बैंकर्स संघको सहकार्य

काठमाडौं– नेपाल बैंकर्स संघले वित्तीय साक्षरताका लागि फाइनान्सियल लिटरेसी नेपालसँग सहकार्य गर्ने भएको छ । जसका लागि संघ र लिटरेसी नेपालबीच बिहीबार वित्तीय साक्षरता सम्बन्धी सहकार्य गर्नेबारे समझदारी पत्रमा हस्ताक्षर भएको हो ।
नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर चिरञ्जीवी नेपालको उपस्तिथिमा भएको कार्यक्रममा फाइनान्सियल लिटरेसी नेपालको तर्फबाट भुवन दाहाल, निरज गिरी, रमेश शर्मा तथा बैंकर्स संघका तर्फबाट सुनिल के.सी. र अनिल शर्मा उपस्थित थिए । सम्झौता पत्रमा संघका कार्यकारी निर्देशक अनिल शर्मा तथा फाइनान्सियल लिटरेसी नेपालका तर्फबाट मुख्य प्रबन्धक रमेश शर्माले हस्ताक्षर गरे ।
समझदारी अनुसार बैंकर्स संघ र फाइनान्सियल लिटरेसी नेपालले संयुक्त रुपमा विभिन्न प्रदेशहरूमा वित्तीय साक्षरता सम्बन्धी कार्यक्रमहरू सञ्चालन गर्नेछन् । समारोहमा पूर्व गभर्नर नेपालले दुवै संस्था मिलेर वित्तीय साक्षरताका कार्यक्रमहरू अगाडि बढाउँदा थप प्रभावकारी हुने बताए । उनले आगामी दिनहरूमा यसले सार्थक भूमिका खेल्ने आशा व्यक्त गर्दै सफलताका लागि शुभकामना व्यक्त गरे ।
यसै गरी संघका अध्यक्ष सुनिल के.सी.ले यो सम्झौताले वित्तीय साक्षरता तथा बैंकिंङ प्रवर्धनमा सकारात्मक परिवर्तन ल्याउने अपेक्षा व्यक्त गरे । फाइनान्सियल लिटरेसी नेपालका अध्यक्ष भुवन दाहालले यस सम्झौताअनुसार संयुक्त रुपमा विभिन्न प्रदेशहरूमा वित्तीय साक्षरता सम्बन्धी कार्यक्रमहरू सञ्चालन गरिने बताए ।