कर्णालीमा कहिले हुन्छ तुइन विस्थापित ?

जाजरकोट– तात्कालीन प्रधानमन्त्री केपी ओली प्रधानमन्त्री हुँदा तुइनमुक्त गर्ने भन्दै व्यापक चर्चा परिचर्चा पायो । तर कर्णालीमा ओलीभन्दा पछाडि दुईजना प्रधानमन्त्री देशले पाए पनि कर्णाली तुइनमुक्त हुन सकेको छैन । तुइनबाट कर्णालीमा भर्खरैमात्र दुई जनाको ज्यान गइसकेको छ । विगतमा अन्य कतिले ज्यान गुमाए त्यसको कुनै एकिन हिसाब छैन ।
सडकको पहुँच तथा नदी, खोलामा पुल निर्माण नभएपछि कर्णालीका सर्वसाधारण दैनिक आफ्ना समस्या पूरा गर्न तुइनकै सहारामा ज्यानको बाजी लगाएर भए पनि फलामको लहरोमा झुण्डिएर वारपार गरिरहेका छन् । हातमा ठेला बसुन्जेल तुइनमा झुण्डिएर मृत्युलाई जित्दै कतिले नदी, खोला तर्छन भने कतिको तुइन तरेर गन्तव्यमा पुग्ने सपना पानीमै विलिन हुने गरेको छ ।
सरकारले विकास र समृद्धिको नारा लगाउँदै गर्दा कर्णालीका विकट ठाउँमा जनता ठट्टा गरेझैं लाग्ने गरेको कर्णाली प्रदेशसभा सदस्य वीरबहादुर शाही बताउँछन् । ‘नारामात्र चिल्ला दिने काम भने उल्टो तरिकाले गर्दा कहाँ समृद्धिको नारा पूरा हुन्छ,’ उनले भने । शाहीकै गृह जिल्ला डोल्पामा तुइनबाट जगदुल्ला नदी तर्दा केही दिन अगाडि एक महिलाको मृत्यु भएको थियो ।
पूर्वमन्त्रीसमेत रहेका शाहीले सो ठाउँमा पुल निर्माण गरिदिन आग्रह गरे पनि प्रदेश सरकारले सो ठाउँमा पुल निर्माण गर्न बजेट नै नदिएको गुनासो गरे । शाहीका अनुसार डोल्पाको मुड्केचुला गाउँपालिका–१ औलबगरमा २०७६ सालमा बाढीले पुल बगाएपछि सो ठाउँमा अहिले सर्वसाधारणले तुइनको जोहो गरेर नदी वारपार गरिरहेका छन् ।
सोही तुइन तर्ने क्रममा मुडकेचुला–१ की तुला बोहराको मृत्यु भयो । यो कुरा कर्णाली सरकारलाई पनि थाहा छ तर पुल निर्माणका लागि बजेट दिँदैनन् शाहीले पीडा सुनाए । स्थानीयबासी अहिले पनि ज्यानको बाजी लगाएर सोही तुइनमार्फत् आवतजावत गरिरहेका छन् । त्यस्तै केही दिन अगाडि हुम्लाको मध्यभागमा रहेको सर्केगाड गाउँपालिकाको कर्णाली नदी पार गर्ने क्रममा असोज २० गते तुइन तान्ने डोरी चुडिँदा एकजना मृत्यु भयो ।
सर्केगाड–२ रिपस्थित ल्याप्चेको (खडीखेत) घाटमा तुइन तर्ने क्रममा ३८ वर्षीय मक्करसिंह नेपाली कर्णाली नदीमा खसेर बेपत्ता भएका थिए । उनी मुगुको सोरु गाउँपालिका–५ नेरगाउँका स्थानीय हुन् । कर्णाली करिडोरको ग्युसी छारे खण्डको छारेभीरमा सडक निर्माण गर्न मुगुबाट आएका नेपाली काम सकेर बासस्थानतिर जाने क्रममा ल्याप्चेमा रहेको (खडीखेत) घाटमा तुइनबाट खसेर बेपत्ता भएका थिए ।
कर्णाली करिडोरको हुम्ला खण्डमा पर्ने लालीबगर डुल्ली कुनको छारे क्षेत्रमा काम गर्ने मजदुरका रूपमा नेपाली त्यहाँ पुगेका थिए । घरमा दसैं तिहारमा खर्च जुटाउनुका साथै घरका समस्या हल गर्ने उद्देश्यले नेपाली त्यहाँ काम गरिरहेका थिए । पुल नभएकाले तुइनको सहारामा उनीजस्तै दर्जनौ मानिस दैनिक सोही ल्याप्चेको (खडीखेत) घाटमा वारपार गर्दछन् ।
त्यस्तै जाजरकोटको छेडागाड नगरपालिका–६ र जुनिचाँदे गाउँपालिका–४ को बीचमा रहेको कालेखोलामा वारपार गर्न स्थानीयले दैनिक तुइन तरेवापत एक सय रुपैयाँ तिर्ने गरेका छन् । निर्माण व्यवसायीले समयमै काम नगर्दा जाजरकोटको छेडागाड नगरपालिका–६ र जुनिचाँदे गाउँपालिका–४ को बीचमा रहेको कालेखोलामा वारपार गर्न समस्या भएपछि तुइनको सहारा लिनु परेको हो ।
साढे दुई वर्षअघि लगाएको पक्की पुलको ठेक्काको काम जय वागेश्वरी कन्स्ट्रक्सन बाँकेले अहिलेसम्म सुरु नगर्दा खोलामा तुइनको यात्रा अझै लम्बिने देखिएको छ । भेरी करिडोरबाट छेडा–चाँदे हुँदै जुम्ला जोडने सडकको बीचमा रहेको यो खोलामा वर्षेनी खोलाले बगाएर स्थानीयबासीको ज्यान जाने गरेको छ । पुल निर्माणको जिम्मेवारी पाएको निर्माण व्यवसायीले तोकिएको समयमा काम नगर्दा हैरानी खेप्नुपरेको आरोप लाग्दै आएको छ ।
सडक डिभिजन चौरजहारीले यो ठेक्का दुई वर्षअघि खोलेर निर्माण व्यवसायीसँग सम्झौता गरेको थियो । छेडागाड नगरपालिका–६ का मानबहादुर थापाले तुइन निर्माण गरेर अहिले यो खोलामा दैनिक सेवा दिइरहेका छन् । वर्षायाममा यो तुइनमार्फत् यहाँका सर्वसाधारण खोला तर्ने र दैनिक उपभोग्य सामग्री ढुवानी गर्दै आएका छन् । हिउँदयाममा खोलामा पानीको मात्रा कम भएपछि खोलामै जबरजस्त सवारीसाधन चलाएर खोला पार हुने गरेको छ ।
तुइनबाट खोला तरेर प्रतिव्यक्ति एक सय रुपैयाँ तिर्नुपर्ने बाध्यता रहको स्थानीयबासी रेशमबहादुर खड्काले बताए । यत्ता सडक डिभिजन चौरजहारीले भने ताकेता गरिरहेको बताएको छ । सरकारले देशैभरिका तुइन हटाउने भने पनि यहाँको तुइन हटाएर तत्काल पुल निर्माण गर्न सकेको छैन । झोलुंगे पुलसमेत नहुँदा यहाँका सर्वसाधारण समस्यामा पर्दै आएका छन् ।
पश्चिम क्षेत्रबाट निर्वाचित राजिवविक्रम शाहले पुल निर्माणमा ढिलासुस्ती गर्ने निर्माण व्यवसायीलाई काम गर्न दबाब नदिएको आरोप लाग्दै आएको छ । निर्माण व्यवसायीसँग पटकपटक सम्पर्क गर्न खोज्दा पनि सम्पर्क हुन सकेको छैन । आफूहरूले निर्माण व्यवसायीसँग ताकेता गरिरहेको सडक डिभिजन चौरजहारीले जनाएको छ । यो पुल निर्माणका लागि भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वालालाई समेत ध्यानाकर्षण गराएको भए पनि सुनुवाइ नभएको खड्काले बताए ।