मानुङकोटमा बढे पर्यटक

दमौली– बिहानको घामको किरण, कुहिरोले सर्लक्क ढाकेको दमौली बजार । निकै आनन्द देखिने दृश्य त्यो पनि सदरमुकामबाट नजिकैको डाँडाबाट । दमौली बजारलाई कुहिरोले ढाक्नुलाई पौराणिक कथासँग पनि जोडिएको छ ।
परापूर्वकालमा महर्षि वेदव्यासका पिता पराशर ऋषिले सत्यवतीसँग सम्भोग गर्न इच्छा प्रकट गर्दा लोकलाई पत्तो नहोस् भनेर कुहिरो उत्पन्न गराइदिएको धार्मिक किंवदन्ती रहँदै आएको छ । त्यही कुहिरोले ढाकेको दृश्य र सूर्योदय अवलोकन गर्न तनहुँको व्यास नगरपालिका–५ मानुङकोटमा आन्तरिक पर्यटकको चहलपहल सुरु भएको छ । जाडो मौसम सुरु भएसँगै यहाँ पर्यटकको आगमन बाक्लिएको हो ।
गर्मी मौसममा प्रायः सुनसान रहने मानुङकोटमा चिसो मौसममा पर्यटकको बाक्लो उपस्थिति रहने गरेको छ । मानुङकोटमा पर्यटकको आगमन सुरु भएको स्थानीय अनिल अधिकारीले जानकारी दिए । अधिकारीका अनुसार राति मानुङकोटमै बास बसेर बिहानको दृश्य हेर्ने पनि बढेका छन् । त्यसका अलवा बिहानै मानुङकोट पुग्ने पनि उत्तिकै छन् । काठमाडौं निवासी पार्वती पौडेलले मानुङकोटको दृश्य लोभलाग्दो भएको बताइन् ।
उनले भनिन्, ‘यहाँबाट देखिने दृश्यले मनै लोभ्यायो, एकपटक आएपछि फेरि आउन मन लाग्ने रहेछ ।’ जाडो महिनामा मानुङकोटमा पर्यटककको राम्रो चहलपहल हुने वडाध्यक्ष विष्णुकुमार श्रेष्ठले बताए । उनले भने, ‘मानुङकोटको विशेषता भनेको जाडोयामको हो, जाडोयाममा कुहिरोले ढपक्क ढोकेको दृश्य र सूर्योदयको मनोरम दृश्य हेर्न विभिन्न ठाउँबाट पर्यटक आउँछन् ।’ मानुङकोटमा पर्यटकको चहलपहल बढेपछि होटल खुल्ने क्रम बढेको छ ।
उनले भने, ‘मानुङकोटको पर्यटन प्रवर्द्धनका लागि नगरपालिकाले पनि प्रयास गर्दै आइरहेको छ । प्रत्येक वर्ष मानुङकोटबाट पुलिमराङसम्म अल्ट्रा म्याराथन प्रतियोगिता हुँदै आएको छ ।’ मानुङकोटबाट धौलागिरि, माछापुच्छ्रे, अन्नपूर्ण, मनास्लु, लमजुङ हिमालको दृश्यावलोकन गर्न सकिन्छ । जाडो मौसम भएको र मानुङकोटमा बिहानै घाम लाग्ने भएकोले पनि आन्तरिक पर्यटक बिहानै यहाँ पुग्ने गरेका छन् ।
मानुङकोटमा पर्यटक बढेपछि गाउँ छाडेर शहर झरेका पनि पुनः मानुङकोट उक्लिएर व्यवसाय गर्न थालेका छन् । खानेपानीको अभावमा यहाँका स्थानीयवासीले गाउँ छाडेका थिए । बजारको प्रशोधित जार र ट्याङ्करको पानीले मानुङकोटमा अहिले पानीको विकल्प दिइरहेको छ ।