मखान बिक्री गर्न र किन्न भ्याइ नभ्याइ

महोत्तरी- मधेसका महोत्तरीसहितका प्राचीन मिथिला क्षेत्रका हाटबजारमा पान र मखानको बिक्री बढेको छ । कोजाग्रत पूर्णिका दिन पान र मखान (पोखरी, तलाउमा फलाइने फल विशेष) खाने/ख्वाइने परम्परा मधेशमा रही आएको छ । एक दिनअघि नै यस क्षेत्रका गाउँ नगर बस्तीका बजारमा पान र मखानको बजार जमेको हो । कोजाग्रत पूर्णिमा शनिबार मनाइँदैछ ।
कोजाग्रत पर्वमा मखान र दूध खाने मैथिल परम्परा छ । मखान शक्तिवर्द्धक पौष्टिक आहार मानिन्छ । यसैगरी, कोजाग्रत पूर्णिमाका दिन सबैजसोले पान खाने भएकाले यस भेगमा एक दिनअघिदेखि नै पानका पातको बिक्री बढेको हो । अहिले पान पसले टाढाटाढाबाट पानका पात जुटाउन व्यस्त छन् । कोजाग्रत पूर्णिमाका दिन मखान खाएर पान खाने आम प्रचलन छ ।
पर्व विशेषलाई नै दृष्टिगत गरेर प्रत्येकजसो बजारमा आजदेखि नै मखानको बिक्री बढेको हो । महोत्तरीका बस्ती/बस्तीमा आज बिहानदेखि ‘मखान लेबै मखान’ (मखान लिनोस् मखान) भन्दै मानिसहरु घरघरैजसो हिँडेका भेटिन्छन् । त्यसैगरी, आफ्नै घरमा लगाइएको पान टिपेर बजारका पान पसलमा पात पुर्याउन ससाना बालबालिका पनि रमाइलो मान्दै हिँडेका देखिन्छन् ।
पर्वलाई लक्षित गरी सबैजसो बजारमा व्यापारीले मखान फिजाएर राखेका छन् । जिल्लाका बर्दिबास, औरही, सम्सी, सीतापुर, मटिहानी, जलेश्वर, रामगोपालपुर, बलवा, पिपरा र लोहारपट्टीसहितका बजारमा मखान बेच्ने/किन्नेकै भीड लागेको छ । महोत्तरीका मटिहानी र रामगोपालपुर नगरपालिका क्षेत्र मखान उत्पादनका उर्वरक्षेत्र मानिन्छन् ।
पर्वविशेषले आफ्नो उत्पादनले महत्व पाउँदा मखान किसान यो पर्वका बेला खुसी देखिन्छन् । कोजाग्रत पूर्णिमाका दिन सम्पन्नताकी देवी महालक्ष्मी पृथ्वीमा विचरण गर्न आउने र साँझपख जुन घरमा दीप प्रज्वलित गरिएको छ, त्यहाँ प्रवेश गर्ने विश्वासले घरघरमै दीप प्रज्वलित गरेर देवीलाई पनि मखान र पानसहितका सामग्रीले पूजाआराधना गरिने मैथिल परम्परा छ ।
कोजाग्रतमा रातभरि जाग्राम (जागा) बस्नुपर्ने पुरानो विश्वास भएकाले कोजाग्रत दिनका लागि यस क्षेत्रमा नाचगानसहितका मनोरञ्जनात्मक कार्यक्रम पनि आयोजना हुन्छन् । पान र मखान दुवै सम्पन्नता र सौन्दर्यका प्रतीक मानिन्छन् । कोजाग्रत पर्वमा कहिल्यै पान नखाने व्यक्तिले पनि विधिकै लागि पान खाने गरेका छन् । पान सौन्दर्य र सम्पन्नतासँगै प्रसन्नताको प्रतीक पनि मानिने मैथिल जनविश्वासले पर्वविशेषमा यसको महत्व बढेको छ ।