Logo

कोहलपुरबाट मालपोत र नापी सेवा

नेपालगन्ज– बाँकेको कोहलपुर नगरपालिकाबाट मालपोत र नापी कार्यालयको सेवा शुभारम्भ गरिएको छ । सेवाग्राहीलाई सरल र सहज तरिकाबाट सेवा प्रदान गर्ने उद्देश्यले बुधबार एक कार्यक्रमका बीच भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री रन्जिता श्रेष्ठ चौधरीले औपचारिक रूपमा उद्घाटन गरेसँगै सेवा सुचारु भएको हो ।

कार्यालयको सेवा प्रवाह शुभारम्भ गर्दै मन्त्री चौधरीले कोहलपुर क्षेत्रका नागरिकहरू मालपोत र नापीसंँग सम्बन्धित कामका लागि अब नेपालगन्ज जानुपर्ने बाध्यता अन्त भएको बताइन् । ‘यसले यहाँका नागरिकलाई धेरै राहत हुनेछ,’ उनले भनिन् । सेवाग्राहीलाई मालपोत तथा नापी कार्यालय विभिन्न प्राविधिक समस्या भोग्न परीरहेको धेरै गुनासो आएको बताउँदै यसरी आएका गुनासो न्यूनीकरण गर्नेतर्फ आफ्नो ध्यान केन्द्रित भएको बताइन् ।

‘हाम्रो मातहतका कार्यालयमा सेवाग्राहीलाई विभिन्न खाले समस्या भएको भन्दै गुनासो आउने गरेको छ,’ उनले भनिन् ‘यस्ता गुनासो न्यूनीकरण गर्दै नापनक्सा तथा जग्गा प्रशासन कार्यलाई थप प्रभावकारी बनाउने छौं ।’ नागरिकका गुनासालाई उत्तरदायी, पारदर्शी र गुणस्तरीय बनाउने कार्यमा आफू र मातहतका विभागका कर्मचारी क्रियाशील हुँदै आवश्यक नीति तथा कार्यक्रम बनाएर निरन्तर कार्यान्वयन गरिरहेको उनको भनाइ थियो ।

कार्यक्रममा प्रतिनिधिसभाका सांसद सूर्य ढकालले कोहलपुरमा स्थापना भएको मालपोत र नापी कार्यालयले जनतालाई सहज रूपले सेवा दिनुपर्ने सुझाव दिए । कोहलपुरबाट सेवा प्रवाह गर्नका लागि गत असोज २६ गतेबाट नै नेपालगन्जबाट हुने कामकाज रोकिएको थियो । नापी र मालपोत कार्यालय कोहलपुरको कार्यक्षेत्रमा पर्ने सबै वडाहरूको कामकाज बुधबारदेखि कोहलपुरबाट नै हुने मालपोत कार्यालय कोहलपुरका प्रमुख निरबहादुर दाहालले जानकारी दिए ।

मालपोत कार्यालय कोहलपुरका लागि ३३ जना विभिन्न तहका कर्मचारीको दरबन्दीसमेत स्वीकृत भइसकेको छ । यस्तै नापी विभागले नापी कार्यालय कोहलपुरका लागि १६ स्थायी र चार करार गरी २० जना कर्मचारीको दरबन्दी स्वीकृत गरेको छ । स्वीकृत दरबन्दीअनुसार नापीको कोहलपुर कार्यालयमा एक उपसचिव, दुई नापी अधिकृत, चार नापी सर्वेक्षक, ६ अमिन, एक कम्युटर सहायक, एक सहायक लेखापाल र एक सहायक प्रशासन चौथो तहका कर्मचारी रहेका छन् ।

अन्य चारजना कार्यालय सहयोगी भने करारमा राख्नका लागि दरबन्दी स्वीकृत भएको नापी कार्यालय कोहलपुरले जनाएको छ । कोहलपुर नगरपालिका, बैजनाथ र राप्तीसोनारी गाउँपालिकाका गरी तीन पालिकाका २७ वडाका नागरिक जग्गासम्बन्धी काम कोहलपुरबाटै हुनेछ । यसअघि बाँकेका नागरिकहरुले नापी तथा मालपोत सेवा लिन असहज भएको भन्दै गुनासो गरेसँगै सरकारले शाखा विस्तार गरिएको हो ।

२०७८ चैत १७ गतेको मन्त्री परिषद् बैठकको निर्णयअनुसार कोहलपुरमा शाखा स्थापना गरेर सेवा सुचारु गर्ने निर्णय गरेको थियो । कार्यक्रममा मन्त्रालयका सचिव गोकर्णमणि दुवाडी, नापी विभागका प्रकाश जोशी, कार्यालयका प्रमुखहरूको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्