Logo

एभरेस्ट बैंकका अध्यक्ष श्रेष्ठको निधन

काठमाडौं– एभरेस्ट बैंकका संस्थापक एवं सञ्चालक समिति अध्यक्ष विष्णुकृष्ण (बीके) श्रेष्ठको निधन भएको छ  । उनको मेडिसिटी अस्पतालमा उपचारका क्रममा ९४ वर्षको उमेरमा यही कात्तिक ६ गते निधन भएको हो  ।

श्रेष्ठले २०५२ सालदेखि लगातार एभरेस्ट बैंकमा अध्यक्ष पदमा रहेर काम गर्दै आएका थिए  । यो बैंकले ०५१ मा नेपाल राष्ट्र बैंकबाट ‘क’ वर्गको वित्तीय संस्थाका रूपमा सञ्चालन अनुमति पाएको थियो  । १९८६ सालमा ललितपुरको मंगलबजार (तुमबहाल) मा ६ दाजुभाइमध्ये साइँलो सन्तानका रूपमा जन्मिएका श्रेष्ठले प्राथमिक तहको शिक्षा ललितपुर पाटनमै लिएका थिए  ।

भारतको कोलकातामा उच्च शिक्षा र अमेरिकाबाट एमबीए गरेका श्रेष्ठले नेपाल राष्ट्र बैंकले निजी क्षेत्रलाई पनि बैंकिङ लाइसेन्स खुला गरेपछि एभरेस्ट बैंक स्थापनाका लागि आवेदन दिएका थिए  । सुरुमा कोलकाताको युनाइटेड बैंक अफ इण्डिया (यूबीएल) र नेपाली लगानीकर्ताको संयुक्त लगानीमा २९ वर्षअघि एभरेस्ट बैंकको स्थापना भएको थियो । बीके श्रेष्ठ निकै निडर, इमानदार एवं कुशल उद्यमी एवं बैंकर भएको उनका समकक्षीहरु बताउँछन् ।

साविकको नेपाल औद्योगिक विकास कर्पोरेसन (एनआईडीसी) स्थापनामा बीके श्रेष्ठको प्रमुख योगदान थियो । राष्ट्र बैंकबाट ‘ख’ वर्गको वित्तीय संस्थाका रूपमा अनुमति पाएको यो कम्पनी हाल राष्ट्रिय वाणिज्य बैंकसँग गाभिएकाले अस्तित्वमा छैन  । नेपालमा वित्तीय क्षेत्रमा मुख्य लगानी रहेको श्रेष्ठले भारतमा धेरै उद्योग सञ्चालन गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्