२ अर्बको खानेपानी आयोजनाको सम्झौता «

२ अर्बको खानेपानी आयोजनाको सम्झौता

काभ्रे-पाँचखाल उपत्यकाको खानेपानीका लागि २ अर्ब २४ करोड रुपैयाँको योजना सम्झौता भएको छ । कुल रकमको ५ प्रतिशत (११ करोड) उपभोक्ता, २५ प्रतिशत (५५ करोड २५ लाख) नगर विकास कोष र ७० प्रतिशत (१ अर्ब ५४ करोड ७० लाख) सरकारी अनुदानमा निर्माण हुनेछ । साना खानेपानी आयोजना, नगर विकास कोष, पाँचखाल नगरपालिका र उपभोक्त समितिबीच निर्माण योजना सम्झौता भएको हो । योजना सम्झौता भएको ३० महिनामा सक्नुपर्ने उल्लेख रहेको सुनकोशी पाँचखाल उपभोक्ता समितिका अध्यक्ष कुमार लामिछानेले जानकारी दिए ।
भुम्लु गाउँपालिकाको वडा नं १० दोलालघाट विमिरेमा प्रतिसेकेण्ड २ सय लिटरको दरले लिफ्टमार्फत पानी तानेर बितरण हुने समितिले जनाएको छ ।
५ हजार ९ सय घरधुरी रहेको पाँचखालमा प्रतिपरिवार १८ हजार रुपैयाँ उठाइएको थियो । पाँचखालमा भएका मुलहरु केही वर्ष अगाडिनै सुकिसकेको र विकल्पको रूपमा इनारको माध्यम अपनाएको थियो । तर अव्यवस्थित रूपमा बस्ती बढेपछि शुरू गरिएको बोरिङको स्रोत पनि भरपर्दो नभएकाले अवस्थामा दीर्घकालिन योजनाको तयारी गरेको पाँचखाल नगरका प्रमुख महेश खरेलले जानकारी दिए ।
सम्झौता कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटा, प्रदेश सभा सदस्य लक्ष्मण लम्साल, पाँचखाल नगरका प्रमुख महेश खरेल, आयोजना प्रमुख विद्या भट्टराई, नगर विकास कोषका प्रोजेक्ट कोअर्डिनेटर सुवास पन्त, उपभोक्ता समितिका अधयक्ष कुमार लामिछाने उपस्थित थिए ।
सम्झौताा कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले पाँचखालमा शुरु भएको खानेपानी आयोजना दक्षिण एसियाकै सबैभन्दा महत्वपूर्ण योजना रहेको बताए । उनले पानीको लागि धेरै अभाव भएको तेमालमा करिव अन्तिम चरणमा काम भएको, बनेपा, धुलिखेल र पनौतीसमेत तीन नगरलाई समेटेर बृहत खानेपानीको काम तीब्र गतिमा अगाडी बढेको बताए ।
कार्यक्रममा प्रदेश सांसद लक्ष्मण लम्सालले पाँचखाल नगरलाई सकारात्मक ढंगबाट अगाडी बढाउन सके नगरको विकास टाढा नभएको बताए । नगर प्रमुख महेश खरेलले पाँचखालमा शुरु भएको खानेपानी आयोजना कुनै पनि दल विशेष आयोजना नभई सामुहिक आयोजना भएको बताए । सबै पक्ष एक जुट भएर काम गर्दा जुनसुकै काम सफल हुने खरेलको भनाई छ ।

कपिल कोइराला

प्रतिक्रिया दिनुहोस्