Logo

५० हजारका भेडाच्याङ्ग्रा २५ हजारमै

पोखरा– पोखरा क्षेत्रमा दशैंमा ५० हजार रुपैयाँसम्म बिक्री भएका भेडाच्याङ्ग्रा अहिले २५ हजारमै बिक्री हुन थालेका छन् । व्यवसायीहरुले दशैंको टिकाको अघिल्लो दिनदेखि ५० प्रतिशतसम्म छुटमा भेडाच्याङ्ग्रा बिक्री गर्न थालेका हुन् । कोजाग्रतपूर्णिमाको दिनमा पनि पोखरामा करिब एक हजारको हाराहारीमा भेडाच्याङ्ग्रा सहुलियत मूल्यमा बिक्री भएको व्यवसायीहरुले बताएका छन् ।

यो वर्ष कम भेडाच्याङ्ग्रा पोखरा आउने भएसँगै ५० हजार रुपैयाँसम्ममा बिक्री भएका भेडाच्याङ्ग्रा दशैंमा नबिकेपछि व्यवसायीले सस्तो मूल्यमा बिक्री गरेका हुन् । च्याङ्ग्रा खाने अधिकांशले त्यसको विकल्पमा खसी, बोका र कुखुरा खाएको भेडाच्याङ्ग्राको बिक्री नभएको व्यवसायीहरु बताउँछन् । पोखरा क्षेत्रमा अझै पनि एक हजारभन्दा बढी भेडाच्याङ्ग्रा बिक्रीको लागि राखिएको व्यवसायी प्रकाश बुढाथोकीले बताए ।

उनको टिमले ५ सय भेडाच्याङ्ग्रा बिक्रीको लागि पोखरा ल्याए पनि अझै १ सय ४० वटा बाँकी रहेको बताए । डोल्पाबाट ल्याएका भेडाच्याङ्ग्रा हाल २५ हजार रुपैयाँमा बिक्री गर्न थालेको उनको भनाइ छ । बुढाथोकीले तिहारसम्म उक्त भेडाच्याङ्ग्रा बिक्रीको लागि पोखरामै बस्नुपर्ने अवस्था आएको बताए । डोल्पाबाट करिब एक महिना लागेर करिब ५ सय भेंडाच्याङग्रा बिक्रीको लागि पोखरा ल्याएका युद्ध बस्नेतको टिमले १६ हजारदेखि १९ हजार रुपैयाँसम्ममा भेडाच्याङ्ग्रा बिक्री गरी घर फर्किएका छन् ।

पोखरामा यो वर्ष सबै भन्दा सस्तो मूल्यमा बस्नेतको टोलीले भेडाच्याङग्रा बिक्री गरेको हो । हिमालपारीको जिल्ला मुस्ताङबाट यो वर्ष ५ हजार ७ सय ५५ वटा भेडाच्याङ्ग्रा निकासी भएका छन् । दशैंको अवसरमा बिक्री गर्ने उद्देश्ष्यले मुस्ताङबाट ५ हजार ७ सय ५५ वटा भेडाच्याङ्ग्रा निकासी भएको भेटेरिनरी अस्पताल तथा पशु सेवा केन्द्र मुस्ताङका निमिक्त कार्यालय प्रमुख ऋषिराम पोखरेलले बताए ।

उनका अनुसार बझाङबाट यो वर्ष करिब १ हजार ३ सयको हाराहारीमा भेडाच्याङ्ग्रा पोखरा भित्रिएका हुन भने बाँकी हिमालपारिको जिल्ला मुस्ताङ र डोल्पाबाट आएका हुन् । दशैं पर्वको अवसरमा पोखरामा यो वर्ष अघिल्ला वर्षको तुलनामाभन्दा करिब ५० प्रतिशत कम मासु खपत भएको छ । कोरोनापछि हाल अर्थतन्त्रमा परेको प्रभावका कारण मानिसहरुको चहलहल कम तथा पहिलाको तुलनामा यो वर्ष कम मासु खाने गरेकोले गर्दा पोखरामा मासुको खपत घटेको आकलन गरिएको छ ।

पोखरामा यो वर्षको दशैं पर्व लक्षित गरी करिब ९ हजार खसी बोका खरिद गरे पनि अझै ४ हजार ५ सय जसो खसी बोका बिक्री नभएको पोखरा खसी बोका व्यवसायी समितिका अध्यक्ष ज्ञानबहादुर श्रेष्ठले बताए । अन्य वर्षको दशैं पर्वभन्दा यो वर्षको दशैं पर्वको रौनक केही कम हुने सक्ने आशंकामा खसी बोका कम खरिद भएको कारण सबै बिक्री नभएको उनले बताए । पोखरामा पाल्पा, नवलपरासी, स्याङजा, गोर्खा, तनहुँलगायतको क्षेत्रबाट खसी बोका ल्याउने गरिन्छ ।

प्रतिक्रिया दिनुहोस्