चलायमान अर्थतन्त्र र रंगीन चाड दसैं

देशकै ठूला चाडहरू दसैं, तिहार, छठ आदि पर्वमा देशको अर्थ बजार बढी चलायमान हुन्छ । पुँजीगत खर्च गरेर विकास निर्माणका कामबाट अर्थतन्त्र चलायमान हुनुपर्नेमा अनुत्पादक क्षेत्र खाना र मनोरञ्जनमै बढी खर्च हुने हाम्रो देशको अवस्था उल्टो गतिमा चलेको छ । यतिबेला नै राष्ट्र बैंकले नयाँ नोट बजारमा ल्याइदिन्छ । मानौं, राष्ट्रिय मूल चाडबाड देशमा छैनन् भने देशको ढुकुटी नै नचल्ने भान हुन्छ, साँच्चै हाम्रो देश संसारमा पृथक् पनि छ ।
अर्न र लर्न भनियो इजरायलमा नेपालीहरूलाई, तर परराष्ट्र मन्त्री उहीँ पुगे, मरेका लास ल्याउन सकेनन् । बिदेसिने र उतैबाट संसार बिदा लिने नेपालीको संख्या दिनपरदिन बढ्दै छ । केन्द्र र प्रदेश सरकारहरूलाई विदेशमा मर्नेहरूका नाममा पैसा बाँड्ने होडबाजी नै चलेको छ । लासलाई दिइने पैसा प्रतिव्यक्ति झन्डै १५ लाख बढी छ, त्यति बराबरको पैसा यहीँ दिएर रोजगारी सिर्जना गर्नु, परदेसिनु पर्दैन भन्ने उर्दी सरकारले जारी गर्न सकेन । दसैंको मुखैमा मंसिरसम्म सुपथ मूल्यका पसल खोल्ने अभिनय भयो, तर खुलेकै दिन चिनी बजारबाट गायब भयो । सुपथ मूल्यको पसलमा त चिनी होइन चिनीको बीउ पनि पाइएन । सरकारले खाद्य व्यवस्था कम्पनी र साल्ट टेडिङ लि.लाई ५० हजार मे.टन चिनी आयात गर्न भन्सार मिनाहा भनिदियो, ती संस्थाहरूले टेन्डर गरे रे, बिड गर्ने राष्ट्रिय कुनै ठेकेदार भेटिएनन्, अन्तर्राष्ट्रिय ठेकेदारले टेन्डर हाले, टेन्डर प्रक्रिया पूरा गर्नै दुई महिना लाग्ने भयो, दसैंतिहार होइन, छठ सकिएपछि पनि चिनी आउने छाँट नै छैन । सिजनमा नपाएको रासायनिक मलजस्तै छ चिनीको हल्ला ।
दसैंमा बढी खपत हुने मासु नै हो । गाउँघर रित्तो छ, खसीबोका, भेडाच्यांग्रा पाल्ने नेपाली सिनित्तै सकिए, होइन विदेश गए, राज्यले विप्रेषणलाई माया गर्यो । सरकारी संयन्त्र पशु सेवा विभाग तथ्यांक मात्रै राख्छ र भन्छ— देशमा ३६ लाख खसीबोका छन्, वार्षिक उत्पादन नै ७ लाख ५० हजार छ, वार्षिक २० प्रतिशतले उत्पादन बढ्ने गरेको छ र वार्षिक माग ५ लाख हो, मागभन्दा उत्पादन बढी छ, आयात गर्नै पर्दैन । खसीबोकाकै लागि दसैंताका १ अर्ब बढीको आर्थिक कारोबार हुने गरेको छ, ५० करोडमाथिको क्रयविक्रय भेडाच्यांग्रामै हुने गरेको छ । मानौं, यी आँकडाले मासुमा विगतमै भनिएअनुसार देश आत्मनिर्भर भइसक्यो, तर आयात पनि भएकै छ । यस अर्थमा पशुपन्छी पालनबाटै देशको समृद्धिको खुट्किलो तय हुने पक्का छ ।
राजनीतिक प्रणालीवरिपरि घुम्ने नेता राजनीतिकर्मीहरू भए, तिनका झोला बोक्ने मात्र भए । कोसी प्रदेशमा फेरि अनौठो सरकार बनेको छ, बरु सबैले भैंसेपाटीबाटै शासन गर्दा सजिलो हुन्थ्यो, देश सानो छ, छिमेकीले २५ करोड जनतामा एक प्रदेश राखेको छ, उही विश्वको धनी बन्दै छ । पेसाकर्मीहरू यहाँ कोही खुसी छैनन्, सबै सडकमा छन्, देशैभरि चर्का–चर्का विरोधका स्वर निस्केका छन् । पूर्वको एक अस्पतालमा १ सय ७७ जनाले सामूहिक राजीनामा दिएको खबर छ । देशैभरि दसैंको मुखमा डिंगो रोग फैलिएको छ, वीर अस्पतालका सयौं कर्मचारी हटाइए । २० वर्षअघि इराकमा १२ जना नेपालीलाई एउटै चिहान बनाउँदा, अफगानिस्तानमा १३ जनालाई स्वाहा पार्दा र आज इजरायलमा १० जनालाई बलि दिइरहँदा हाम्रो नेतृत्व उही थियो र छ । राष्ट्र प्रमुखका सल्लाहकारहरू दर्जनभन्दा बढी छन्, मूल सल्लाहकार त कार्यकारी प्रमुख नै हुन्, यहाँ गरिबका शिरमा परेको ऋण माफी हुँदैन, बरु कैद माफी हुन्छ किन ?
अपराधीहरूको कैद माफी ठीक भएन भनी सडकमा पोखिएकाहरूलाई प्रहरीले धरपकड गरेको छ, शीतल निवास र माइतीघर मण्डलामा । देशैभरि समस्या बल्झिँदै छन्, स्थानीय तहका मात्रै होइन, तमाम शिक्षाकर्मी मात्रै होइन, मेडिकलकर्मीहरू पनि सडकमा ओर्लिए दसैंकै पूर्वसन्ध्यामा । अमेरिका र चीन भ्रमणको उपलब्धि के भयो थाहा छैन, तर झन्डै अर्बको खर्च हजम भयो भनिँदै छ ढुकुटीको, जनता मुड अफमा छन्, नेताले मुड फ्रेस मात्रै गरेर देशको रूपान्तरण होला र ? आर्थिक मन्दी किन छ देशमा ? बजार सुनसान किन र सटरहरू धेरै किन बन्द ? हो, देश पूरै ऋणमा छ, व्यापारघाटामा छ, विप्रेषणको ६५ प्रतिशत रकम अनुत्पादक क्षेत्रमा खर्च गरियो, राष्ट्र बैंक आफैं भन्छ ।
सबै रानी बन्ने, आदेश मात्रै दिने, फिल्डमा काम कोही नगर्ने संसदीय समितिहरू पनि निर्देशनात्मक आदेश मात्रै जारी गर्ने, कर्मकाण्डी काम दसैंको चटारो वक्तव्यको झटारो मात्रै छ देशमा । करको पीडा, महँगीले थलिएको नेपालीले श्वासप्रश्वास बन्द गर्नुपर्ने अवस्था आइसकेको छ । अर्थतन्त्र सुधार गर्न उच्चस्तरीय संयन्त्र, समिति बनाउने हल्ला आएको छ, सयन्त्र बनाउने कि उद्योग, कलकारखाना खोल्ने, देशमै कमसे कम खाद्यान्न उत्पादन वृद्धि गर्नुपर्ने होइन र ? के गर्छ संयन्त्रले, कुन क्षेत्रमा कमी छ संयन्त्रको ? आयोग, नियोग, संस्था खोल्दै आफन्तलाई गाडी चढ्ने र भत्ता पचाउने कामभन्दा बाहेक देशमा के भयो ३४ वर्षदेखि, मेलम्ची खोल्न किन आदेश जारी नभएको ? हरेक सानातिना कामलाई पनि अध्यादेश नै चाहिने र बन्द गर्न सर्कुलर जारी भइसकेको संसद्मा बिदा मात्रै गरिने र कुनै पाहुनालाई बोल्न दिनैका लागि थाँती राख्नुपर्ने किन ? यो त निजी पसल जस्तो भएन र ?
संविधानमा मात्रै आफ्नो भूमि भन्ने कि महमहिम आउँदा वडाअध्यक्षले पनि पुछेनन् भनी संसद्मा कोकोहोलो मात्रै गरेर चित्त बुझाउने ? हरेक दिन २ देखि ३ हजार नेपाली किन बिदेसिन्छन्, दैनिक दर्जन बढी शव किन आउँछन् विदेशबाट ? लोकतन्त्रको उपहास होइन र यो ? नेतृत्वले बहस किन नगरेको ? बझाङमा भूकम्पले चर्केको घर नेताको हेलिकप्टरको आवाजले झन् बढी चर्कायो भन्दै छन् त । कपडा च्यातिएर सिउन सजिलो होला तर मन फाट्दा सिउन सजिलो छैन, राजनीतिमा बाहेक ।
नेपालीहरूको कुँडिएको मन केवल दसैंको सरकारी खर्चबाट वितरित शुभकामनाका शब्द र संस्कार धान्नैका लागि आएको पर्वमा रातो टीका दिँदैमा नेपालीको न जीवनस्तर उठ्छ, न देशको समृद्धि । देशको समृद्धि र देशवासीको मुहार उज्यालो हुन त देश निर्माणमा तल्लीन हुन जरुरी छ, सुशासनको नारालाई व्यवहारमा उतार्न जरुरी छ, बेरुजु नहुन जरुरी छ, ऋणको भार कम गर्न जरुरी छ, देशदेशावरका सबैसँग बराबरीको साइनो आवश्यक छ, कसैलाई काखमा लिँदा कोही पर रहने अवस्था हुनु हुन्न । देश विदेशीको फूलबारी बनाउनु हुन्न । थोरै आधा पेट खाएर पनि बाँच्न सकिन्छ, भिक्षार्थी बन्नु हुन्न, हात माथि पार्नेले आफ्नो स्वार्थ लादेकै हुन्छन् ।
विधिको शासन कस्तो हुन्छ ? एक रुमालजत्रो सडक छ, दसैं नलाग्दै प्रहरीहरूले सबैजसो सवारी साधनबाट बिल काटे । गौंडा गौंडासमेत कुरेर पैसा असुलियो, त्यही नजर सवारी दुर्घटना नहुनेतिर गएन, अतीतमा धेरै निजी गाडीहरू नै दुर्घटनामा होमिए दसैंभरि । इन्धनमा सात प्रकारका कर लिइएको छ, ग्याँसजस्तो संवेदनशील विषयमा पनि सरकारले भ्याट लगायो, यो चलन अरू देशमा छैन । काठमाडौंमा पार्किङ क्षेत्र नै छैन, अडिनासाथ सवारी साधनमा चिट काटिन्छ, धरहराको अन्डरग्राउन्डमा बालेनले दसैंलाई मात्रै पार्किङ निःशुल्क गर्ने कि सधैं ? निःशुल्क शौचालय भनियो यसअघि, तर सबैतिर ठटाएर पैसा असुलिन्छ । पलपलमा पाश्चात्य शैली र व्यापारिक व्यवहार भएको छ, सेवाको कुरै छैन कतै । एक नेपालीले अर्को नेपालीलाई परचक्रीको रूपमा हेर्नुपर्ने अवस्था सिर्जना भएको छ । सामाजिक सुरक्षा र सेवाको कुरा गफ मात्रै भएको छ ।
लोककल्याणकारी राज्यको आदर्श भुलेको अवस्था छ, समाज अर्कै भएको छ देशमा । सामाजिक सद्भाव खलबलिएको छ, बाँकेको प्रसंगले पनि यही बताउँछ । इमानदारिता नै बिक्री भइसकेको छ देशमा, कैयन् काण्ड मुहानसम्म पुगेर फर्किएको अवस्था छ । मूलीहरूले दैलो फोहोर गरेपछि बाँकी सन्तानको हालत के हुन्छ ?
अन्त्यमा, दसैं सकिने भनेको कोजाग्रत पूर्णिमादेखि हो । यस दिन धनकी प्रतीक महालक्ष्मीको स्मरण गरिन्छ । शास्त्रहरू प्रतीकात्मक हुन्छन्, कोजाग्रतको अर्थ हुन्छ— को जागा छ अर्थात् को सक्रिय छ । उद्यमशीलता, लगानी, उत्पादनको क्षमता र प्राप्त धनको वितरण वा यसको सदुपयोग कसले कति मात्रामा गरेको छ भन्ने हुन्छ । परिश्रमी हात र रोजगारी सिर्जना, धनको सदुपयोग गर्दै समाजको स्तरोन्नतिका लागि को कसले कति प्रयत्न गरेको छ भन्ने सन्दर्भ नै महालक्ष्मीको उपासना हो । धनको दुरुपयोगमा लक्ष्मी खुसी रहन्नन् । दुव्र्यसन, मदिरा, जुवा, फेसनमा लक्ष्मीको अनर्थ रूप हुन्छ जसबाट व्यक्ति, समाज र सिंगो देशकै अवनति हुन्छ । सदाचार, सच्चरित्रता, सेवामा लागेको धन लक्ष्मीको रूप हो भने दुरुपयोगमा अलक्ष्मी बसेकी हुन्छिन्, फलतः व्यक्ति कंगाल त हुन्छ नै, देशको समस्या विकराल हुन्छ ।
यस अर्थमा अर्थ भनौं घरमूली वा देशको ढुकुटी लिनेले धनको दुरुपयोग गर्नु हुन्न । पानी वा सौर्य तापबाट विद्युत् ऊर्जा उत्पादन गरेझैं चल लक्ष्मीको उपयोग गरेर उत्पादन बढाई देश धनी बन्ने हो । उत्पादनमा नलागेको धन पवित्र हुन्न । धन केवल भोग साधन मात्र नभएर योग साधन पनि हो । योगको अर्थ जोड्नु भन्ने हो, व्यक्ति, समाज र देशसँग । त्यसैलाई समाजवादी नारा दिने अर्थशास्त्रीहरूले ह्याभ्स र ह्याभ्स नट भने । संसारमा धेरै ठूला क्रान्ति हामीले देखिभोगिसकेका छौं । धनको गलत प्रयोगले समाजमा फाटो ल्याउने काम गर्छ, ईष्र्या वृद्धि गराउँछ । अन्ततः जनक्रान्तिको ज्वाला नै विस्फोटन हुन सक्छ, पछिल्लो अवस्था श्रीलंका नै काफी छ, उदाहरणका लागि ।