‘मिटर ब्याज’को अवैध धन्दा मैलाउँदो «

‘मिटर ब्याज’को अवैध धन्दा मैलाउँदो

म्याग्दीको सदरमुकाम बेनी बजारमा मौलाउँदो ‘मिटर ब्याज’को अबैध धन्दाले सामाजिक र आर्थिक अपराधको जोखिम बढाएको छ । गैरकानुनी मानिएको मिटर ब्याजमा गरिएको ठूलो लगानी असुल हुन नसकेपछि लगानीकर्ताको भागाभाग भएको छ ।
मासिक चर्को ब्याज रकम रहेको मिटर ब्याजमा भएको लगानी उठ्न नसकेपछि कतिपयले घर छाडेर सम्र्पकविहीन भएका छन् । कतिपयले एक करोडदेखि ४ करोड रुपैयाँसम्म डुबाएर भागेको पीडितहरुले बताएका छन् । “मिटर ब्याजको धन्दाले आफन्त, साथीभाई, परिवारमा बिलाप निम्याएको छ,” पीडित निरु खत्रीले भनिन्, “भएको घरजग्गा सखाप मात्र भएको छैन कतिको परिवारनै बिखण्डनको अवस्थामा पुगेको छ ।”
कारोबारमा ठगिएका र ठगी गर्ने दुवै पक्ष जनप्रतिनिधि, सामुदायिक प्रहरी र प्रहरीमा धाउने क्रम बढेको छ । दैनिक १-२ जना मानिस आर्थिक कारोबारसँग सम्बन्धित गुनासो लिएर आउने गरेको सामुदायीक प्रहरी शाखा बेनीका अध्यक्ष श्यामलाल न्यौपानेले बताए । “सापटी लगेको पैसा फिर्ता भएन्, छलफल गराइदिनुपर्यो भनेर रुँदै आउँछन्,” न्यौपानेले भने, “छलफल गर्दै जाँदा मिटर ब्याजमा जोडिन्छ । लेनदेनको मुद्दामा हामीले केही गर्न नमिल्ने भएकाले अदालत जान सुझाउँछौं ।”
मिटर ब्याजको कारोबारमा तीनवटा समूह संलग्न छन् । पहिलो समूहले बढी ब्याजको लोभमा आफूसँग भएको पैसा दोस्रो समूहमा पर्ने मध्यस्थकर्ताको काम गर्नेलाई दिन्छन् । दोस्रो पक्षले पहिलो पक्षबाट लिएको भन्दा बढी ब्याजदरमा तेस्रो पक्षलाई ऋण दिन्छन् । मध्यस्थकर्ताको भूमिका खेल्ने व्यक्तिहरु सीमित छन् । पहिलो पक्ष लगानी डुबेर र तेस्रो पक्ष बढी ब्याजदरको ऋण लिँदा ठगिएर पीडित भएका छन् ।
मासिक दुईदेखि पाँच प्रतिशत ब्याजदरमा सापटीको रूपमा पहिलो पक्षबाट ऋण लिने मध्यस्थकर्ताको भूमिका खेल्नेले तेस्रो व्यक्तिलाई ऋण दिँदा अग्रिम २० प्रतिशत रकम कटौती गरी दिने र हरेक महिना पूरै साँवा रकमको १० देखि २३ प्रतिशतसम्म ब्याज असुली गर्छन् ।
बैंक, वित्तीय संस्था र सहकारीले भन्दा बढी ब्याज दिने र पाउने प्रलोभनमा विशेष गरेर पैसा भएका तर आर्थिक कारोबारसम्बन्धी ज्ञान नभएका मानिस पर्ने गरेका छन् । सामान्य मजदुरदेखि बजारका सम्पन्न व्यक्ति यस्तो कारोबारमा संलग्न छन् ।
विदेशबाट आएको रेमिट्यान्स, ढुकुटी बुझेर तथा बैंकमा घरजग्गा धितो राखेर मिटर ब्याजमा लगाउने भेटिएको अध्यक्ष न्यौपानेले बताए । यस्तो अवैध कारोबारको नेतृत्व गर्ने र ठगिनेमा पुरुषभन्दा बढी महिला छन् । बैदेशिक रोजगारीमा जाने, जुवातास खेल्ने, जडीबुटी व्यापारी, घरजग्गा कारोबारी ब्यापारीले मिटर ब्याजको ऋण लिने गरेको पाइएको छ । मासिक रुपमा ब्याज र भनेको समयमा ऋण तिर्न नसकेपछि विवाद बढेर ठगीको मुद्दाको रूपमा प्रहरी, अदालत पुग्ने गरेका छन् ।
सहमतिमा ऋण लेनदेन गरेर समयमै फिर्ता नभएपछि ठगी गर्यो भनेर गुनासो गर्न आउने गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लोकबहादुर गुरुङले बताए । “ठगीको मुद्दाको रुपमा प्रहरीमा आउँछन, बुझ्दै जाँदा मिटर ब्याजमा लगानी भएको देखिन्छ,” उनले भने । लेनदेनको मुद्दा हेर्ने अधिकार अदालतलाई मात्र छ । स्थानीय तह र प्रहरीले लेनदेनको मुद्दा आएमा अदालत जान सुझाउने गरेका छन् । चेक र रेमिटमार्फत कारोबार गर्नेले त्यसैलाई आधार बनाएर मुद्दा हाल्ने गरेका छन् ।
जिल्ला अदालत म्याग्दीमा आर्थिक वर्ष ०७३-७४ मा ४२ वटा लेनदेनसम्बन्धी मुद्दा परेकोमा २८ वटाको फैसला भएको थियो भने १४ वटाको यो वर्षका लागि जिम्मेवारी सरेको थियो । चालु आर्थिक वर्ष २०७४-७५ को साउनदेखि पुससम्म लेनदेनसम्बन्धी २२ वटा मुद्दा दर्ता भएकामा एउटा मात्र फैसला भएको अदालतले जनाएको छ ।
सदरमुकाम बेनी बजारभित्र मिटर ब्याजको धन्दा चलाउनेहरु सक्रिय रहेको र यसबाट धेरै महिला पीडित भएको बेनी नगरपालिकाकी उपमेयर सञ्जु बरुवालले बताइन् । “तमसुक, भर्पाइ बिनै लाखौंको लेनदेन गरेका छन्,” उपमेयर बरुवालले भनिन्, “आधार प्रमाण नहुँदा पीडितले कानुनी प्रक्रियामा जान सकेका छैनन् ।”
नगरपालिकाले प्रहरी, वडा कार्यालय, आमा समूह र टोल सुधार समितिमार्फत बैंकिङ शिक्षासम्बन्धी सचेतना कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको उपमेयर बरुवालले जानकारी दिईन् । मिटर ब्याजको अवैध धन्दाले आपसी विश्वासका आधारमा परम्परागत रुपमा गरिँदै आएको ढुकुटी पनि संकटमा परेको छ ।
मानिसहरु बढी ब्याज पाउने लोभमा मिटर ब्याजमा लगानी गर्दा बैंक, वित्तीय संस्था र सहकारी संस्थाको निक्षेप संकलनलाई असर पार्ने गरेको छ । यसैगरी कर्जा लिएर मिटर ब्याजमा लगाउनेहरुले समयमै ब्याज र किस्ता तिर्न नसक्दा पनी बैंकिङ क्षेत्रको कारोबारलाई असर पुगेको छ ।

सन्तोष गौतम

प्रतिक्रिया दिनुहोस्