असोजमा चार अर्बको बिजुली बेचियो

काठमाडौं– नेपाल विद्युत प्राधिकरणले गत जेठदेखि असोजसम्ममा ११ अर्ब ८० करोड रुपैयाँको विद्युत भारत निर्यात गरेको छ । प्राधिकरणले देशभित्र खपत गरी बचत भएको वर्षायामको विद्युत यो वर्ष गत २८ जेठबाट भारतीय बजारमा बिक्री सुरु गरेको थियो । प्राधिकरणले चालु आर्थिक वर्ष २०८०–८१ को साउन, भदौ र असोजमा ९ अर्ब ६४ करोडको विद्युत निर्यात गरेको छ ।
असोजमा मात्र ४ अर्ब २ करोडको विद्युत निर्यात गरिएको छ । तीन महिनामा भारततर्फ निर्यात गरिएको विद्युतको औसत दर प्रतियुनिट १० रुपैयाँ २७ पैसा रहेको छ । गत जेठका पाँच दिनमा ४० करोड ५ लाख र असारमा १ अर्ब ७५ करोडको विद्युत निर्यात भएको थियो । जेठ र असारमा निर्यात गरिएको विद्युतको औसत दर प्रतियुनिट ९ रुपैयाँ ६७ पैसा थियो । साउनमा २ अर्ब १४ करोड, भदौमा ३ अर्ब ४७ करोड र असोजमा ४ अर्ब २ करोडको विद्युत भारतीय बजारमा निर्यात भएको छ ।
तीन महिनामा ९ अर्ब ६४ करोडको विद्युत निर्यात भएको हो । साउन, भदौ र असोजमा भारतर्फ निर्यात गरिएको विद्युतको औसत बिक्री दर प्रतियुनिट क्रमश : ८ रुपैयाँ ४३ पैसा, ११ रुपैयाँ ९७ पैसा र १० रुपैयाँ २० पैसा रहेको छ । तीन महिनाको विद्युत समग्र औसत बिक्रीदर भने प्रतियुनिट १० रुपैयाँ २७ पैसा छ । विद्युत निर्यातबाट नेपाल र भारतबीचको व्यापार घाटा कम गर्न र देशको विदेशी मुद्रा सञ्चितिमा योगदान पुगेको प्राधिकरणले बताएको छ । प्राधिकरणले देशभित्र खपत गरी बचत भएको वर्षायामको विद्युत भारत निर्यात गर्दै आएको छ ।

प्रााधिकरणले आइएक्सको डे–अहेड बजारमा प्रतिस्पर्धामार्फत र केहीअघिबाट मध्यकालीन विद्युत सम्झौताबमोजिम करिब ११० मेगावाट विद्युत भारतीय कम्पनी एनटिपिसी विद्युत व्यापार निगम लि–एनभिभिएनलाई बिक्री गरिरहेको छ । एनभिएनले उक्त विद्युत हरियाणा राज्यमा बिक्री गरिरहेको छ । भारतको केन्द्रीय विद्युत प्राधिकरणले प्रतिस्पर्धी बजारमा निर्यातका लागि स्वीकृति दिएकै ५२२ मेगावाट मध्येबाट पहिलो चरणमा करिब ४४ मेगावाट विद्युत रियलटाइम मार्केटमा बिक्रीलाई पनि अनुमति दिएको छ ।
विद्युत प्राधिकरणले प्रतिस्पर्धी बजारमा ५२२ मेगावाट र एनभिभिएनलाई ११० मेगावाट गरी ६३२ मेगावाट विद्युत निर्यातका लागि स्वीकृति पाएको छ । यसमध्ये ५६२ मेगावाट विद्युत ढल्केबर–मुजफ्फरपुर ४०० केभी अन्तरदेशीय प्रसारण लाइनबाट र ७० मेगावाट महेन्द्रनगर–टनकपुर १३२ केभी प्रसारण लाइनबाट निर्यात भइरहेको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले अहिलेको अवस्थालाई हेर्दा यो वर्ष करिब १६ अर्ब रुपैयाँको विद्युत निर्यात हुन सक्ने देखिएको बताए ।
‘करिब १ सय मेगावाट थप विद्युत निर्यात स्वीकृतिका लागि भारतको केन्द्रीय विद्युत प्राधिकरणसँग प्रस्ताव गरेका थियौं, तर अहिलेसम्म स्वीकृति नपाएपछि केहीअघि पुन: प्रस्ताव पठाएका छौं,’ कार्यकारी निर्देशक घिसिङले भने, ‘चाडपर्व सुरु भइसकेको छ । यो अवधिमा कलकारखाना बन्द हुँदा र काठमाडौंमा चिसो सुरु भइनसकेको तथा तराईमा गर्मी पनि सकिएकाले आन्तरिक रुपमा विद्युतको माग घट्छ । भारतबाट थप विद्युत निर्यात स्वीकृति नपाउने हो भने विद्युत गृहहरु बन्द गर्नुपर्ने अवस्था आउन सक्ने छ । यस्तो अवस्थामा छिट्टै थप विद्युत निर्यातका लागि स्वीकृति पाउनेमा विश्वस्त छौं ।’