Logo

अन्तर्राष्ट्रिय उडानको माग गर्दै आन्दोलन घोषणा

बुटवल– गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण रुपमा सञ्चालनको माग गर्दै भैरहवामा आन्दोलन घोषणा भएको छ । सिद्धार्थ सञ्जाल रुपन्देहीले नियमित रुपमा अन्तर्राष्ट्रिय उडान हुनुपर्ने भन्दै दबाबमूलक कार्यक्रम सार्वजनिक गरेको हो ।

सञ्जालमा निजी क्षेत्र र सामाजिक गरी ३२ संघसंस्था आबद्ध छन् । विमानस्थल उद्घाटन भएको डेढ वर्षसम्म पनि नियमित अन्तर्राष्ट्रिय उडान हुन नसक्दा राज्य र निजी क्षेत्रको अर्बौं लगानी डुब्न लागेको सोमबार आयोजित पत्रकार सम्मेलनमा उनीहरुले बताए । आन्दोलनका कार्यक्रम अन्तर्गत ज्ञापनपत्र बुझाउने, अनसन, उडान ठप्प पार्नेलगायत छन् ।

यसैगरी आन्तरिक उडान रोक्नका लागि विभिन्न एजेन्सीहरुलाई टिकट नकाटी आन्दोलनमा ऐक्यबद्धता जनाउन आग्रह गर्ने, नियमित उडानको माग गर्दै भैरहवामा शान्तिपूर्ण र्याली गर्ने कार्यक्रम पनि तय गरिएको छ । भैरहवाको आन्तरिक विमानस्थल अगाडि शान्तिपूर्ण धर्ना तथा रिले अनसन गर्ने, आन्तरिक हवाई उडान बन्द गर्न दबाबस्वरुप धर्ना तथा विरोध प्रदर्शन गर्ने पनि सञ्जालले जनाएको छ । त्यति गर्दा पनि माग सम्बोधन नभए मंसिर २५ पछि आन्तरिक उडान अनिश्चितकालका लागि रोक्न विमानस्थलको गेटमा धर्ना दिने र सीमा नाका बेलहियासमेत ठप्प पार्ने गरी आन्दोलन गर्ने पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

विमानस्थल नियमित सञ्चालन गर्न पटकपटक आग्रह तथा दबाबमूलक कार्यक्रम गर्दा पनि सरकार मौन रहेकाले अन्तिम लडाइँको रूपमा आन्दोलन गर्नुपरेको सञ्जालका अध्यक्ष अनिल कुमार ज्ञवालीले बताए । ‘विमानस्थल सञ्चालनका लागि सरकार तथा सम्बन्धित निकायलाई दबाब दिन आन्दोलनको विकल्प यहाँका आम सर्वसाधारण तथा उद्योगी–व्यवसायीले देखेका छैनन्,’ उनले भने । सञ्जालका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रकाश श्रेष्ठले विमानस्थल पूर्ण रुपमा सञ्चालन गर्न दबाबका लागि संघर्ष गर्दै अघि बढ्ने बताए ।

२०७९ जेठ २ गते तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवाले कुवेतबाट आएको जजिरा एयरवेजलाई स्वागत गर्दै अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गरेका थिए । तर, उद्घाटनको डेढ वर्षसम्म पनि अन्तर्राष्ट्रिय विमानस्थल चलायमान हुन सकेको छैन । गत वर्ष वैशाखयता जजिराले पनि उडान गरेको छैन ।

यसअघि पुसदेखि फागुन महिनासम्म पनि जजिराले उडान रोकेको थियो । अहिले राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्सले सातामा एक दिन मंगलबार मलेसियाको क्वालालम्पुरबाट भैरहवा–काठमाडौं उडान गरिरहेको छ । त्यसबाहेक अरु उडान थपिएको छैन ।

२०७१ माघमा तत्कालिन प्रधानमन्त्री सुशील कोइरालाले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको शिलान्यास गरेका थिए । अन्तर्राष्ट्रिय विमानस्थल निर्माणपछि लुम्बिनीमा पर्यटक आगमन बढ्ने र यो क्षेत्रमा आर्थिक विकास हुने व्यवसायीहरुले आशा गरेका थिए । शिलान्यासको साढे ७ वर्षमा निर्माण सम्पन्न भएर उद्घाटन पनि भयो । तर, नियमित नचल्दा पर्यटन व्यवसायीहरु निराश छन् ।

प्रतिक्रिया दिनुहोस्