Logo

दसैंका ग्राहक कुर्दै व्यापारी

जनकपुरधाम– आर्थिक मन्दीको कारण जनकपुरमा व्यापारीहरू व्यापारको आसमा रहेका छन् । शिवचोकमा व्यापार गर्दै आएका सोहन वर्माले एक सातादेखि बोहनी समेत नभएको बताए । सोही कारण आफूजस्तै अरु व्यवसायीहरू पनि ग्राहकको पखाइमा रहेको उनको भनाइ छ । सामान्यतया दसैं तिहार र छठ पर्व सुरु भएपछि व्यपार बढ्ने गथ्र्यो । चाँड पर्व लक्षित किनमेल गर्न बजारमा उपभोक्ताहरूको भीडभाड हुने गथ्र्यो ।

तर, यसपटक अर्थतन्त्रमा आएको गिरावटको कारण आम उपभोक्ताको क्रय शक्ति घटेकोले चहलपहल नदेखिएको जनकपुरका व्यापारीहरू बताउँछन् । दसैं सुरु हुँदासमेत जनकपुरमा किनमेल गर्ने उपभोक्ताहरूको चहलपहल देखिएको छैन् । जनकपुरको शिव चौकका अर्का व्यापारी तथा चेम्बर अफ कमर्सका अध्यक्ष विजय साहले दसैं सुरु भएपनि अन्य वर्षको तुलनामा यो वर्ष बजारमा उपभोक्ताहरूको पातलो उपस्थिति रहेको बताए ।

उनले भने,‘ व्यापारमा उत्साह छैन, व्यापार नहुँदा घर भाडा, बैंक ऋण तिर्न मुस्किल पर्ने अवस्था आएको छ ।’ खुल्ला सीमाको कारण अधिकांश उपभोक्ताहरू भारतीय बजारतर्फ आकर्षित हुनु, कोरोना प्रभाव लामो समयसम्म देखिनु, बैंक ब्याज चर्को हुनु, जथाभाबी रूपमा घर भाडा बढ्नु जस्ता कारणले जनकपुरका बजार क्षेत्रमा १५० भन्दा बढी सटरहरू बन्द भैसकेका छन् । आर्थिक मन्दीको कारण एक अर्बभन्दा बढी पुँजी पलायन भैसकेको आकलन गरिएको छ ।

आर्थिक मन्दी, बैंकको उच्च ब्याजदर, चर्को घर भाडा जस्ता कारणले व्यापार व्यवसायको गति सुस्ताएको हो । अर्को व्यापारी मोहम्मद असगर खानले विगत तीन महिनादेखि व्यापार खस्केकोले बैंकको ऋण तथा घर भाडा तिर्न समस्या परेको बताए । जनकपुर बजारमा मात्र पहिले दैनिक ५० लाखभन्दा बढी व्यापार हुने गरेकोमा अहिले मन्दीको कारण दैनिक १० लाख रुपैयाँको पनि व्यापार हुने गरेको छैन । १० हजार पसल रहेकोमा मन्दीको कारण व्यापारीहरू पलायन हुँदा ७ हजार जति पसल मात्र जनकपुर क्षेत्रमा रहेका छन् ।

बाँकी रहेका पसलहरू पनि आर्थिक मन्दीको चपेटामा परेका छन् । यहाँका ९५ प्रतिशत व्यापारीहरू बैंकबाट ऋण लिएर व्यापार गरिरहेका छन्, तर बैंकको ब्याज लिने नीति गलत भएकोले व्यापार घाटा उच्च रहेको उनीहरु बताउँछन् । अघिल्लो वर्षको दसैं तिहारमा जनकपुरका व्यापारीहरूको ८० प्रतिशत पहाडी समुदाय ग्राहक रहेका थिए । त्यतिखेर व्यापार उच्च रहेको शिवचौकका व्यापारी पशुपति सुल्तानिया बताउँछन् ।

पहाडी समुदाय पलायन भएपछि व्यापार प्रभावित हुन पुगेको छ । जनकपुरधामबाट ३५ किलोमिटर उत्तर पश्चिममा बर्दिबास बजार भने पहाडी समुदायको कारण भीडभाड रहेको छ । खस्कँदो व्यापारलाई अगाडि बढाउन तस्करी नियन्त्रण गर्नुपर्ने, करको दायरा बढाउनुपर्ने, व्यापारीहरूको हकहितलाई ध्यानमा राखी सरकारले बैंक ब्याज र कर घटाउनुपर्ने माग स्थानीय व्यवसायीहरूले गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्