४५ जिल्लामा डेंगुको संक्रमण «

४५ जिल्लामा डेंगुको संक्रमण

राज्यमन्त्री भन्छन्– मन्त्रालय एक्लैले नियन्त्रण गर्न सक्दैन

देशका ४५ भन्दा बढी जिल्लामा डेंगुको संक्रमण देखा परेको छ । प्रतिनिधिसभा, शिक्षा र स्वास्थ्य समितिको आइतबारको बैठकमा स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा. सुरेन्द्र यादवले यो जानकारी दिएका हुन् । बैठकमा राज्यमन्त्री यादवले डेंगु रोग नियन्त्रण मन्त्रालयको एकल प्रयासले मात्र सम्भव नहुने पनि बताए । उनजका अनुसार अघिल्लो आवमा तीन हजार ८३४ जनामा देखिएको सो रोगको संक्रमण चालू आवको एक महिना १२ दिनमा एक हजार ५३७ जनामा प्रमाणित भएको छ ।
एडिस जातको पोथी लामखुट्टेको टोकाइबाट सो रोग संक्रमण हुने गर्दछ । दश हजारमध्ये एक हजारमा मात्र रोगको लक्षण देखापर्छ । पछिल्लो समय देशका अधिकांश ठूला शहरमा सो रोग देखापरिसकेको छ । सबैभन्दा स्वच्छ र सफा मानिने पोखरा लेखनाथ महानगरपालिमा मात्र अहिलेसम्म ३१५ जना संक्रमित बिरामी भेटिएका छन् । समितिको बैठकमा राज्यमन्त्री यादवले भने, “मन्त्रालयको एकल प्रयासले मात्र डेंगु नियन्त्रण सम्भव छैन, अन्य मन्त्रालय, सरोकारवाला निकाय तथा आम जनताको साथ र सहयोग आवश्यक पर्छ । अन्य निकायको साथ र सहयोग मन्त्रालयले नपाउने हो भने डेंगु संक्रमण झन् भयावह हुन सक्छ ।
”उनले नयाँ भवन निर्माण कार्य तीव्र अवस्थामा रहेको भन्दै निर्माण कार्यस्थलमा पानी जम्ने गरेको र पानी जमेको स्थानमा लामखुट्टेको लार्भा बसेको हुन सक्ने बताए । राज्यमन्त्री यादवले तराईबाट पहाड र हिमाल उक्लिँदै गरेका लामखुट्टेलाई मन्त्रालयले मात्र रोक्न नसक्ने चर्चा गर्दै मन्त्रालयले कर्मचारी र बजेट अभावले प्रभावकारी कार्य सम्पादन गर्न नसकेको गुनासोसमेत गरे । उनले भने, “छिटो छिटो सचिव परिवर्तन भइरहन्छ, सचिव त परिवर्तन भयो भयो, सहसचिव पनि परिवर्तन हुन थाल्यो, खै काम कसरी सम्पादन गर्नु ?”मन्त्रालयमा हालै मात्र सचिव पदमा सरुवा भई गएका खगराज बरालले डेंगु नियन्त्रणमा सामूहिक प्रयासको खाँचो औंल्याउँदै स्थानीयस्तरमा ‘लामखुट्टे खोज र नष्ट गर’ भन्ने कार्यक्रमलाई प्रभावकारी बनाउन जरुरी रहेको बताए । मन्त्रालयका सहसचिव दीपेन्द्ररमण सिंहले लामखुट्टे नियन्त्रण कार्य घरघरबाट शुरु गर्नुपर्ने भन्दै डेंगुको लार्भा देखिने घरलाई दण्डसजायको दायराभित्र ल्याउने खालको कानुनी संयन्त्र आवश्यक रहेकामा जोड दिए । मन्त्रालयअन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. विवेककुमार लाल र विज्ञ डा. घनश्याम पोखरेलले पछिल्लो समय हावाजस्तै डेंगु फैलिएको चर्चा गर्दै रोग नियन्त्रण गर्न आर्थिक अभाव रहेको बताए । 
महाशाखाका अनुसार सातै प्रदेशमा करिब ८७ लाख ९० हजारको दरले रकम विनियोजन गरेको छ । अनुमान लगाएभन्दा फरक स्थानमा रोग देखिँदा नियन्त्रण गर्न आर्थिक स्रोतको अभाव रहेको महाशाखाले जनाएको छ । गत वर्ष ८५ स्थानीय तहमा सो रोग देखापरेको थियो । तर सुनसरीमा फैलिएको सो रोगको पूर्वानुमान मन्त्रालयले गरेकै थिएन । बैठकमा सत्तारुढ दलकै सांसदहरुले डेंगु रोग नियन्त्रणका लागि आवश्यक कार्य योजना समेत तय गर्न नसकेको उल्लेख गर्दै सरकारको चर्को आलोचना गरेका थिए । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रतिनिधिसभाका सांसदद्वय जीवनराम श्रेष्ठ र अञ्जना विशंखेले डेंगु रोग नियन्त्रणका लागि आवश्यक कार्ययोजना समेत ल्याउन नसकेको भन्दै सरकारको चर्को आलोचना गरेका हुन् । नेकपाका सांसद श्रेष्ठले विश्वमै महामारीको रुपमा फैलिएको सो रोग नियन्त्रणका लागि आवश्यक कार्ययोजना समेत बनाउन नसकेको भन्दै सरकारप्रति आक्रोश व्यक्त गरे ।
उनले लामखुट्टे नियन्त्रण गरेर सो रोग लाग्न नदिन किन गम्भिर नभएको भन्दै सरकारलाई प्रश्न पनि गरे । नेकपाकै सांसद विशंखेले पनि सो रोग रोग फैलिन नदिन सरकारलाई सचेत गराइन् । उनले सो रोगबाट बच्न संचार माध्यमबाट सर्वसाधारणको जानकारीका लागि विज्ञापनसहितको जनचेतनामूलक कार्यक्रम प्रचार तथा प्रसार गर्न ढिलाई नगर्न पनि सरकारको गम्भिर ध्यानाकर्षण गराइन् । प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका सांसद मानबहादुर विश्वकर्माले पनि डेंगु रोग नियन्त्रणका लागि सरकार गम्भिर नभएको आरोप लगाए । उनले सो रोग नियन्त्रणका लागि लामखुट्टे नियन्त्रणको काममा विशेष जोड दिन पनि सरकारलाई सचेत गराए । 

प्रतिक्रिया दिनुहोस्