माटोका सामग्री बजारीकरणमा पालिकाको सहयोग

दाङ– दाङमा माटोका सामग्री बनाउने कुमाल समुदायलाई प्रोत्साहित गर्ने उद्देश्यले गढवा गाउँपालिकाले बजारीकरणमा सहयोग गरेको छ । गढवा गाउँपालिकालाई सेरामिकको हबका रूपमा विकास गर्ने उद्देश्यअनुसार पालिका भित्र उत्पादन भएका माटोका सामग्रीको पालिकाले बजारीकरण गर्न सुरु गरेको हो ।
पालिकाका विभिन्न ठाउँमा माटोका सामग्री उत्पादन हुने तर बिक्रीका लागि समस्या भइरहेका बेला पालिकाले बजारीकरणमा सहयोग गरेपछि कुमाल समुदाय खुसी भएका छन् । आफै उत्पादन गर्ने र बिक्रीका लागि आफै लैजानु पर्दा खर्च बढ्ने समस्या भइरहेका बेला पालिकाले बजारसम्म लागि दिने भएपछि सहज भएको गढवा गाउँपालिका –३ निवासी रामलाल थारु कुमालले बताउँछन् ।
पुख्र्यौली पेसाका रूपमा माटाका भाँडा बनाउँदै आएका कुमालले भने,‘हाम्रो मुख्य पेसा नै माटोका भाँडा बनाउने हो । तर बनाउनेदेखि बजारसम्म बिक्रीका लागि लैजानु पर्दा लागत धेरै लाग्ने गरेको थियो । अहिले पालिकाले निःशुल्क रूपमा बजारसम्म लागि दिन थालेपछि सजिलो भएको छ ।’ स्थानीय उत्पादनका रूपमा रहेका माटोका भाँडालाई बजारीकरणका लागि गढवा गाउँपालिकाले सहयोग गरेपछि आफूलाई हौसला बढेको खैरा निवासी राजबहादुर थारु कुमालले बताए ।
माटोका सामग्रीको बजारीकरण ठूलो समस्याका रूपमा रहेका बेला पालिकाले सहयोग गरी दिएपछि काममा सहजतासँगै उत्पादनमा वृद्धि हुने उनले बताए । उनले भने,‘पहिले माटोका भाँडा बनाउनेसँगै बिक्रीका लागि बजारसम्म लैजान समस्या हुने गरेको थियो । अहिले हामीले बनाएका सामग्री पालिकाले गाडीबाट बजारसम्म लगि दिन्छ । व्यवसायीलाई घरमै सामग्री लगि दिंदा मूल्य समेत बढी दिने गरेका छन् ।’
यसले यस पेसामा रहेकालाई धेरै सहजता भएको उनको भनाइ छ । उनका अनुसार पालिकाले गाडीका माध्यमबाट देउखुरीका लमही, भालुवाङ, घोराही, तुलसीपुरलगायतका बजारमा बिक्रीका लागि लग्ने गरेको छ । गढवा गाउँपालिकालाई सेरामिक हवका रूपमा विकास गर्ने उद्देश्यअनुसार कुमाल समुदायले उत्पादन गरेका माटोका सामग्री बजारीकरण गरि दिएको गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले जानकारी दिए ।
उनले माटोबाट बनेका गमला, खुत्रुके, पाला, गमलालगायतका सामग्रीहरू बजारीकरणमा सहयोग गरेको भन्दै यसले उत्पादनमा वृद्धिसँगै आम्दानीसमेत बढ्ने अपेक्षा लिएको बताए । गाउँपालिकाले कृषि एम्वुलेन्समेत सुरु गरेको गाउँपालिका अध्यक्ष पोख्रेलले बताए । पोख्रेलले भने,‘माटोका सामग्रीसँगै पालिका भित्रका किसानले उत्पादन गरेका तरकारी, दूधलगायतका सामग्री कृषि एम्बुलेन्सका माध्यमबाट बजारीकरण गर्ने र किसानको आर्थिक अवस्थालाई सुधार गर्ने लक्ष्य रहेका छ ।’
यसले कृषकहरूलाई प्रोत्साहन मिल्ने गाउँपालिकाले अपेक्षा गरेको छ । गाउँपालिकाले ललितकला प्रज्ञा प्रतिष्ठानसँगको संयुक्त पहलमा परम्परागत सीपलाई आधुनिकीकरण गर्ने र गढवा गाउँपालिकालाई सेरामिकको हबका रूपमा विकास गर्ने उद्देश्यअनुसार पालिकाले योजनाबद्ध रुपमा कुमाल समुदायको माटोको भाँडा बनाउने पेसालाई व्यवस्थित, प्रविधिमैत्री बनाउनुका साथै उत्पादन भएका सामग्रीको बजारीकरणमा सहयोग गर्न थालेको अध्यक्ष पोख्रेल बताउँछन् ।
पछिल्लो समय पालिकाभित्र हुने कार्यक्रमहरूमासमेत माटोको भाडावाट निर्माण गरिएका वस्तुहरू मायाको चिनोको रुपमा प्रदान गर्ने गरिएको छ । यसले स्थानीय उत्पादनलाई थोरै भए पनि सहयोग पुगोस् भनेर यस प्रकारको कार्य गरिएको स्थानीयहरूको भनाइ छ ।