Logo

७० रोपनी पाखो जमिनमा ‘एग्रो फरेस्ट्री एण्ड रिसर्च सेन्टर’

तनहुँ– तनहुँको व्यास नगरपालिका–१२ फुर्लुङस्थित पाखो बारी एग्रो फरेस्ट्री एण्ड रिसर्च सेन्टरको रुपमा विकसित भएको छ ।

प्रयोग नभई बसेको पाखो बारी एग्रो फरेस्ट्री एण्ड रिसर्च सेन्टरको रुपमा विकसित भएको हो । काठमाडौं रानीबारी निवासी पारस शाक्यले वि.सं २०७८ सालदेखि उक्त ठाउँमा आहाना एग्रो फरेस्ट्री एण्ड रिसर्च सेन्टर सुरु गरेका हुन् । ७० रोपनी पाखो जमिन वार्षिक एक लाख भाडा तिर्ने गरी शाक्यले दुई करोड ५० लाखको लागतमा रिसर्च सेन्टर सञ्चालन गरिरहेका छन् ।

रिसर्च सेन्टरबाट भएको आम्दानीले स्थानीय गरिब, दलित र पिछडिएको समुदायलाई सहयोग गर्ने लक्ष्य राखिएको उनले बताए । रिसर्च सेन्टरबाट स्थानीय बाख्रा तथा कुखुराको अध्ययन अनुसन्धान गर्ने र स्थानीयबासीले पालेका पशुजन्य उपजको नश्लसुधार, उत्पादन र उत्पादकत्व वृद्धि गरी बजारीकरणमा टेवा पुर्‍याउनु लक्ष्य लिइएको उनको भनाइ छ ।

यहाँ एक करोडको लागतमा सुधारिएको बाख्राको खोर दुई वटा र ७५ लाखको लागतमा स्थानीय कुखुरा पालन गर्न खोर निर्माण गरिएको रिसर्च सेन्टरका लेखा तथा वित्तीय प्रमुख प्रविण अग्रवालले बताए । यसमा मेघा बैंकको ६० प्रतिशत ऋण लगानी रहेको छ । यहाँ ९० मिटर लम्बाइ र २८ मिटर चौडाइ भएको खोरमा १० वटा कोठा रहेका छन् ।

उक्त खोरमा माउँ बाख्रा, पठ्याङ्ग्री, गर्भवती बाख्रा, बिरामी र खसी बोका छुट्टाछुट्टै राख्ने गरिएको छ । ठूलो खोरमा पाँच सय र सानो खोरमा तीन सय बाख्रा अटाउने दुई वटा खोर निर्माण गरिएको छ । सेन्टरमा हाल जमुनापारि, बोयर र स्थानीय खरिजातका ६० वटा माउ बाख्रा, पठ्याङ्ग्री १५०, खसी बोका १५० र उन्नत जातका व्याड बोका तीन गरी ३६३ वटा बाख्रा रहेका छन् ।

त्यस्तै ७५ लाखको लागतमा दुई वटा कुखुराको खोरसमेत निर्माण गरी कुखुरापालन सुरु गरिएको छ । सोही रिसर्च सेन्टरमा आठ हजार क्षमताको लोकल कुखुराको खोर निर्माण गरिएको छ । उक्त खोरमा तीन हजार पाँच सय कुखुरा पालन गरिएको छ । रिसर्च सेन्टरले स्थानीय ६ जनालाई रोजगारी दिएको छ । रिसर्च सेन्टरमा एक व्यवस्थापक, एक बजार प्रतिनिधि र चार जना हेरालु छन् । बाख्रा र कुखुराको स्वास्थ्य परीक्षणका लागि हप्तामा एक दिन पशु चिकित्सकबाट स्वास्थ्य परीक्षण गर्ने व्यवस्था गरिएको छ ।

सेन्टर सञ्चालनका लागि आहारव्यहार र स्याहार सुसार, उपचार र कर्मचारी र कामदारको पारिश्रमिकमा मासिक तीन लाख २० हजार खर्च हुने गरेको प्रबन्धक सुदर्शन अधिकारीले जानकारी दिए । यहाँबाट स्थानीय कुखुरा जिउँदो भाले सात सय प्रतिकेजी र पोथी पाँच सयमा बिक्री गरिएको छ । खसी जिउँदो प्रति केजी ५५० मा बिक्री गरिएको छ ।

उनले भने, ‘गत वर्ष खसीबोका, स्थानीय कुखुरा र केरा बिक्रीबाट २४ लाख आम्दानी भयो, हामी अहिले लगानीको अवस्थामा छौं ।’ सेन्टरले उत्पादन गरेको जैविक मल स्थानीय किसानलाई उपलब्ध गराउने र स्थानीय किसानबाट मौसमी तथा बेमौसमी घाँस खरिद गर्ने गरिएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्