पोखरामा सागका ब्याडमिन्टन र महिला क्रिकेट हुने «

पोखरामा सागका ब्याडमिन्टन र महिला क्रिकेट हुने

पोखरा-राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रमेशकुमार सिलवालले पोखरामा यस वर्ष हुने दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत थप दुई खेल ब्याडमिन्टन र महिला क्रिकेट समेत हुन सक्ने बताएका छन् । सहारा एकेडेमीको अवलोकनपश्चात् आइतबार पोखराका केही पत्रकारहरुसँग कुराकानी गर्दै उनले पोखरामा धेरै कुराको सम्भावना भएकोले ब्याडमिन्टन र महिला क्रिकेट समेत हुने सम्भावना भएको बताएका हुन् ।
आफ्नो इन्जिनियरिङ टोलीलाई १० दिन अघिदेखि डिपिआर बनाएर अघि बढ्ने गरी तयारी गर्न लागेको बताउँदै सदस्य सचिव सिलवालले पोखरामा थोरै लगानीबाट उक्त खेल हुने प्रवल सम्भावना भएको जनाए । विधि र प्रकृयाले गर्दा बजेट निकासामा केही ढिलाइ भएको जनाउँदै उनले छिट्टै पैसा निकासा भएमा दुई महिनाभित्र आवश्यक भौतिक संरचना निर्माण हुने दाबी गरे । पोखरामा प्याराग्लाइडिङ, ट्रायथलन, भारतोलन, आर्चरी, ह्याण्डवल महिला पुरुष, बिच भलिबल महिला तथा पुरुष भलिबल हुने सदस्य सचिव सिलवालले बताए ।
मंसिर एक गतेभित्र सक्ने गरी पोखराको फुटबल रंगशाला निर्माण कार्य तीव्र रुपमा अघि बढेको उनले बताए । २० हजार क्षमताको रंगशाला सागअघि १० हजार क्षमताको लागिमात्र निर्माण हुने उनले जानकारी दिए ।
सागको प्रशिक्षणमा रहेका खेलाडीहरुको लागि अत्यावश्यक खेल सामग्रि उपलब्ध गराएको उनले दाबी गरे । उनले भने, “खेल सामग्रि अभावले गर्दा कुनैै खेल रोकिएको छैन । सामान्य केही कुराको अभाव भयो होला, खेलाडीहरुले माग गरे जति हामीले एकै पटक उपलब्ध गराउन नसकेका हौंला । तर समस्या छैन ।”
क्लबका अध्यक्ष केशबबहादुर थापाले क्लबको गतिविधिको बारेमा जानकारी गराएका थिए । क्लवद्वारा निर्मित सुविधा सम्पन्न आवास गृह सहारा एकेडेमी दोबिल्ला पोखरा–१७ मा हाल १६ जिल्लाका २४ जना बालकहरु रहेका छन् ।

महिला भलिबल खेलाडी छनोट
नेपाल भलिबल संघले १३औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) का लागि महिला भलिबल खेलाडी छनोट गरेको छ । साउन १ गतेदेखि बन्द प्रशिक्षणमा रहेका २५ खेलाडीबाट प्रारम्भिक चरणमा १८ खेलाडी छनोट गरिएको हो ।
आठौँ राष्ट्रिय खेलकूद प्रतियोगितालाई आधार मानेर यसअघि १३औँ सागका लागि २५ खेलाडी छनोट गरिएको थियो । प्रारम्भिक चरणमा केही नियमित खेलाडी टिममा पर्न असफल भएका थिए । नेपाल भलिबल संघका महासचिव जितेन्द्रबहादुर चन्दका अनुसार छनोट हुने खेलाडीमा प्रतिभा माली, सरस्वती चौधरी, निरुता ठगुन्ना, शान्ति थारु, उनिषा भण्डारी, आरती सुवेदी, अरुणा शाही, जानकी भम्गारी, कमला पुन, रेश्मा भण्डारी, पुनम चन्द, संगम महतो, सलिना श्रेष्ठ, शान्ति तामाङ, सोफिया पुन, उषा विष्ट, सुनिता खड्का र हिरा केसी छन् ।
लक्ष्मी कुमाल, ममता डगौरा, कविता भट्ट, यमकली कँुवर मगर, पुष्पा शाही, सरस्वती कट्टेल र चन्द्रकला खरेल पनि छानिएका छन् । नेपाली महिला भलिबल टोलीलाई मुख्य प्रशिक्षक सलिना श्रेष्ठ तथा प्रशिक्षकत्रय जगदिशप्रसाद भट्ट, भरत यादव र उमादेवी गुरुङले प्रशिक्षण दिँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्