अम्बोटेको गुरुङ होमस्टेमा रैथाने खाना

धादिङ– भूकम्पले ढलाएका घरहरु पुनर्निर्माण भएसँगै चिटिक्क परेका छन् । भूकम्पले ढलाउन नसकेका ढुंगा माटोले बनाइएका पुरानो घरलाई लिपपोत गरी चिटिक्क पारिएका छन् । हेर्दा एकै किसिमका जस्तो लाग्ने घरहरु सफा, चिटिक्क छन् ।
घरका आँगन र गोरेटो बाटोमा ढुंगा छापिएकोले बस्तीमा मौलिकता देखिन्छ । गाउँका सबै घरलाई जोड्ने एउटै बाटो छ । बाटोका छेउछाउमा रंगीविरंगी प्रजातिका फूल ढकमक्क फुलेका छन् । जिल्लाको उत्तरी क्षेत्रमा पर्ने गंगाजमुना गाउँपालिका–३ अम्बोटेमा रहेको गुरुङ गाउँ नमूनाको घरबास (होमस्टे) ले अहिले पर्यटकलाई लोभ्याइ रहेको छ । आन्तरिक पर्यटकको रोजाइमा परेको छ ।
‘जवानीमा लाहुर हिडेका लहुर छोडर गाउँ फर्किएपछि १६ घर परिवार मिलेर घरवास (होमस्टे) बनायौं’ स्थानीय रुपा गुरुङले भने, ‘होमस्टे बनेपछि गाउँमाआउने आन्तरिक पर्यटक बढ्न थालेको छ ।’ टाढाका मानिस पनि गाउँमा आइपुग्छन् । स्थानीय तहको संरचनापछि गाउँमा चहलपहल हुन थाल्यो । गाँउमा आउने पाहुनालाई रैथाने खानेकुराको स्वाद चखाउन गाउँमा होमस्टे सञ्चालन गरेको स्थानीय बताउँछन् ।
गुरुङ समुदाय मात्रले सुरु गरेको होमस्टेमा अरु ठाँउका भन्दा फरक छन् । पाहुनालाई फलपूmल, खाना र परम्परागत तरिकाले बनाएको घरेलु मदिरासमेत पाहुनालाई खुवान्छ । पछिल्लो समय शहर बजारका होटल तथा रिसोर्टमा भन्दा पर्यटकको रोजाइमा गाउँका होमस्टे पर्न थालेका छन् । गाउँका रैथाने खानेकुरा, विभिन्न जातजातिका कला, संस्कृति, भेषभुषा परम्परा, रीतिरिवाज पर्यटकको रोजाई बनेको छ ।
होमस्टेलाई व्यवसायका रुपमा सञ्चालन गर्दा ग्रामीण भेगमा आर्थिक तथा सांस्कृतिक रुपान्तरण र पुस्तान्तरणमा टेवा पुगेको गुरुङ होमस्टे पुगेका नेपाल पत्रकार महासंघ धादिङका अध्यक्ष राजाराम शर्माले बताए । पछिल्लो समय मानिसहरु शहर तथा विदेश केन्द्रित भइरहँदा होमस्टेले एक पटक गाउँ पुगौं न भन्ने वातावरण बनेको छ ।
जो होमस्टे पुग्छन्, उनीहरुले वास्तविक गाउँले जीवनलाई राम्रोसँग बुझ्न, विभिन्न जातिजातिको संस्कृति र पहिचान थाहा पाउन तथा अर्गानिक उत्पादनको स्वाद लिन पाउँछन् । यसले स्थानीयको आर्थिक अवस्था सुधारसँगै गाउँकै विकासमा पनि सहयोग पुग्ने अध्यक्ष शर्माले बताए । होमस्टे सञ्चालित घरहरुका करेसामा कागती, अब्बा, भोगटे, कफीलगायतका फलफूल छन् ।
मौसमअनुसारका फलफूल सबै घरका करेसामा पाइन्छ । वातावरण हेरेर पर्यटक रम्ने गरेका छन् । पाहुनाको मनोरञ्जनका लागि स्थानीय महिला र पुरुषले गाउने घाटु, चुड्का र दोहोरी गुरुङ गाउँ नमुना होमस्टेको अर्काे विशेषता हो । देशविदेश घुमेर आफ्नो पुख्यौली थलो फर्किएका लाहुरेले सुरु गरेको सरसफाई अभियान पछिल्लो समय होमस्टेको रुपमा परिणत भएको स्थानीय यतनबहादुर गुरुङले बताए ।
‘गुरुङ समुदायको आत्मीयता, एकता, संस्कार र संस्कृति देश विदेशमा चिनाउने लक्ष्य छ’ उनले भने, ‘मेहनत गर्दै छौं, भविष्यमा अझै राम्रो बनाउने योजनासहित अघि बढेका छौं ।’ स्थानीय सरकार पनि गुरुङ होमस्टेको प्रचार र प्रवद्र्धनमा सकारात्मक छ । सेवा सुविधा र विभिन्न कारण गाउँ बवस्ती खाली हुने क्रम बढ्दै गर्दा गाउँमा पर्यटक भित्र्याउने कार्यमा वडा र पालिकाबाट सक्दो सहयोग गरिरहेको गंगाजमुना गाउँपालिका–३ का वडा अध्यक्ष राजकुमार गुरुङले बताए ।
होमस्टेमा खान र बस्नका लागि मात्र नभई कृषि उत्पादन र आन्तरिक तथा बाह्य विद्यार्थीको सिकाई केन्द्र बनाउने लक्ष्यसहित स्थानीय सरकार अघि बढेको वडा अध्यक्ष गुरुङले बताए । पछिल्ला पुस्ताले होमस्टेलाई जिविकोपार्जनको माध्यम बनाउने गरी दीर्घकालीन योजना बनाएर अघि बढ्ने गाउँपालिकाका अध्यक्ष भक्तबहादुर लामाले बताए ।
‘गुरुङ समुदायले सुरु गरेको होमस्टे प्रवद्र्धन गर्न प्रदेश सरकार, संघीय सरकारसँग पनि सहयोगको पहल गरिहेका छौं’ उनले भने, ‘गाउँको विकासमा होमस्टेले पनि ठूलो सहयोग पुग्ने देखिन्छ । पर्यटकीय सम्भावना बोकेको होमस्टेको लोकप्रियतालाई हेरेर पर्यटनसँग गाउँपालिकालाई जोड्ने नीति लिएका छौं ।’ सदरमुकाम धादिङबेसीदेखि ३५ किलोमिटर उत्तरमा साबिकको गुम्दीमा रहेको अम्बोटे गाउँ होमस्टे सञ्चालनसँगै चर्चामा छ ।