काठमाडौंमा चहलपहल बढ्न थाल्यो, सिंहदरबार सुनसान

काठमाडौं- दशैं मनाउन गाउँ गएका फर्किन थालेका छन् । नेपालीहरुको महान चाड वडादशैं मनाउन काठमाडौं उपत्यका बाहिर गएकाहरु फर्कन थालेपछि काठमाडौं भित्रिने नाकामा भीड देखिएको छ ।
काठमाडौंको कलंकी, थानकोट, भक्तपुरका नाकामा सवारी साधनको लामो लाइन छ । दशैंको नवमी र दशमीका दिन काठमाडौं उपत्यकामा यातायात सुनसान जस्तै भएपनि विस्तारै गाउँ गएकाहरु उपत्यका नै फर्किन क्रम बढेसँगै सडकमा चहलपहल बढेको छ । गाउँबाट फर्किएकाहरु सडकमा सामान र बालबालिकाहरुसहित उभिएको देख्न सकिन्छ ।
यसवर्ष दशैंको अवसरमा उपत्यकाबाट १६ लाखभन्दा बढी मानिस बाहिरिएका थिए । उपत्यकाभित्र चल्ने सवारीसमेत बाहिरी जिल्लातर्फ यात्रु ओसार्न गएकाले उपत्यकामा चल्ने सार्वजनिक सवारी केही कमी हुँदा यात्रुलाई आवतजावतमा केही असहज भएको देखिएको छ ।
यस्तै, दशैं मनाउन मन्त्री, नेता र कर्मचारीहरु जिल्ला जाँदा सिंहदरबार सुनसान बनेको छ । दशैंको बिदा सकिएर सरकारी कार्यालयहरु खुल्न थालिसक्दा पनि सिंहदरबारमा चहलपहल भने त्यत्ति बाक्लो देखिँदैन ।
शुक्रबार पनि सिंहदरबारमा मानिसहरुको आवतजावत निकै कम देखिएको छ । हाल मन्त्रालयमा सिमित कर्मचारीहरुलाई मात्रै देख्न तथा भेट्न सकिन्छ । दैनिक हजारौंको संख्यामा मानिसहरु सिंहदरबार प्रवेश गर्ने भएपनि अहिले फाट्टफुट्ट मात्रै मानिसहरु र सवारी साधनहरु देख्न सकिन्छ ।
दशैं सकिन अझै दुई दिन बाँकी रहेका कारणले पनि सिंहदरबार सुनुसान बनेको छ । शनिबार पूर्णिमाका दिनबाट मात्रै दशैंको टिका विधिवत रुपमा सकिन्छ । आइतबारबाट भने नियमति काममा फर्किने कर्मचारीहरु बढ्ने अनुमान गर्न सकिन्छ ।