आर्थिक वृद्धि र प्रशासनिक काममा सरकारको फड्का् मा-यो : मन्त्री पण्डित «

आर्थिक वृद्धि र प्रशासनिक काममा सरकारको फड्का् मा-यो : मन्त्री पण्डित

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले सरकारले आर्थिक वृद्धि हासिल गर्ने कुरामा र प्रशासनिक काममा फड्को मारेको दाबी गरेका छन् ।
मन्त्री पण्डितले आर्थिक वृद्धिमा पनि नेपालले ७ प्रतिशतको वृद्धिद्धर हासिल गरेर इतिहासमा फड्को मारेको बताए । प्रशासनिक रुपमा पनि अति छिटो काम भएको उनको दाबी छ । उनले वर्तमान सरकार संविधानअनुसार ऐन, कानून बनाउँदै सफल संघीय लोकतान्त्रिक दिशामा संघ, प्रदेश र स्थानीय तीनै तहबीच अन्तरसम्बन्ध स्थापित गर्दै अघि बढिरहेको बताए ।
‘हामी आइपरेका समस्याहरु समाधान गर्दै अघि बढिरहेका छौं ।’ उनले भने, ‘नयाँ परिवर्तन तुरुन्तै हुँदैन ।’ उनले लोकतान्त्रिक व्यवस्थामा जनप्रतिनिधिमार्फत निर्णय गर्नुपर्दा कतिपय विषयमा केही समय लाग्ने बताए । कतिपय कानून संघीय संसदमा पुगेको, कतिपय छलफलको क्रममा रहेको र कतिपय कानूनहरु मस्यौदाको प्रक्रियामा रहेको उनको भनाइ छ ।
मन्त्री पण्डितले स्थानीय, प्रदेश र संघ तीनवटै तहबीच अन्तरसम्बन्ध रहेकोले कानुन निर्माण गर्दा पनि विशेष ध्यान दिनुपर्ने बताए । उनले केन्द्रात्मकबाट संघात्मक व्यवस्थामा जाँदा नेपालले जस्तो तीव्र गतिमा काम गरेको इतिहास नभएको जिकिर गरे । यद्धपी जनताले चाहेकोजस्तो र उनीहरुको भावनाअनुसार काम भने हुन नसकेको उनले स्वीकार गरे ।
उनले कर्मचारी समायोजनको बाँकी काम र पदस्थापनको काम पनि आवश्यकत्ताअनुसार हुँदै जाने बताए । स्थानीय तहलाई ध्यानमा राखेर पहिलो चरणको लोकसेवा आयोगको विज्ञापन खोलिसकिएको र अब संघ र प्रदेशको लागि विज्ञापन खोल्ने प्रक्रियामा रहेको पनि उनले बताए ।
उनले राष्ट्रसेवकहरु सरकारले खटाएको ठाउँमा जानुपर्ने बताए । पण्डितले भने,‘यदि कोही राष्ट्रसेवक सरुवा गरेको ठाउँमा गएनन भने उनीहरुलाई कारबाही र दण्डित गर्छौं ।’ अब प्रदेश र स्थानीय तहमा पनि विकास निर्माणका कामले गति लिने मन्त्री पण्डितको भनाइ थियो । सरकारले अघि सारेको ‘समृद्ध नेपाल, सुखी नेपाली’ को नारा साकार गर्नेगरी तीनवटै सरकार मिलेर अघि बढ्ने उनको विश्वास छ ।

 

प्रतिक्रिया दिनुहोस्