बिटुमिनको कारोबार गर्दै निगम

पेट्रोलियम पदार्थको कारोबार गर्दै आएको नेपाल आयल निगमले अब बिटुमिन (अलकत्रा)को पनि कारोबार गर्ने भएको छ । व्यापार विस्तार गर्ने क्रममा निगमले बिटुमिनको समेत कारोबार गर्ने तयारी गरेको हो ।
निजी क्षेत्रबाट आयातित बिटुमिन कमसल भई तत्काल सडक उक्किने समस्या बढ्न थालेको गुनासो आइरहेका बेला निगमले गुणस्तरयुक्त बिटुमिन आयात गरी बिक्री गर्ने योजना अगाडि बढाएको हो । हाल निजी क्षेत्रले मात्र बिटुमिनको कारोबार गर्दै आएका छन् । बिटुमिन सडक, राजमार्ग र विमानस्थलको ‘रन–वे’ कालोपत्रे गर्ने पेट्रोलियम पदार्थ हो । मुलुकमा सडक विस्तारको काम भइरहेकाले बिटुमिनको माग बढ्दै गएको छ ।
निगमका कार्यकारी निर्देशक सुशील भट्टराईले बिटुमिनको कारोबार गर्ने तयारी गरिरहेको जानकारी दिए । “मुलुकमा सडक विस्तारको काम भइरहेकाले ठूला–ठूला प्रोजेक्टले मात्र माग गरे बिटुमिन ल्याएर दिन तयार छौं,” कार्यकारी निर्देशक भट्टराईले भने, “इन्डियन आयल कर्पाेरेसन (आइओसी)बाट खरिद गरेर गुणस्तरयुक्त बिटुमिन ल्याउने तयारी गरेका छौं ।” काठमाडौं तराई द्रुतमार्ग (फास्ट्र ट्र्याक्ट)सँग बिटुमिनका बारेमा छलफल भइरहेको उनको भनाइ छ । फास्ट ट्र्याक्टसँगै अन्य ठूल्ठूला परियोजनाले निगमबाट ल्याएको बिटुमिन खरिद गर्ने भनेपछि आवश्यक पर्ने बिटुमिन ल्याउन तयार रहेको उनले जानकारी दिए ।
सम्बन्धित निकायबाट ल्याउन प्रस्ताव आए गुणस्तरयुक्त बिटुमिन ल्याउन तयार रहेको उनको भनाई छ ।
सडक मर्मत गर्न चाहिने बिटुमिन निगमले आयात गर्ने व्यवस्था सडक विभागले गरिदिए ल्याएर बिक्री गर्न सहज हुने भट्टराईको भनाइ छ । कुन–कुन प्रोजेक्टलाई कति आवश्यक पर्ने त्यसको माग आए आईओसीबाट उत्पादित गुणस्तरीय बिटुमिन ल्याउन तयार रहेको उनले बताए । बिटुमिन खरिद गर्न आईओसीसँग प्रस्ताव राखिसकेको उनले जानकारी दिए । बिटुमिन उपलब्ध गराउन आइओसी तयार रहेको निगमको भनाइ छ ।
बिटुमिन भन्डारण गर्ने स्थल नभएकाले ड्रम र ट्यांकरबाट ल्याउने तयारी गरिएको निगमले जनाएको छ । आईओसीले बरौनीबाट बिटुमिन उत्पादन गर्ने तयारी गरेकाले सोही स्थानबाट ल्याउन सकिने बताइएको छ । निजी व्यवसायीले विभिन्न मुलुकबाट कमसल बिटुमिन आयात गरी बिक्री गर्दै आएका छन् । निगमले झन्डै १५ वर्ष अघिदेखि बिटुमिनको आयात र बिक्री वितरण गर्न छाडेको थियो ।कच्चा तेल प्रशोधनपछि पेट्रोल, हवाई इन्धन, डिजेल र मट्टीतेल लगायतका पेट्रोलियम निकालिन्छ । त्यसपछि बाँकी रहने लेदो नै बिटुमिन हो ।
निगमले बिटुमिनको कारोबारबारे मोडालिटी तयार पार्न अध्ययन कमिटी गठन गर्ने तयारी गरेको छ । निजी क्षेत्रले आयात गरी वितरण गरिरहेको प्रतिस्पर्धी बजारमा निगमलाई चुनौती छ ।
यसैबीच भन्सार विभागको तथ्यांकअनुसार आर्थिक वर्ष २०७३-७४ मा २ अर्ब ५३ करोड ४४ लाख ७ हजार रुपैयाँको बिटुमिन आयात भएको थियो । यस्तै आर्थिक वर्ष २०७२-७३ मा १ अर्ब ४ करोड १५ लाख १३ हजार रुपैयाँको बिटुमिन आयात भएकोमा आर्थिक वर्ष ०७१÷७२ मा १ अर्ब ९७ करोड २२ लाख ८४ हजार हजार रुपैयाँको आयात भएको भन्सार विभागको तथ्यांक छ । भारत, सिंगापुर, यूएई, चीन, इरान, थाइल्यान्ड, अस्टे«लियालगायतका मुलुकबाट नेपालमा बिटुमिन आयात हुने गरेको छ ।