको सामाजिक सुरक्षा कोषका सह प्रवक्ता रोहित रेग्मीले जानकारी दिए ।
यस अवधिमा आवद्ध भएका श्रमिकले करिब ७६ करोड १६ लाख ७० हजार २२४ रुपैयाँ योगदान रकम जम्मा गरेको कोषले जनाएको छ । प्रवक्ता रेग्मीले वैदेशिक रोजगारीमा रहेका, जाने तयारीमा रहेका तथा विदेशमा स्वरोजगार रहेका नेपालीको योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा उत्साहजनक सहभागिता रहेको बताए ।
वैदेशिक रोजगारीमा रहेका श्रमिकले दुर्घटना तथा अशक्तता सुरक्षा योजना र आश्रित परिवार सुरक्षा योजनाका लागि २६ करोड ६२ लाख ७५ हजार ५९१ रुपैयाँ र बृद्ध अवस्था सुरक्षा योजनाका लागि ४९ करोड ५३ लाख ९४ हजार ६३१ रुपैयाँ योगदान गरेका छन् । हालसम्म सुचीकरण भएकामध्ये अधिकांश वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिन आवेदन दिएका श्रमिक रहेका छन् ।
सरकारले औपचारिक क्षेत्रका श्रमिक मात्रै योजनामा समावेश गर्दै आएकोमा चैत पहिलो साताबाट वैदेशिक रोजगारीमा रहेका सबै श्रमिकलाई योजनामा आबद्धता गराउन सुरु गरेको थियो । लामो समयको तयारीपछि वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई सामाजिक सुरक्षा योजनामा सूचीकरण गर्ने योजनामा सफल हुँदै गएको कोषले जनाएको छ ।
सरकारले वैदेशिक रोजगारीमा रहेका र जाने तयारी गरेका श्रमिकको सुरक्षाको लागि योजनालाई अनिवार्य गरेको हो । नयाँ जाने श्रमिकले श्रम स्वीकृतिकै क्रममा योजनामा अनिवार्य आवद्ध हुने गरेका छन् । वैदेशिक रोजगारी जाने तयारीमा रहेका र विदेशमा रहेका श्रमिकले श्रम स्वीकृति लिने बेला, श्रम स्वीकृती नवीकरण गर्ने बेलामा योजनामा समावेश हुन सक्ने कोषले जनाएको छ ।
यसैगरी नवीकरण गर्ने बेला नभएकाहरु पनि वैदेशिक रोजगार विभाग र सामाजिक सुरक्षा कोषको सहकार्यमा तयार गरिएको अनलाइन प्रणालीमार्फत सूचिकृत हुन सक्ने गरी व्यवस्था गरिएको छ । योजनामा समावेश हुने श्रमिकले मासिक २ हजार ३ सय रुपैयाँ बुझाउनु पर्ने छ । रकम एकमुष्ट बुझाएमा जम्मा गरेको रकममा १० प्रतिशत छुट पाइने कोषले जनाएको छ ।
यो रकम खल्ती, ईसेवा र कनेक्ट आईपीएसमार्फत जम्मा गर्ने व्यवस्था मिलाइएको कोषले बताएको छ । योगदानकर्ताले निवृत्तिभरण योजनामा जम्मा भएको रकम र सो रकममा कोषले गरेको लगानीबाट प्राप्त प्रतिफलसमेत जोडी हुन आउने कुल योगदान रकम एकमुष्ट लिने वा सो रकमलाई १ सय ६० ले भाग गर्दा हुन आउने रकम प्रत्येक महिना जीवनकालभर निवृत्तिभरण लिने विकल्पसमेत रोज्न पाउने छन् ।
वैदेशिक रोजगारी अन्त्य भएपछि एकमुष्टसमेत रकम लिने वा निवृत्तभरण योजना रोज्ने विकल्प हुने जनाइएको छ । वैदेशिक रोजगारीमा रहेका वा जाने तयारीमा रहेकाले न्यूनतम २ हजार ३ सयदेखि अधिकतम २८ हजार रुपैयाँसम्म कोषमा योगदान गर्न सक्ने छन् । कोषमा हालसम्म औपचारिक, अनौपचारिक, वैदेशिक रोजगार र स्वरोजगार गरेर ८ लाख ४५ हजार १९३ श्रमिक आवद्ध भइसकेका छन् ।
यसरी आबद्ध भएका श्रमिकले ४२ अर्ब ९० करोड रुपैयाँ जम्मा गरिसकेका छन् । यसरी जम्मा भएको रकममध्येबाट कोषले विभिन्न योजनामा लाभग्राही १ लाख ५ हजार ९७९ दाबीका लागि ६ अर्ब १६ करोड रुपैयाँ भुक्तानी गरेको छ । कोषमा हालसम्म १८ हजार ३७६ रोजगारदाता सूचिकृत भएका छन् ।