राजपा अध्यक्ष मण्डलको बैठक लम्बियो «

राजपा अध्यक्ष मण्डलको बैठक लम्बियो

राष्ट्रिय जनता पार्टी (राजपा) अध्यक्ष मण्डलको बैठकले समाजवादी पार्टीसँगको एकीकरणलाई कसरी टुंग्याउने विषयमा आइतबार छलफल गरेको छ । दुवै पार्टीका शीर्र्ष नेताहरूसँग भएको औपचारिक छलफलमा अगाडि आएका प्रस्तावहरूलाई अध्यक्ष मण्डलको बैठकमा छलफल भए पनि निर्णय भने हुन सकेन ।
एकीकरणका लागि दुवै दलका नेताहरू सकारात्मक भएकाले दशैंअघि नै एकीकरण घोषणा गर्नेबारे अध्यक्ष मण्डलले गम्भीर छलफल गरेको हो । शुक्रबार बोलाइएको राजनीतिक समितिको बैठकलाई यसै कारण स्थगित गरिएको थियो । राजनीतिक समितिमा अध्यक्ष मण्डलले केही ठोस प्रस्ताव तय गरी जाने सहमति गरेकाले सो बैठक स्थगित गरिएको पार्टीका नेताहरूले जनाएका छन् ।
अध्यक्ष मण्डलका नेताहरूले समाजवादी पार्टीका नेताहरूसँग छलफल गर्दै आ–आफ्नो किसिमको अभिव्यक्ति सार्वजनिक भएका कारण देखिएको अपारदर्शिताबारे नेताहरूले असन्तुष्टि पोखेका थिए । त्यो असन्तुष्टिबारे जवाफ माग्नन राजनीतिक समितिका नेताहरूले संयोजक राजकिशोर यादवलाई बैठक बोलाउन भने पनि त्यो बैठक एकीकरणको विषयले स्थगित हुन पुगेको छ ।
सत्तारुढ समाजवादी पार्टी नेपालसँगको एकीकरण गर्ने विषयमा राजपाभित्र संयोजक यादव र अनिल झा तत्काल सहमत नभएको बताइएको छ । दुवै नेता महाधिवेशनपछि एकीकरण गर्ने पक्षमा रहेको पार्टी स्रोतको भनाइ छ । महन्थ ठाकुर, राजेन्द्र महतो, शरतसिंह भण्डारी र महेन्द्र यादव भने एकीकरण सक्दो छिटो गर्ने पक्षमा रहेको देखिएको नेताहरू बताउँछन् । आइतबार बैठक बसेको तर ठोस निर्णय हुन नसकेको पार्टीका महासचिव केशव झाले बताए ।

 

प्रतिक्रिया दिनुहोस्