वर्तमान सरकार पाँच वर्ष टिक्छ
माओवादी घटक दलबीचको एकता आवश्यक: प्रधानमन्त्री
रुकुम- प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीले सुरु गरेको तीन महिने विशेष रुपान्तरण अभियान माओवादी घटक दलहरु बीचको एकताको अभियान पनि रहेको बताएका छन् । रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका–६ मग्गामा आज आयोजित सहिद स्मृति मेलाको उद्घाटन गर्दै उनले अब माओवादीबाट फुटेर गएका दलहरुका बीच एकता आवश्यक रहेको बताए ।
केही साथीहरु फरक बाटोमा लागेको भए पनि अझै केही नबिग्रिएको उनको भनाइ थियो । प्रधानमन्त्री दाहालले वर्तमान सरकार पाँवर्ष नै टिक्ने दावी गरे । सरकार ढाल्न र गठबन्धन फुटाउन तर्फ केही दल लागिपरेको उनले आरोप लगाए । सरकारले पछिल्लो समय सामाजिक न्यायको लागि विभिन्न भ्रष्टाचारको फाइल खोलेको देख्दा केही दलहरु सरकार ढाल्ने प्रयासमा रहेको उनको भनाइ थियो ।
प्रधानमन्त्री दाहालले नेपालको राष्ट्रिय स्वतन्त्रताको कुरालाई सरकारले सधैँ अघि राखेर छिमेकी राष्ट्र र अन्य राष्ट्रहरुसँगको कूटनीतिकसम्बन्ध सुदृढ बनाउन सफल भएको बताए । वर्तमान सरकार गठनभएपछि सामाजिक न्यायको पक्षमा धेरै राम्रा काम भएका उनले बताए ।