Logo

पर्वतमा २० करोडको एडभेन्चर रिसोर्ट खुल्दै

पर्वत– सुपरम्यान शैलीमा विश्वकै दोस्रो लामो दाबी गरिएको जिपलाइन सञ्चालनमा ल्याएको द हार्नेस प्रालिले कालीगण्डकी नदी किनारमा निर्माण गरेको एडभेन्चर रिसोर्ट सञ्चालनमा आउन लागेको छ ।

२० करोड रुपैयाँ लगानीमा कुश्मा नगरपालिका–४ अर्मादी नजिकै साउने बगरमा कालीगण्डकी नदीको किनारमा करिब १६ रोपनी क्षेत्रफलमा निर्माण भएको रिसोर्टको सबै तयारी पूरा भएसँगै दशैं अगाडि नै औपचारिक रूपमा सञ्चालनमा ल्याउने तयारी भइरहेको कम्पनीका अध्यक्ष सुनिल बानियाँले बताए । कुश्मा बजारमा रहेको जिपलाइनमा कालीगण्डकी नदीलाई दुई पटक पार गर्दै डेढ किलोमिटरभन्दा बढी दूरी पार गरेपछि रिसोर्ट जान सक्ने निर्माण गरिएको छ ।

साहसिक पर्यटनको जिल्लाको रूपमा विकास भइरहेको पर्वतमा साहसिक खेल र पर्यटनमा रमाउनेहरू तथा पोखराबाट सडक मार्ग हुँदै अर्को पर्यटकीय जिल्ला मुस्ताङ आउजाउ गर्ने पर्यटकहरूलाई ध्यानमा राखेर मध्यपहाडी लोकमार्ग नजिकै रिसोर्ट निर्माण भएको छ । स्विमिङ पुल, साउना स्टीम, नेपालमा नै पहिलो पटक ‘इग्लू रुम’, कालीगण्डकीमा र्‍याफ्टिङ, बाल उद्यान, स्नुकर, बिच भलिबल, मट्टी थेरापी लगायतका सुविधासहित रिसोर्ट निर्माण भएको अध्यक्ष बानियाँले बताए । रिसोर्टमा कार्यक्रम सञ्चालन गर्नको लागि बनेको हललगायतका टेन्ट रुमहरू पनि धौलागिरिमा पहिलो पटक बनेको उनको दाबी छ । सेमिनार हलमा करिब तीन सय जनासहित टेन्टसहितका कोठाहरूमा एक रातमा ३० जनासम्म राख्न सक्ने क्षमता तत्कालका लागि निर्माण गरिएको छ ।

‘हामीले पाहुनाको माग आउन सक्छ भन्नेबारेमा पहिले नै सोचेर त्यही अनुसारको व्यवस्थापन गरेका छौं । एडभेन्चरमा रमाउन चाहनेहरूका लागि जिपलाइन गरेर रिसोर्टमा पुगेर आनन्द लिने, खेल्ने, रमाउने कुराले पर्यटकलाई आकर्षित गर्नेछ,’ उनले भने, ‘यही बाटो हुँदै सयौं पर्यटक मुस्ताङ आउजाउ गरिरहेका हुन्छन् । तर, उनीहरूले कुश्मामा एक रात पनि बिताएको खासै देखिएको छैन । सुलभ मूल्यमा प्याकेजसहितका साहसिक मनोरञ्जनले ती पर्यटकहरूलाई कुश्मामा रोक्न सक्छन् भन्ने हाम्रो विश्वास छ ।’

अर्कोतर्फ मुस्ताङ जाने धार्मिक पर्यटकहरूका लागि पनि रिसोर्ट उत्तम विकल्प हुने बानियाँको भनाइ छ । काठमाडौं वा देशका अन्य सहरबाट मुस्ताङ आउनेहरू एकै दिनमा पुग्न नसक्ने भएकाले एक रातको बसाइका लागि पनि रिसोर्ट उत्तम हुने सञ्चालकहरू बताउँछन् । मुस्ताङ–पोखरा सडक खण्ड अन्तर्गत जाने मध्य पहाडी लोकमार्ग नजिकै रहनु र रिसोर्ट कालीगण्डकी नदी किनारमै रहेका कारण पनि धार्मिक पर्यटकहरु पर्वतमा आकर्षित हुन सक्ने अपेक्षा गरिएको छ । रिसोर्टमा तयार पारिएका कोठा र टेन्टबाट सिधै कालीगण्डकी नदी अवलोकन गर्न सक्ने गरी व्यवस्थापन गरिएकाले पनि पर्यटकहरु पवित्र कालीगण्डकीमा रमाउन सक्ने छन् ।

जिपलाइन र रिसोर्टमा गरेर झन्डै २० करोड रुपैयाँ लगानी भइसकेकाले आफूहरूको अबको गन्तव्य भनेकै पर्यटकलाई आकर्षित गर्दै कुश्मा बजारलाई चलायमान बनाउनु रहेको अध्यक्ष बानियाँ बताउँछन् । कम्पनीले स्थानीय खानाका परिकार, स्थानीय उत्पादनलाई प्राथमिकतामा राखेर रिसोर्टको आकर्षक खाद्यवस्तुका रूपमा राख्ने तयारी छ ।

रिसोर्ट सञ्चालकहरूका लागि आम्दानीको स्रोत मात्र नभई पर्वतलाई नै आर्थिक रूपमा चलायमान बनाउने एउटा साधन हुने अध्यक्ष बानियाँले बताए । जिपलाइन र रिसोर्टमा गरेर करिब ८०–९० जनालाई रोजगारी दिइने बताउँदै उनले हाल देखिएको बेरोजगारी समस्या समाधानमा पनि आफूहरूको योगदान रहने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्