Logo

दसैंमा उडेन जहाज यात्रुलाई समस्या

जुम्ला– चन्दननाथ नगरपालिका–५ निवासी वसन्ती कामी दसैं मनाउन नेपालगन्जबाट जुम्ला आउन एयरपोर्ट धाउँदा धाउँदा दुई हप्ता बित्यो । नेपाल एयरलाइन्सले कर्णालीका दुर्गम जिल्ला जुम्ला मुगु, डोल्पा र हुम्लामा हप्तामा चार दिन उडान गर्ने र विगतको भन्दा सहज हुने सास्ती नपाइने भनेपछि टिकट पाइने आशामा एयरपोर्ट धाइन् ।

आज हुन्छ भोलि हुन्छ भन्दै टारेपछि अन्तत: टिकट नपाएर वसन्तिसहित उनका १९ महिनाका छोरा कर्णाली राजमार्ग भएर जुम्ला पुगेकी छन् । जति फ्लाइट भए पनि जस्तो नियम लगाए पनि कर्णालीको हवाई सेवा सर्वसाधारणमुखी छैन । वसन्ती भन्छिन्, ‘टिकट पाइने आशामा डेढ हप्ता धाएँ । अन्तिम समयसम्म टिकट नपाएपछि बाध्य भएर सडक यातायात प्रयोग गरी आएँ । अघिपछि त सर्वसाधारणले टिकट पाउन मुस्किल हुने कर्णालीमा दसैं तिहारमा टिकट पाउने कुरा कल्पना बाहिर हो ।’

आफूमात्र नभई धाउँदा धाउँदा टिकट नपाएर सयाैं नागरिक यातायात प्रयोग गरेर आएको उनको भनाइ छ । वसन्ति मात्र हैनन् कर्णालीका जुम्ला, मुगु, हुम्ला, डोल्पाका सयौं पहुँचविहीन नागरिकले हप्ता दिन धाउँदा पनि टिकट पाउन सकेका छैनन् । सर्वसाधारण परै जावस जुम्लाकी सांसद कान्तिका सेजुवालले समेत केही समय अघि आफूले हवाई टिकट नपाएको गुनासो गरेकी थिइन् । नेपाल एयरलाइन्सले मात्रै अनलाइन टिकट वितरण गरेर सम्भव छैन ।

उनले भनिन्, ‘कर्णालीका दुर्गम जिल्लामा नेपाल एयरलाइन्सले दसैं उडान तालिका सार्वजनिक गरे पनि सर्वसाधारणले टिकट नपाएको गुनासो छ । केही समयअघि मैले जुम्ला जान खोज्दा पनि टिकट पाइन् । हवाई टिकटलाई सहज बनाउन मन्त्रालयको निर्णयले मात्र पुग्दैन । तलका एजेण्डसँग छलफल गर्न आवश्यक छ । अन्त बिजनेस नहुँदा मात्र कर्णालीमा उडान गर्ने निजी एयरलाइन्ससँग पनि छलफल गर्न जरुरी छ ।’

नेपालमा नेपाल एयरलाइन्सका दुईवटा मात्रै जहाज छन् । हामीले कर्णालीका लागि एउटा जहाज हुनुपर्छ भन्ने माग राख्दै आएका छौं । निजी एयरलाइन्स नाफामुखी छन् । हवाई सेवालाई सहज र नागरिकमुखी बनाउन पर्यटनमन्त्रीदेखि प्राधिकरणका डिजिसम्म हामी सबै सांसदको नियमित छलफल र पहल भइरहेको उनको भनाइ छ । नेपाल एयरलाइन्सले मात्र अनलाइन टिकट खोल्दा कर्णालीमा सहज यात्रा हुन्छ भन्ने सोच्नु भ्रम हो । कर्णालीको हवाई यात्रा सहज गर्न निजी एयरलाइन्सको मनपरि रोक्न सबै एकहुनु पर्नेमा सांसद सेजुवालको जोड छ ।

कर्णालीमा सहजै टिकट नपाउने कर्णालीको रोग हो । हवाई टिकटमा पहुँचवालाकै रजाइँ हुने गरेको छ । पर्यटमन्त्री सुदन किराँतीले हवाई क्षेत्रमा सुधार गर्ने प्रयास गरे पनि बिचौलिया र पहुँचवालाको मनपरिले सर्वसाधारणले सास्ती पाउने गरेका छन् । कर्णाली प्रदेशका दुर्गम जिल्लामा दसैं लक्षित उडान गर्ने भनिए पनि कार्यान्वयन नहुँदा नागरिकले सास्ती पाएका हुन् । कर्णाली प्रदेशका हिमाली जिल्लामा नेपाल वायुसेवा निगमको जहाज नेपाल एयरलाइन्सले उडान विस्तार गर्ने कार्य कागजमै सीमित भएको छ ।

नेपालीहरूको महान चाड दसैंमा यात्रुहरूलाई सहज रूपमा आफ्नो गन्तव्यमा पुर्‍याउनका लागि नेपाल एयरलाइन्सले उडान सहज गर्ने, हप्तामा चार दिन उडान भर्ने दसैं उडान तालिका सार्वजनिक गरे पनि कार्यान्वयनमा आउन सकेको छैन । नेपाल एयरलाइन्सले हुम्लामा गत आइतबारबाट साताको चारवटा उडान सुरु गर्ने तालिका सार्वजनिक गरे पनि यसबीचमा एक मात्र उडान भएको छ । यसअघि हुम्लाका लागि हप्तामा दुई उडान तालिका भए पनि त्यो नियमित थिएन ।

साविक कर्णालीका कालिकोटबाहेक चार जिल्लाका लागि उडान कार्य तालिकामा आइतबार, सोमबार, बिहीबार र शुक्रबार नेपाल एयरलाइन्सले उडान गर्ने भनिएको थियो । तर त्यो सामाजिक सञ्जालमा भनिएजस्तो सर्वसाधारणका लागि कार्यान्वयन हुन सकेको छैन । पर्यटनमन्त्री सुदन किराँतीले निकै हल्लाखल्ला गरी कर्णालीका हिमाली जिल्लामा दसैंका लागि थप उडान हुने, विगतको जस्तो सर्वसाधारणले सास्ती नपाउने कुरा गरे पनि कागजमा मात्र सीमित भएको कर्णालीबासीको गुनासो छ ।

दसैंको अवसरमा मुगुमा मंगलबारदेखि शुक्रबारसम्म चार दिन नियमित उडान हुने नेपाल एयरलाइन्सले तालिका निकालेको भए पनि मुगुमा पनि एउटा मात्र उडान भएको छ । मुगुको ताल्चाका लागि यसअघि पनि हप्तामा दुई उडान तालिका थिए तर त्यो नियमित हुन सकेको थिएन । कर्णालीकै हिमाली जिल्ला डोल्पा र जुम्लामा पनि हप्तामा चार उडान हुने तालिका भए पनि सर्वसाधारणले टिकट नपाउँदा सास्ती ज्यूँकात्यूँ छन् ।

दसैं–तिहारजस्ता ठूला चाडपर्वमा दुर्गमका जिल्लामा जान यात्रुहरूले दु:ख पाउने भएकाले सहजताका लागि संस्कृति पर्यटन तथा नागरिक मन्त्रालयको निर्देशनअनुसार थप उडान राखिएको तालिका कागजमै सीमित भएको छ । यसका लागि नेपाल एयरलाइन्सको हवाइ टिकट अनलाइन र सम्बन्धित कार्यालयमा पुगेर लिन सकिने क्षेत्रीय कार्यालय नेपालगन्जले जनाएको भए पनि जहाज नियमित नहुँदा सो एयरलाइन्सप्रति यात्रुको विश्वास घटेको छ ।

प्रतिक्रिया दिनुहोस्