अल्लो प्रशोधन गर्न विद्युत् अभाव «

अल्लो प्रशोधन गर्न विद्युत् अभाव

ग्रामीण भेगमा सामान्य उपयोग गरिँदै आएको अल्लोबाट पछिल्लो समय झोला, गलबन्दी, जुत्ता, चप्पल, कोट, पाइन्ट, टाईलगायतका सामान बन्ने गरेका छन् । जिल्लाका सिउरुङ, घलेगाउँ, भुजुङ, गौंडा, घेर्मुलगायतका ठाउँमा अल्लो प्रशस्त पाइन्छ । यी गाउँमा घुम्न आउने पर्यटकलाई अल्लोबाट उत्पादित सामान बिक्री गरी स्थानीयले राम्रै आम्दानी गर्दै आएका छन् ।

लमजुङ सदरमुकाम बेसीसहरमा स्थापना भएको अल्लो प्रशोधन केन्द्र महिनौ बितिसक्दा पनि सञ्चालन हुनसकेको छैन । बेसीसहर–९ मजुवाखोला किनारमा स्थापना भएको उक्त प्रशोधन केन्द्रमा आवश्यक विद्युत् उपलब्ध हुन नसक्दा सञ्चालनमा आउन नसकेको हो ।
अन्तराष्ट्रिय बजारमा समेत अल्लोको राम्रो सम्भावना भएकाले लमजुङ उद्योग वाणिज्य संघले एक ‘गाउँ एक उत्पादन’अन्तर्गत अल्लो छनोट गरी प्रशोधन केन्द्र स्थापना गरेको हो । प्रशोधन केन्द्र स्थापना भई गत फागुनमा सबै संरचना निर्माण सम्पन्न भए पनि विद्युत्का कारण सञ्चालनमा आउन नसकेको लमजुङ उद्योग वाणिज्य संघका अध्यक्ष राजेश थापाले बताए । “उद्योग संरचना निर्माण गरेर फागुनबाट काम सुरु गर्ने योजना थियो, संरचना समयमै तयार पनि भएको हो,” अध्यक्ष थापाले भने, “अहिलेसम्म आवश्यक विद्युत् उपलब्ध नहुँदा उद्योग चलाउन पाएनौ ।”
प्रशोधन केन्द्र स्थापना भएसँगै विद्युत् जडान गरेर डबल फेजको विद्युत् भोल्टेज जोड्दा पनि उद्योग नचलेपछि ट्रान्सफर्मर नै राख्नुपर्ने भएको हो । विद्युत् ट्रान्सफर्मरका लागि गण्डकी प्रदेश सरकारका मुख्यमन्त्रीसँग अनुरोध गरिएको र मुख्यमन्त्रीबाट ट्रान्सफर्मर उपलब्ध गराउने आश्वासन दिए पनि उपकरण नपाएको अध्यक्ष थापाले बताए । “डबल फेजको विद्युत्ले पनि उद्योग चलेन, ट्रान्समिटर नै राख्नुपर्ने भयो,” अध्यक्ष थापाले भने, “यो विषयमा मुख्यमन्त्रीले पनि आश्वासन दिनुभएको हो, तर आश्वासनबाहेक केही पाएनौ ।” गत फागुनमा आयोजित लमजुङ महोत्सवका अवसरमा उद्योग उद्घाटन गर्ने तयारी भएको तर विद्युत् समस्याले उद्घाटन गर्न नपाएको अध्यक्ष थापाले बताए ।
नेपाल सरकारको साझेदारीमा हाल विदेशी बजारलाई समेत लक्षित गरी अल्लो प्रवद्र्धनका लागि एक करोड ३० लाख रुपैयाँ लगानी गरिएको संघले जनाएको छ । तर प्रशोधन केन्द्र स्थापना भएको महिनौ बितिसक्दा पनि विद्युत् अवरोधका कारण उद्योग सञ्चालन गर्न नपाउँदा लगानीकर्ता निराश बनेका छन् ।
गुरुङ समुदायले भांग्रालगायतका सामग्री बनाउनमात्र प्रयोग गर्ने अल्लो पछिल्ला दिनमा व्यावसायिक आकर्षण बढेको छ । गाउँघरमा त्यतिकै खेर गएको अल्लोलाई प्रशोधन गरी उद्योग नै सञ्चालन भएपछि यसको समूचित प्रयोगसँगै धेरैलाई रोजगारीको अवसर मिल्ने अपेक्षा गरिएको थियो । ग्रामीण भेगमा सामान्य उपयोग गरिँदै आएको अल्लोबाट पछिल्लो समय झोला, गलबन्दी, जुत्ता, चप्पल, कोट, पाइन्ट, टाईलगायतका सामान बन्ने गरेका छन् । जिल्लाका सिउरुङ, घलेगाउँ, भुजुङ, गौंडा, घेर्मुलगायतका ठाउँमा अल्लो प्रशस्त पाइन्छ । यी गाउँमा घुम्न आउने पर्यटकलाई अल्लोबाट उत्पादित सामान बिक्री गरी स्थानीयले राम्रै आम्दानी गर्दै आएका छन् । स्रोत र संरचना अभावमा मागअनुसार अल्लोको सामग्री उत्पादन गर्न नसकिएको अल्लो उद्यमीहरू बताउँछन् ।
अल्लोको कपडा स्थानीय बजारमा प्रतिमिटर एक हजार दुई सयभन्दा बढी पर्ने अल्लो व्यवसायी बताउँछन् । प्रशोधन केन्द्रका अभावमा पनि अल्लो व्यवसायबाट जिल्लाका स्थानीय महिलाले मासिक १५ हजारभन्दा बढी आम्दानी गर्दै आएका छन् । गाउँमा उत्पादित अल्लोका सामग्री बजार पुग्न नपाउँदै बिक्री हुँदै आएको छ ।

सन्देश पौडेल

प्रतिक्रिया दिनुहोस्