तामाकोसीको सवस्टेशन निर्माणमा ढिलाइ «

तामाकोसीको सवस्टेशन निर्माणमा ढिलाइ

दोलखा-माथिल्लो तामाकोसी जलविद्युत आयोजनाबाट उत्पादित बिजुली जोड्ने सवस्टेशन निर्माणमा ढिलाइ भएको छ । आयोजनाको लट–४ अन्तर्गतको भारतीय कम्पनी केइसी इन्टरनेसनल लिमिटेडले माथिल्लो तामाकोसी आयोजनाबाट उत्पादित विद्युत प्रसारणक गर्न आवश्यक सवस्टेशन निर्माणमा ढिला गरिरहेको हो ।
आयोजनाको प्रगति एक वर्षदेखि करिब ९८ प्रतिशत छ । आयोजनाबाट विद्युत उत्पादन हुनुभन्दा दुई महिनाअघि निर्माण सम्पन्न गरेर पनि परीक्षण गरिसक्नुपर्ने हो । भारतीय कम्पनीहरुले उनीहरुले पाएको काम ढिलाइ गरेका छन् ।
ठेकेदारले ढिलाइ गरिरहेको माथिल्लो तामाकोसी जलविद्युत आयोजनाका प्रवक्ता गणेश न्यौपानेले जानकारी दिए । ‘सब स्टेशन निर्माण नहुँदा पनि खिम्ती ढल्केबर प्रसारण लाइनमा सोझै जोड्न सकिन्छ’ उनले भने ‘सवस्टेशनकै कारण विद्युत खेर त जाँदैन ।’
आयोजनाबाट उत्पादित चार सय ५६ मेगावाट विद्युत सवस्टेशनमा जडान गरेर मात्र विभिन्न स्थानमा प्रसारण गर्न सकिन्छ । माथिल्लो तामाकोसीले ग्यास इन्सुलेटेड स्वीच (जीआईएस) प्रविधिबाट निर्माण गरिरहेको २२०-१३२ किलोभोल्ट क्षमताको सवस्टेशन यो नै नेपालको पहिलो हो । जीआईएस प्रविधिको सवस्टेशनमा सम्पूर्ण मेसिन तथा उपकरण घरभित्र लामो हलमा जडान गरी व्यवस्थित गरिन्छ । रामेछाप जिल्लाको मन्थली नगरपालिका–१३, फुलासीको १३९ रोपनी क्षेत्रफलमा निर्माणाधीन सवस्टेशनको लागत दुई अर्ब रुपैयाँ रहेको माथिल्लो तामाकोसी आयोजनाको इलेक्ट्रिकल महाशाखा प्रमुख पूर्णगोपाल रञ्जितले जानकारी दिए ।
आयोजनाको लट–४ अन्र्तगत गोगरदेखि खिम्तीसम्म ४७ किलोमिटर लामो २२० केभीको प्रसारण लाइन भारतको केइसी इन्टरनेशनल मिमिटेडमार्फत निर्माण गर्दैछ । सवस्टेशन निर्माणको जिम्मेवारी पनि केइसीलाई नै छ । आयोजना र कम्पनीबीच २०६९ पुस २६ ठेक्का सम्झौता गरेको छ । कम्पनीले २०७२ असारसम्म प्रसारण लाइन र सवस्टेशनको काम पूरा गर्ने सम्झौता गरेको थियो । प्रसारण लाइन र सवस्टेशनका लागि १ करोड ७९ लाख ४ हजार ८ सय ७२ अमेरिकी डलर र २५ करोड २५ लाख ५९ हजार ५ सय २० रुपैयाँ लागत सम्झौता छ । नेपाल विद्युत प्राधिकरणले न्यू खिम्ती सवस्टेशनका लागि जग्गा व्यवस्थापन गरिदिनु पर्ने भएतापनि प्राधिकरणले जग्गा व्यवस्थापन गर्न नसकेपछि अपर तामाकोसीकै पहलमा जग्गा व्यवस्थापन भएको हो । जग्गा व्यवस्थापन ढिला हुँदा २०७३ पुसबाट मात्र सवस्टेशन निर्माण सुरु भएको हो ।
पछिल्लो थपिएको म्याद अनुसार ठेकेदार कम्पनी केइसी इन्टरनेशनलले सवस्टेशनको निर्माण २०७६ माघ मसान्तसम्म सक्नुपर्ने सम्झौतामा उल्लेख छ । सवस्टेशनका लागि चाहिने विभिन्न मेसिनको ढुवानी कार्य ६५ प्रतिशत सम्पन्न भएको आयोजनाले जनाएको छ । निर्माणस्थलमा रहेका मेसिनको जडान कार्य भने करिब ३० प्रतिशतमात्र सम्पन्न भएको आयोजनाले जानकारी दिएको छ । माथिल्लो तामाकोसीबाट उत्पादित विद्युत सो सवस्टेशनमा जडान गर्ने छ । नेपाल विद्युत प्राधिरकणले खिम्ती र लिखु खोलामा निर्माणाधीन विद्युत आयोजनाबाट यही सवस्टेशनमा विद्युत जोडिने छ । यही सवस्टेशनबाट तराई र काठमाडौंसम्म विद्युत प्रसारण गर्ने लक्ष्य छ ।
केइसी इन्टरनेसनले नै निर्माण गरिरहेको २२०-१३२ केभीको डबल सर्किट प्रसारण लाइनको भने उल्लेख प्रगति हासिल गरेको महाशाखा प्रमुख रञ्जितले जानकारी दिए । लामाबगरको गोंगर खोलादेखि खिम्तीसम्मको ४७ किलोमिटर लामो प्रसारणलाइनको एक सय २७ वटा टावर निर्माण गरी ४२ किलोमिटर तार टाँग्ने कार्य सम्पन्न भइसकेको उनले जनाए । प्रसारणलाइन निर्माण कार्य करिब ९५ प्रतिशतभन्दा बढी सम्पन्न भएको छ । पेनस्टक पाइपको काममा ढिलाइ हुँदा विद्युत उत्पादनमा पनि ढिलाइ भएको छ । विद्युत उत्पादन हुँदा प्रसारण लाइन पूरा हुने छ । तर पावर हाउसमा विद्युत उत्पादन गर्ने उपकरण जडान पूरा भएको ८ महिना पूरा भएको छ । तर पेनस्टक पाइपको ठेक्का लिने कम्पनी र प्रसारण लाइन तथा सवस्टेशन निर्माण गर्ने कम्पनी दुवै भारतीय हुुन् । दुवैको ढिलाइले माथिल्लो तामाकोसीबाट विद्युत उत्पादन गर्ने समय डेढ वर्ष ढिला भइसकेको छ । यसबाट विद्युत उत्पादनबाट हुने आम्दानी १५ अर्ब बढी खेर गएको छ ।

 

प्रतिक्रिया दिनुहोस्