Logo

सीमाका आर्थिक समस्या समाधान गर्न सहमति

वीरगन्ज– सीमा क्षेत्रमा उद्योगी व्यवसायी र आम नागरिकले भोगी रहेका समस्या समाधान गर्ने सम्बन्धमा नेपाल–भारतका सरकारी अधिकारी तथा निजीक्षेत्रबीच छलफल भएको छ । जिल्ला प्रशासन कार्यालय पर्साले आयोजना गरेको नेपाल-भारत सीमा समन्वय समितिको बैठकमा सीमावर्ती क्षेत्रमा भएका नीतिगत एवं संरचनागत समस्याका सम्बन्धमा छलफल भएको थियो ।

बैठकमा दुई देशबीचमा व्यवसायीहरूले आयात निर्यातको साथै व्यापार व्यावसाय प्रवर्द्धन गर्ने विषयमा दुवै देशका सरकारी अधिकारी र निजीक्षेत्रको छाता संगठनबीच छलफल भएको हो । छलफलमा वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष अनिल अग्रवालले नेपाल भारत सीमा क्षेत्रको रक्सौल तथा वीरगन्ज नाका र आईसीपी भन्सार कार्यालय बिहान ५ बजे देखि राती ११ बजेसम्म खुला हुनुपर्ने, चेकप्वाईण्ट एकै ठाउँमा मात्रै राख्नुपर्ने, यात्रीहरूलाई एकीकृत भन्सार जाँच चौकीबाट पनि आवागमन गर्न दिनु पर्नेलगायतको माग राखे ।

त्यस्तै वीरगन्जबाट नजिकको भारतका राष्ट्रिय र अन्तर्राष्ट्रिय विमानस्थलका साथै नजिकका ठूला रेल्वे स्टेशनमा नेपाली साना सवारी साधनलाई पासको व्यवस्था हुनु पर्ने प्रस्ताव उनले गरेका थिए । बैठकमा संघको तर्फबाट आएका सुझावहरूलाई भारतीय पक्षले अगामी दिनमा सुधार गर्ने प्रतिबद्धता जनाएको थियो । नेपाल भारत सीमा समन्वय समितिको बैठकपछि वाणिज्य संघ र रक्सौलस्थित उद्योग वाणिज्य संघका पदाधिकारीहरूबीच पनि व्यापार व्यवसायमा देखिएका समस्याहरू पहिचान गरी समाधान गर्न साझा प्रयास गर्ने सहमति भएको छ ।

उद्योग व्यवसायीहरूले भोग्नु परेका समस्याका सामाधान गर्नका लागि प्रतिवेदन तयार गरि सम्बन्धित निकायमा बुझाउने बैठकमा निर्णय गरिएको वाणिज्य संघका अध्यक्ष अग्रवालले बताए । सीमा क्षेत्रका सरकारी अधिकारीहरूबीच हुने सीमा समन्वय समितिको नियमित बैठकका क्रममा सीमावर्ती क्षेत्रमा हुने अपराध, चेलिबेटी बेचबिखन रोक्ने, चोरी पैठारी र लागूऔषध ओसारपसार नियन्त्रण गर्ने र दुवै देशको सुरक्षाका चुनौतीलाई अन्त्य गर्नेलगायतका ६ बुँदे निर्णय गरिएको छ ।

बैठकमा भारतको बिहारमा हुने विधानसभाको निर्वाचन लक्षित सुरक्षा व्यावस्था प्रभावकारी बनाउने विषयमा पनि सहमति भएको पर्साका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले बताए । रेग्मीको अध्यक्षतामा बसेको बैठकमा नेपालकोतर्फबाट बाराका प्रमुख जिल्ला अधिकारी र सुरक्षा प्रमुखहरू, भारतको पूर्वी चम्पारण मोतिहारीका जिल्ला अधिकारी सौरभ जोरवाल, पश्चिम चम्पारणका दिनेश राय, प्रमुख भन्सार प्रशासक डिलाराम पन्थीलगायत बारा, पर्सा, पूर्वी चम्पारण र पश्चिम चम्पारणका सुरक्षा निकायका अधिकारी र संघका पदाधिकारी सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्