Logo

परियोजना मर्मतपछि लुलाङमा बिजुली

म्याग्दी– तीन महिनापछि धवलागिरि गाउँपालिका–२ मा बिजुली बलेको छ । मरेनीको फेदीमा रहेको ३५ किलोवाट क्षमताको दरखोला दोस्रो लघुजलविद्युत परियोजनाको विद्युतगृह असार २७ गते पहिरोले क्षति पुर्‍याएको थियो । विद्युतगृह बगाएपछि लुलाङ, खोरिया, लमसुङ र मेरेनीका करिब चार सय परिवार अन्धकारमा थिए ।

परियोजनाको मर्मत गरेर तीन महिनापछि मंगलबारदेखि विद्युत आपूर्ति भएको लमसुङका भक्त सिंकिजा पुनले जानकारी दिए । उनले परियोजना मर्मत गरेर विद्युत आपूर्ति सञ्चालन भएपछि जनजीवन सहज भएको बताए । दरखोला दोस्रो लघुजलविद्युत परियोजना मर्मतका लागि धवलागिरि गाउँपालिकाले पाँच लाख ५० हजार र जिल्ला समन्वय समितिले पाँच लाख ५० हजार विनियोजन गरेका थिए ।

उपभोक्ता समितिका अध्यक्ष कृष्णबहादुर गौचनले पहिरोले पुरिएर भत्किएको विद्युतगृह र उपकरण मर्मत गरेर परियोजना सञ्चालन गरिएको बताए । परियोजना सञ्चालन भएपछि चारवटा बस्तीका ३७० परिवार लाभान्वित भएका छन् । ‘नहरबाट आएको पानी संकलनहुने ट्यांकी भरिएर बग्दा खसेको पहिरोले विद्युतगृह र पेनस्टक पाइप बगाएको थियो,’ गौचनले भने, ‘पेनस्टक पाइप, विद्युतगृह र उपकरण परिवर्तन तथा मर्मत गरेर परियोजना पुन: सञ्चालन गरेर गाउँलाई उज्यालो बनाएका छौं ।’

वि.सं २०७८ भदौमा बाढीले बगाएको परियोजना मर्मत गरेर ६ महिनापछि पुन: सञ्चालन गरिएको थियो । लमसुङमा रहेको परियोजना २०७२ सालमा जुगेपानी पहिरोले बगाएपछि मरेनीको फेदीमा स्थानान्तरण गरिएको थियो । दरखोला दोस्रो लघुजलविद्युत परियोजना तेस्रोपटक पहिरोको चपेटामा परेको छ । केन्द्रीय प्रसारण लाइन नपुगेको लुलाङका बासिन्दा विद्युत सुविधाका लागि लघुजलविद्युत परियोजनामा निर्भर छन् ।

उज्यालोका लागि टुकीको भर पर्नुपर्ने, वडा कार्यालय, स्वास्थ्य संस्थाको सेवा प्रभावित, मोबाइल चार्ज गर्न, ल्यापटप, कम्प्युटर चलाउन समस्या भएको थियो । परियोजना पुन: सञ्चालन भएपछि विद्यार्थीलाई पढ्न र स्थानीयबासीलाई घरायासी काम गर्न सहज भएको छ । धवलागिरि गाउँपालिकाका उपाध्यक्ष रेशम पुनले पटकपटक पहिराले लघुजलविद्युत परियोजनामा क्षति गरेकाले लुलाङ, खोरिया, लमसुङ र मरेनीमा जतिसक्दो छिटो केन्द्रीय प्रसारण लाइनको विद्युतीकरण गर्न पहल गरेको बताए ।

प्रतिक्रिया दिनुहोस्