Logo

पोखरामा आए दैनिक २२ मेट्रिक टन मुस्ताङका स्याउ

पोखरा– पोखरामा मुस्ताङबाट आएको २२ मेट्रिक टन स्याउ दैनिक खपत हुने गरेको छ । पोखरामा विगत एक महिनादेखि २२ देखि २५ मेट्रिक टन मुस्ताङको स्याउ खपत हुँदै आएको पोखरा शान्तिवन वाटिकामा रहेको कृषि उपज बजार व्यवस्थापन समितिका योजना सहायक रुपा दाहालले बताइन् । विश्वमै चर्चित मानिने मुस्ताङको स्याउ उत्पादन हुने समयमा पनि पोखरामा विदेशबाट स्याउ आउन छाडेको छैन ।

पोखराको बजारमा मुस्ताङकै स्याउ बढी बिक्री–वितरण भए पनि चाइनाको फुजी स्याउको मागसमेत नघटेको योजना सहायक दाहालले बताइन् । मुस्ताङको स्याउभन्दा महँगो भए पनि पोखरामा हिजोआज हप्तामा दुई गाडी फुजी स्याउ बिक्रीका लागि आउने गरेको उनले दाबी गरिन् । पोखरामा अघिल्लो भदौ २८ देखि नै मुस्ताङको स्याउ आउन थालेको योजना सहायक दाहालको दाबी छ ।

यद्यपि असोज २–३ गतेदेखि नियमित रुपमा स्याउ आउन थालेको योजना सहायक दाहालले जनाइन् । बाटो र व्यवसायीका कारण न्यूनतम ११ देखि अधिकतम ४२ मेट्रिक टनसम्म मुस्ताङबाट कहिलेकाहीं स्याउ आउने गरेको छ । मुस्ताङको स्याउ न्यूनतम १ सय ५० देखि अधिकतम २ सय रुपैयाँमा कृषि उपज बजारबाट बिक्री हुने गरेको सहायक दाहालले जनाइन् ।

प्रतिकेजी स्याउको पोखराको बजारमा खुद्रा मूल्य न्यूनतम १ सय ६० देखि ३ सय ५० रुपैयाँसम्म बिक्री भएको पाइन्छ । मुस्ताङमा किसानहरूले बोटमै प्रतिकेजी १ सयदेखि १ सय ३० रुपैयाँसम्ममा बिक्री गरेको ठिनीका एक किसान भूपेन्द्र थकालीले बताए । पोखरामा भने फुजी स्याउको हाल प्रतिकेजी ४ सय रुपैयाँमा बिक्री–वितरण भएको छ ।

पछिल्लो एक हप्तादेखि पोखरामा आउन लागेको स्याउमा भने रस पसिसकेको र पुष्टिएकाले गर्दा बजारमा मुस्ताङको स्याउको अत्यधिक माग भएको व्यवसायीहरूले बताए । मुस्ताङमा गोल्डेन डेलिसियस, रेड डेलिसियस, रिचारेड डेलिसियस, रोलय डेलिसियसलगायतका जातको स्याउ खेती हुँदै आएको छ । २ हजार ५ सयभन्दा माथिको उचाइमा उत्पादन भएको मुस्ताङको स्याउ अन्यभन्दा केही गुणस्तरको हुने गरेको स्थानीयले बताए ।

जिल्ला समन्वय समिति मुस्ताङको समन्वयमा मुस्ताङका पाँचवटै पालिकाका प्रमुखसहितको छलफलबाट असोज १ गतेभित्र मुस्ताङमा स्याउ टिप्न नपाइने निर्णय गरे पनि केही व्यवसायीले भने मुनाफा कमाउने दाउमा करिब एक साताअघि नै स्याउ टिपेर पोखरासम्म ल्याएका थिए । जलवायु परिवर्तनका कारण यसपालि फूल फुल्ने समयमा पानी परेका कारण परागसेचन हुन नपाएको हुँदा गत वर्षको तुलनामा यो वर्ष स्याउ उत्पादन करिब ३० प्रतिशत घट्न सक्ने कृषि ज्ञान केन्द्र, मुस्ताङका कार्यालय प्रमुख प्रकाश बस्ताकोटीले बताए ।

मुस्ताङको तल्लो पालिका थासाङ र घरपझोङमा यो वर्ष स्याउ उत्पादनमा कमी आउने उनले दाबी गरे । प्रमुख बस्ताकोटीका अनुसार मुस्ताङका अन्य गाउँपालिका बाह्रगाउँ मुक्तिक्षेत्र, लोमाङथाङ र लो घेकर दामोदर कुण्डमा सामान्य रूपमा स्याउ उत्पादनमा कमी हुनेछ । मुस्ताङ क्षेत्रमा गत वर्ष करिब ६० करोड मूल्य बराबरको स्याउ बिक्री भएको प्रमुख बस्ताकोटीले बताए ।

यसपालि मुस्ताङको स्याउको गुणस्तर कायम गर्दै किसानलाई उचित मूल्य उपलब्ध गराउने उद्देश्यले असोज १ पछि मात्र स्याउ टिप्न अनुमति दिइएकोमा एकाधबाहेक अधिकांशले असोज ३ देखि पोखरालगायतका क्षेत्रमा स्याउ बिक्री गरेका थिए । पछिल्लो समयमा पोखरामा सिजन र सिजनबिनाका धेरै प्रकारका फलफूल बिक्री हुन थालेको छ ।

प्रतिक्रिया दिनुहोस्