दुई घण्टासम्म खेल्ने बालबालिकाको शैक्षिक उपलब्धि राम्रो «

दुई घण्टासम्म खेल्ने बालबालिकाको शैक्षिक उपलब्धि राम्रो

सरकारले सामुदायिक र संस्थागत विद्यालयको गुणस्तरमा देखिएको उच्च भिन्नता कम गर्दै लैजाने नीतिमा चुनौती देखिएको छ । सरकारले सम्पन्न र विपन्न अर्थात् निजी र सामुदायिक विद्यालयबाट प्रदान गरिने शिक्षाको गुणस्तर समान स्तरको बनाउने नीति लिए पनि विद्यार्थी उपलब्धिको राष्ट्रिय परीक्षण (नासा) को रिपोर्टले सो अनुसारका परिमाण देखाएको छैन ।
नासाको रिपोर्टले संस्थागत विद्यालयको शैक्षिक गुणस्तर र उपलब्धि राम्रो हुँदै गएको र सामुदायिक विद्यालयको सिकाई नतिजा ओरालो लाग्दै गएको देखिन्छ । यसै गरी जिल्ला अनुसार पनि विद्यार्थीको शैक्षिक उपलब्धिहरूबीच नै उच्च भिन्नता रहेको देखिएको छ । शैक्षिक गुणस्तर परीक्षण केन्द्रले सार्वजनिक गरेको नासा रिपोर्टमा जातजाति बीचको शैक्षिक उपलब्धिमा भिन्नता धेरै देखिएको छ । विद्यार्थी, विद्यालय र शिक्षकको मात्र भूमिकाले विद्यार्थीको शैक्षिक उपलब्धिमा असर पारेको छैन कि आमाको योग्यता स्नातक हुने र निरक्षर बीचको भिन्नता पनि धेरै भिन्नता रहेको देखिएको छ । स्नातक वा सो भन्दा बढी शैक्षिक योग्यता भएका अभिभावकका सन्तानको शैक्षिक उपलब्धि राम्रो देखिएको छ ।
केन्द्रले १ वर्ष लगाएर गरेको अध्ययनमा बिजनेस, सरकारी जागिर र शिक्षण पेशा हुने बाबुआमा र कृषि वा घरायसी काम गर्ने बाबुआमाका बच्चाको उपलब्धिमा भिन्नता पनि धेरै रहेको देखिएको छ । बिजनेस, सरकारी जागिर र शिक्षण पेशा हुने बाबुआमाका सन्तानको सिकाई राम्रो रहेको सो रिपोर्टमा उल्लेख छ । प्रदेश अनुसार १ हजार ४०० संस्थागत र सामुदायिकमा गणित र नेपाली विषयमा गरिएको सिकाई परीक्षणमा सुधार गर्नु पर्ने कुराहरु धेरै रहेको देखिएको छ ।
यसैगरी सिकाइमा सहयोगी सामग्री घरमा हुने र नहुनेबीचको उच्च भिन्नता पनि रहेको देखिएको छ । घरमा धेरै शैक्षिक सामग्री उपलब्धता हुने परिवारका बालबालिको सिकाईमा राम्रो प्रभाव परेको देखिएको छ । सामाजिक–आर्थिक अवस्थाको उच्च प्रभाव, ज्यालादारीमा काम गर्नुपर्ने बालबालिकाको उपलब्धि न्यून सही उमेरमा कक्षामा भर्ना हुनेको उच्च उपलब्धि, विद्यालयको बाहेक थप ट्युसन वा सहयोग लिनेको उच्च उपलब्धि पनि देखिएको छ ।
औसतमा उच्च सामाजिक आर्थिक अवस्था हुनेको उपलब्धि नहुनेको भन्दा उच्च रहेको पाइएको छ । यसैगरी नेपाली भाषा घरमा बोल्नेको उपलब्धि अन्यको भन्दा उच्च छ । नेपाली भाषामा छात्रा र छात्रको उपलब्धि समग्रमा समानताको नजिक रहेको देखिन्छ । तराई क्षेत्रमा छात्राहरू छात्रभन्दा पढाईका कमजोर हुने गरेको अध्ययनले देखाएको छ ।

गणितमा धेरै कमजोर
२८ प्रतिशत विद्यार्थीले कक्षा ५ को सही सिकाइ गरेको देखिएको छ । ३९.६ प्रतिशत विद्यार्थीले कक्षा ५ को न्यूनतम सिकाइ गरेका छन् । ३२ प्रतिशत विद्यार्थीले कक्षामा सिक्न सकेका छैनन् । कक्षा ५ मा अध्ययनरत विद्यार्थीको गणित विषयमा गरिएको उपलब्धि परीक्षणमा ३२ प्रतिशत विद्यार्थीले पाठ्यक्रमको ५ प्रतिशत मात्र ज्ञान बोध गरेको देखिएको छ । यसैगरी ४० प्रतिशत विद्यार्थीले गणित विषयका मात्र १८ प्रतिशत ज्ञान लिएको देखिएको छ । २८ प्रतिशत विद्यार्थीले मात्र गणित बिषयको आवश्यकता अनुसार सिकाई हासिल गरेको देखिएको छ ।
नासाको विद्यार्थी उपलब्धिको राष्ट्रिय परीक्षणको उद्देश्य विद्यार्थीहरूको सिकाइको अवस्था पहिचान गर्नुका साथै शैक्षिक पद्धतिमा सुधार गर्नु रहेको देखिए पनि हालसम्म सो अनुसार सुधार गर्न नीतिगत रुपमा निर्णय गर्न सकिएको छैन । नासा रिपोर्ट अनुसार पाठ्यक्रम तथा पाठ्यसामग्री, परीक्षा व्यवस्थापन, शिक्षक व्यवस्थापन र विकासमा सहयोग पुग्ने उद्देश्य लिने लक्ष्य राखिएको भए पनि सो अनुसार सुधार हुन सकेको छैन । यसका अन्य उद्देश्यमा विद्यालय व्यवस्थापन, विद्यालयको पठनपाठनको वातावरण सुधार, शिक्षा नीति, योजना, शैक्षिक कार्यक्रम तर्जुमा र कार्यान्वयनको प्रभावकारिताको अनुगमन तथा मूल्याङ्कनका लागि पृष्ठपोषण प्रदान, शैक्षिक सेवा प्रवाहमा जवाफदेहिता कायम गर्ने, शैक्षिक प्रणालीमा सुधार गर्ने रहेको छ । अध्ययनमा गणित र नेपाली दुबै विषयको औसत उपलब्धिलाई ५०० मा स्थापित गरेर हेर्दा ५०० भन्दा न्यून उपलब्धि हुने र ५०० भन्दा उच्च उपलब्धि हुने विद्यार्थी वा समूहको उपलब्धिलाई तुलना गरिएको छ ।

प्रदेशअनुसार सिकाइ
गणितमा २, ३, गण्डकी र सुदूर पश्चिम प्रदेश अगाडि छन् भने १, ६ र ५ पछाडि छन् । नेपालीमा १, ३ र गण्डकी, प्रदेश अगाडि छन् भने ६, सुदूरपश्चिम, ५ पछाडि छन् । यस भित्र पनि घरमा बोलिने भाषाका आधारमा सिकाइ उपलब्धि उच्च रहेको पाइएको छ । नेपाली भाषीको उपलब्धि उल्लेख्य रूपमा राम्रो छ । विद्यालयको प्रकार र सिकाइ उपलब्धि फरक फरक रहेको देखिएको छ । सामुदायिक विद्यालयको तुलनामा संस्थागत विद्यालयहरूको उपलब्धि राष्ट्रिय औसत भन्दा उच्च छ । आमाको शिक्षा र बच्चाको सिकाइसँगको सम्बन्ध धेरै रहेको देखिएको छ । यसमा आमाको पढाई जति धेरै हुन्छ, बच्चाको सिकाइ पनि सोही अनुसार वृद्धि भएको अध्ययनले देखाएको छ । बुबाको योग्यतासँग पनि यस्तै सम्बन्ध राखेको देखिन्छ । ११ र १२ वर्षका बालबालिकाको सिकाइ सबैभन्दा बढी छ ।

विद्यालय बाहिरको समय केमा बिताउँछन् ?
२ घण्टासम्म मनोरञ्जन, घरको काम वा खेलकुद जुनसुकै इच्छा अनुसारको कार्य गर्न अभिप्रेरित र छुट दिँदा बालबालिकाको पढाइ राम्रो भएको पाइएको छ । तर २ घण्टा बाहेकको समय पढाइमा नै नलाग्ने बालबालिकोको भने पढाइ बिग्रँदै गएको देखिन्छ । बुलिङ र सिकाइको सम्बन्धले जति धेरै बुलिङ– उति थोरै सिकाइ भन्ने शिक्षा दिएको छ ।

सामाजिक–आर्थिक अवस्था र सिकाइ
न्यून सामाजिक आर्थिक अवस्था भएपनि सिकाइ उच्च हुने सामुदायिक विद्यालय धेरै छन् । कमजोर सामाजिक आर्थिक अवस्था तर उच्च सिकाइ, उच्च सामाजिक यसको अर्थ आर्थिक अवस्था र उच्च सिकाइ भएको पाइएको छ । कमजोर सामाजिक आर्थिक अवस्था र कमजोर सिकाइ, उच्च सामाजिक आर्थिक अवस्था र कमजोर सिकाइ भन्ने बुझ्न सकिन्छ । गणितमा सामाजिक आर्थिक अवस्थाले सामान्य असर पारेको पाइयो । नेपालीमा यसको असर अझै बढी रहेको पाइयो ।

नेपालीमा उपलब्धिको प्रवृत्ति
तीनओटै विधिबाट उपलब्धि नघटेको र सकारात्मक दिशामा रहेको संकेत गरेको छ । तर उल्लेख्य रुपमा बढेको भने छैन । औसत कठिन स्तरको विश्लेषणबाट पनि यही कुरा देखियो तर यो सकारात्मक मान भएपनि फरक भने ज्यादै कम रहेको छ । बढेको सिकाइको मात्रालाई संख्यात्मक रूपमा व्यक्त गर्दा ०.०५५ । त्यसैले उपलब्धि घटेको छैन भन्ने निश्चित हो ।

प्रतिक्रिया दिनुहोस्