‘हाईड्रो हब’ बन्दै नारच्याङ «

‘हाईड्रो हब’ बन्दै नारच्याङ

म्याग्दी-कृषि, पर्यटन र जलविद्युतमा प्रचुर सम्भावना म्याग्दीमा छ । अन्नपूर्ण गाउँपालिका –४ नारच्याङमा १० वटा जलविद्युत आयोजना सञ्चालित छन् । राउण्ड अन्नपूर्ण पदमार्गअन्र्तगत पर्ने नारच्याङ दर्जनौ हिमश्रृखला, मगर समुदायको कला संस्कृति, नारच्याङ छहरासँगै अन्नपूर्ण प्रथमको आधार शिविर र जलविद्युत आयोजनाहरू भित्रिएसँगै गाउँ हाइड्रो भिलेजको रूपमा चिनिएको हो ।
नारच्याङमा वि. सं. २०४३ मा निर्माण शुरु भएर २०४४ देखि जिल्लामै पहिलो पटक विद्युत वितरण थालिएको २ मेगावाट क्षमताको तातोपानी जलविद्युत आयोजनाले जिल्लामै जलविद्युतको सम्भावनाको ढोका खोलेको थियो ।
अन्नपूर्ण साउथबाट बग्ने घलेम्दी, निलगिरी हिमालबाट बाग्ने निलगिरी अर्थात मिस्ती र खयरवराह तालबाट बग्ने रेले खोला तथा कालीगण्डकी नदीबाट विद्युत उत्पादनका लागि अहिलेसम्म नारच्याङ्गमा मात्रै करिब २९० मेगावाट क्षमताको १० वटा जलविद्युत आयोजना दर्ता भइसकेका छन् ।
अहिल्य गाउँमा भित्रिएका जलविद्युत आयोजनामध्ये ५ मेगावाट क्षमताको घलेम्दीखोला उत्पादनको अन्तिम चरणमा छ । भने ४२ मेगावाट क्षमताको मिस्तीखोला जलविद्युत आयोजनाले सुरूङ निर्माणको काम पूरा गरेको छ भने अन्य पूर्वाधार निर्माण भइरहेका छन् ।
३८ मेगावाटको निलगिरी, ६२ मेगावाटको निलगिरी क्यास्केट, १० मेगावाटको रेलेखोला जलविद्युत आयोजना नारच्याङमा १० मेगावाट क्षमताको माथिल्लो घलेम्दी, ५ मेगावाटको निलगिरी माथिल्लो, ५० मेगावाटको मध्य कालिगण्डकी जलविद्युत आयोजनाले नारच्याङ हाइड्रो भिलेजको सम्भावना उजागर गरेको हो ।
जलविद्युत आयोजनाहरूको निर्माण हुन थालेपछि गाउँको सामाजिक तथा भौतिक पूर्वाधार विकासले समेत गति लिएको छ । कालीगण्डकी, म्याग्दी र राहुघाट नदीका साथै अन्य सहायक खोलानालालाई जलविद्युतको क्षेत्रमा प्रयोग गर्दै जिल्लालाई मुलुककै ‘हाईड्रो हब’ बनाउने संकल्प गरिसकेको अवस्थामा नारच्याङमा दर्ता भएका जलविद्युत आयोजनाले जिल्लाको सकारात्मक सन्देश प्रवाह गरेको छ ।
स्थानीय स्तरमा उत्पादन हुने विद्युतलाई राष्ट्रिय प्रशारण लाइनमा जोड्नका लागि म्याग्दीको दाना र पर्वतको खुर्कोटमा २२० केभी क्षमताको सवस्टेशन तथा ३८ किलोमिटर दुरीको दाना–खुर्कोट प्रशारण लाइन निर्माण कार्यले तिव्रता पाएको छ ।
जलविद्युत आयोजनाहरुले स्थानीयलाई रोजगारी र लगानीका अवसर सृजना गर्ने र दीर्घकालिन रुपमा समेत यसले गाउँको विकासमा सघाउने भएकाले स्थानीयस्तरबाट समेत जलविद्युतको विकासको लागि आवश्यक वातावरण तयारमा सहजता देखाएको वडा अध्यक्ष चन्द्रप्रकाश फगामीले बताए ।
नारच्याङमा भित्रिएका जलविद्युत आयोजनाहरुले रोजगारी र लगानीको अवसर मात्रै नभई स्थानीय विद्यालयहरूको पूर्वाधार विकास र सामाजिक कामहरूमा गाउँलेलाई प्रत्यक्ष राहत मिलेको छ ।
समयमै आयोजनाहरु निर्माण भयो भने नारच्याङ जलविद्युत गाउँको रूपमा मात्रै विकसित हुनेछैन् । यसले समग्र अन्नपूर्ण गाउँपालिका, म्याग्दी जिल्ला र प्रदेश नम्बर ४ कै अर्थतन्त्रमा योगदान पु-याउदै देशको लोडसेडिङ हटाउने सरकारको अभियानमा समेत टेवा पुग्ने छ ।

प्रतिक्रिया दिनुहोस्