दूध बिक्री घट्यो
बारा- बारामा उत्पादित दूधको आन्तरिक खपत तथा बाह्य बिक्री तीस प्रतिशतले घटेको छ । जिल्लाका दुग्ध उत्पादक सहकारीहरूको प्रारम्भिक तथ्यांक अनुसार जिल्ला भर उत्पादन हुने दूधको खपत र बिक्री तीन महिनायता क्रमशः ओरालो लागिरहेको छ ।
जिल्ला दूध उत्पादन सहकारी संघका अध्यक्ष पुरुषोतम भटराईले आर्थिक मन्दीका कारण सर्वसाधारणले दूध तथा दूधजन्य उत्पादनको प्रयोग र खरिदमा कम गरेसँगै दूधको कारोबार तीन महिना यता तीस प्रतिशतले घटेको बताए । उनले असिदेखी पचासी हजार लिटर दूध उत्पादन हुने जिल्लामा बीस प्रतिशत मात्र आन्तरिक खपत हुने र बाँकी दूध अन्य जिल्लामा बिक्री हुने गरेको बताए ।
‘दैनिक दूधको आन्तरिक खपत तथा बाह्य बिक्री व्यापक रूपमा घट्दा विदेशबाट फर्केर व्यावसायीक पशुपालन गर्ने किसानहरू बढी चिन्तित बन्दै गएका छन्’ भटटराईले भने, ‘संघीय सरकारले नै नीति निर्माण तहमा आयातित दूध तथा दूधजन्य सामानमा तत्कालै रोक लगाइ आन्तरिक खपतमा मिलान गर्ने व्यवस्था गर्नुपर्छ ।’
धेरै जसो दूध सहकारीले दूध संकलन केन्द्र घटाउँदै गएका छन् । साना दूध सहकारीले दूध संकलन केन्द्र सुचना निकालेरै बन्द गरेका छन् । औराह पशुपालन कृषि सहकारी संस्थाका कार्यवाहक अध्यक्ष रमेश खरेलले गत १३ असोजमा दूधको मात्रा बढेकोले खपत नभएको भनी डेरी बन्द हुने सूचना जारी गरेका थिए ।
डुमरबना तथा बागदेब निजगढका केही सहकारीले दूधजन्य उत्पादन दूध, दहि, घ्यु, पनिर बनाउँदासमेत बजारमा बिक्री घटेको बताएका छन् । दैनिक तीस हजार लिटर दूध संकलन गरी सिमरा, अमलेखगन्ज वीरगन्जलगायतका सहरमा बिक्री केन्द्र राखी संकलित दूध तथा दूधजन्य उत्पादन बिक्री गर्दै आएको डुमरबाना दूध सहकारीले बजार कमजोर बन्दै गएपछि संकलित दूधको पाउडर तथा बटर बनाउने गरेको अध्यक्ष टिकाराम न्यौपानेले बताए ।
दर्जनाैं संकलन केन्द्र, आधुनिक चिस्यान कक्षसहित दूधजन्य साम्रगी आफैं उत्पादन गर्ने र अन्य जिल्लामासमेत बिक्री गर्ने डुमरबाना दूध सहकारी जिल्लामै निजी तथा दुग्ध सहकारीमध्ये ठूलो हो । सेयर सदस्य बाहेक अन्य किसानका दूध खरिद गर्दै आएका सहकारीलेसमेत अन्य किसानका दूध लिन छाडेका छन् । निजी डेरीमा समेत दूध किन्न छाडेपछि कतिपय किसानको दूध घरमै बिक्री नभएर रहने गरेका छन् ।
औराहका दूध किसान शंकर सिम्खडाले दैनिक आम्दानीको रूपमा बिक्री हुँदै आएको दूध बिक्न छोडेपछि दाना लगायतका अन्य सामग्री खरिद गर्न समस्या परेको बताए । तत्काल समस्या नहटे आफूहरूले उत्पादन गरेको दूध खेर जाने उनको भनाइ छ । भेटेरिनरी अस्पताल तथा पशु सेबा विज्ञ केन्द्रले जिल्लाको जितपुर सिमरा, निजगढ, कोहल्बी पालिकाहरूमा व्यावसायिक पशुपालन गर्नेहरू अत्यधिक रहेका छन् ।
परम्परागत पशुपालनगर्नेहरू पनि उत्तिकै रहेकाले यकिन तथ्यांक बताउन सकिने अवस्था छैन् । केन्द्रले सीमावर्ती क्षेत्रका बजार सिम्रौणगढ, कलैयादेखि परवानीपुरसम्म भारतीय कृषकले भारतबाट दूध ल्याएर बेच्ने गरेको हुँदा खुला सिमानाका कारण रोक्न नसकिने जनाएको छ । दूधको समस्या स्थानीय सरकारले समाधान गर्न नसक्ने भएकोले केन्द्र सरकारले नै समस्या समाधान गर्नु पर्ने जिल्ला दूध उत्पादन सहकारी संघले माग गरेको छ ।