Logo

भारत गएकालाई घर फर्किनै गाह्रो

धनगढी– घर गुजारा चलाउने उद्देश्यले कमाउन भारत जानेहरू यतिबेला दसैं मनाउन लस्करै लागेर घर फर्किंदै छन् । तर सिमानामा भारतीय सीमा सुरक्षा बलले दु:ख दिनुका साथै भारतीय रुपैयाँ नचलेपछि घर फर्किनेलाई निकै तनाव हुने गरेको छ ।

नेपाल राष्ट्र बैंकले पाँच सय र एक हजार दरका भारतीय नोट चलनचल्ती नगर्ने सार्वजनिक सूचना जारी गरेकाले भारतबाट ल्याएको सो रकम नचलेपछि फर्किनेहरूलाई तनाव हुने गरेको छ । नेपालमा भारतीय रुपैयाँ एक सय वा सोभन्दा साना दरका नोटमात्र चलनचल्तीमा छ । यसको फाइदा भारतीय बजारका भारतीयले लिइरहेका छन् । भारतको सिम्लाबाट घर फर्किंदै गरेको लम्की चुहानगरपालिका–६ का हरिश खत्रीले दुई लाख भारु रकम २० हजार रुपैयाँ सीमानाका भारतीय व्यापारीलाई दिएर नेपाली नोट लिए ।

सरकारको विनियम दरमा नेपालमा एक रुपैयाँ भारतीय रुपैयाँ (भारु)को एक रुपैयाँ ६० पैसा पर्छ । उनले १० प्रतिशतसम्म कमिसन दिएर भारु नेपाली नोट साटेका हुन् । नेपालमा भारतीय रुपैयाँ नचल्ने भएका कारण बाध्य भएर विचौलियालाई १० देखि १५ प्रतिशत कमिसन लिएर भारु नोट साटिदिने गरेको लम्कीका जनकबहादुर शाहीले बताए । ‘भारु नोट सिमानाबाटै साट्नै पर्ने बाध्यता छ,’ उनले भने, ‘त्यहाँ नसाटे नेपालमा चल्दैन । सटही काउन्टरहरूले पनि भारतीय नोट लिने गरेका छैनन् ।’

अहिले भारतीय बजारमा मात्र नभई नेपाली बजारमा भारु रकम सटहीमा अचाक्ली कमिसन लिने गरिएको छ । उपचारका क्रममा भारत जाँदै गरेका दिलिप गौतमले नेपाली बजारमा भारतीय रुपैयाँ सस्तिएको जस्तो भएको बताए । उनले उपचारका क्रममा भारत जाने क्रममा २५ हजार सटही गर्दा दुई हजार पाँच सय तिरेको बताए । नेपालमा विनियम दरभन्दा कममा भारतीय रकम सटही हुँदासमेत नेपाल राष्ट्र बैंक सुदूरपश्चिम प्रदेश कार्यालयले बजार अनुगमनमा चासो दिएको छैन । प्रशासनसमेत यो विषयमा मौन छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) कुलदिप चन्दले सीमावर्ती क्षेत्रमा भारतीय रुपैयाँ सटहीको दुई पक्षको आपसी सम्झदारीको विषय भएको बताए । तर भारतबाट फर्किरहेका नेपालीलाई खल्तीमा नगद बोकेर नआउन र सकभर भारतबाटै नेपालमा रहेका आफन्तको खातामा जम्मा गर्न आग्रह गरे । ‘यो कुरा दुईपक्षको आपसी सहमतिमा हुने होला । हामीकहाँ त्यसरी कसैले पनि उजुरी वा गुनासो गर्नु भएको छैन,’ डीएसपीचन्दले भने, ‘तर दसैँ मनाउन भारतबाट फर्किने दाजुभाइलाई सकभर नगद नल्याउन आग्रह गर्छौं । उतैबाट आईएमई गर्नुहोस् । ल्याउनै परेमा मनी एक्सचेन्ज सेन्टरमा गएर साट्नुस् ।’

कैलालीका प्रमुख जिल्ला अधिकारी युवराज कटेलले दसैं मनाउन घर फर्किने मजदुरबाट नोट सटहीका नाममा चर्को रकम लिएको विषयमा प्रशासनको गम्भीर ध्यानाकर्षण भएको बताए । उनले नेपाल राष्ट्र बैंकमा गएर भारतीय रुपैयाँ साट्न सकिने भएकाले सबैलाई विचौलियासँग कुनै खालको कारोबार नगर्नसमेत अनुरोध गरेका छन् । गौरिफण्टा नाकामा सशस्त्र प्रहरी बलभन्दा पनि भारतीय सीमा सुरक्षा बलबाट प्रवेशमा अनावश्यक दु:ख दिएको खत्रीले बताए ।

‘गौरिफण्टा नाकामा चेकिङका नाममा भारतीय एसएसबीले अनावश्यक केरकार गरेर दु:ख दियो,’ उनले भने, ‘हामीले भारत आउँदा जाँदा कहिलेसम्म उनीहरुले दिने सास्ती खेप्नुपर्ने हो ?’ भारतबाट नेपाल प्रवेश गर्ने नेपालीले अनिवार्य नागरिकता देखाउनुपर्ने प्रावधान छ । उनले भने, ‘कतिपयले नागरिकता लिएका हुँदैनन् । तिनीहरूलाई त्यहीं भारतीय सुरक्षाकर्मीले रोक्छन् । के आफ्नै देशमा फर्कन पनि नपाउने हो ?’

दार्चुलाको शैल्यशिखर नगरपालिका–३ का मनोज धामीले गुनासो गरे भारतको सीमावर्ती बजार वनगाउँदेखि गौरिफन्टा नाकासम्म अनेक बहानामा ठग्ने, दु:ख दिने र चर्को भाडा असुल्ने गरेको बताए । ‘म विगत पाँच वर्षदेखि भारतको दिल्लीमा एउटा होटलमा काम गर्दै आएको छु,’ उनले भने । भारत जाने फर्किने नेपालीलाई सहयोग गर्न सिमानामा नेपाल प्रहरीले कैलालीको १० स्थानमा सहायता कक्ष स्थापना गरेको छ । तर, ती सहायता कक्षले समेत कुनै सहयोग नगर्ने गरेको दसैंमा घर फर्किनेले बताए ।

भारतबाट दसैं मनाउन घर फर्किरहेका धामीले त्रिनगर नाकादेखि चौराहा पुग्दा अटो रिक्साले मनोमानी ढंगले भाडा असुल गरिरहेको बताए । उनले सहायता कक्षमा गुनासो गर्दा पनि कुनै सुनुवाइ नभएको बताए । त्रिनगर नाकादेखि चौराहासम्मको अटो भाडा २५ रुपैयाँ भए पनि एक सयदेखि डेढ सय रुपैयाँ तिर्न परेको उनले बताए । धनगढीबाट पहाडी रुटमा चल्ने बसले समेत तोकिएको भन्दा बढी भाडा तिर्न परेको दसैंमा घर फर्कने यात्रुको गुनासो छ । त्यसमा पनि भारतबाट फर्किएकाबाट बसहरूले तोकिएको भाडा दरभन्दा बढी असुल गरिरहेको धामीले बताए ।

प्रतिक्रिया दिनुहोस्