शारीरिक सुगठनमा दाहाल विजयी «

शारीरिक सुगठनमा दाहाल विजयी

हेल्पिङ क्याप नामक सामाजिक संस्थाद्वारा आयोजित खुल्ला शारीरिक सुगठन प्रतियोगितामा रामबहादुर दाहाल प्रथम भएका छन् । ललितपुरस्थित हेरिटेज गार्डेनमा शनिबार साँझ आयोजित प्रतियोगितामा मरिचमान लामा दोस्रो र ललित धिमाल तेस्रो भए ।
प्रतियोगिता माप्रथम, दोस्रो र तेस्रो हुनेलाई क्रमशः रु पाँच लाख, दुई लाख ५० हजार र दुई लाखसहित ताम्रपत्रले सम्मान गरिएको छ । दश खेलाडी अन्तिम प्रतिस्पर्धाका लागि छनौट भएकामा शनिबार अन्तिम चरणको प्रतिस्पर्धा गरिएको थियो ।
राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले उत्कृष्ट खेलाडीलाई पुरस्कार वितरण गर्दै खेल अनुशासित विधा भएको र यसका माध्यमबाट देशमा अनुशासित नागरिक उत्पादन गर्नुपर्ने बताए ।
शारीरिक सुगठनका अन्तर्राष्ट्रिय प्रशिक्षक शिवलाल श्रेष्ठको नेतृत्वमा १० सदस्यीय निर्णायक समितिले खेलाडीको शरीरको संरचना, सौन्दर्य, हिँडडुलका चाललगायतका आधारमा उत्कृष्ट खेलाडी छनौट गरेको हो । प्रतियोगितामा प्रथम भएका खेलाडी दाहालले आगामी मंसिरमा संयुक्त अरब ईमिरेट्समा हुने अन्तर्राष्ट्रिय तहको प्रतियोगितामा प्रतिस्पर्धा गर्ने र त्यसको खर्च आयोजक संस्थाले गर्ने कार्यक्रमका संयोजक राजेन्द्र महर्जनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्