छानबिन समिति गठन «

छानबिन समिति गठन

बाँके- गृह मन्त्रालयले गौहत्या प्रकरणको छानबिन गर्न उपसचिव सागरमणि पाठकको संयोजकत्वमा छानबिन समिति गठन गरेको जनाएको छ । सुरक्षा निकाय समेतको सहभागिता रहने चार सदस्यीय छानबिन समितिलाई वास्तविकता पत्ता लगाउने गरी १५ दिनको म्याद दिइएको गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले बताए ।
गृह मन्त्रालयले गाईको ओसारपसार, अस्वभाविक मृत्यु तथा घाइते भएकाको सम्बन्ध यथार्थ पत्ता लगाउने जनाएको छ । उक्त समितिलाई कुन व्यक्ति, पदाधिकारी एवं निकायको के कस्तो संलग्नता छ दोषीलाई प्रचलित कानुन बमोजिम कस्तो कारवाही गर्नेसम्मको अधिकार समेत दिइएको छ । संलग्नलाई कडा कारवाही गर्ने र उन्मुक्ति नदिने गृहमन्त्रालयले स्पष्ट पारेको छ ।
उता, सुर्खेतको जंगलमा गाई मृत भेटिएपछि स्थानीयले छानबिन गर्न माग गरेका छन् । दैलेख लैजाने भनिएपनि भिरबाट खसालेर नृशंस गौहत्या गरिएको भन्दै सत्यतथ्य छानबिन गर्न सरोकारवालाहरुले माग गरेका हुन् ।
नेपाल आर्य समाजका कोषाध्यक्ष श्याम शाक्यले भने, “लामो समयसम्म गाईलाई आवश्यक पर्ने घाँस, दाना, पानीको कुनै कमी हुन नदिएर स्याहारेका थियौं । कसैलाई थाहै नदिई दैलेख लैजाने नाममा सुर्खेतमा मरेको घटना बाहिर आएपछि अचम्म लागेको छ ।” घटनाको निष्पक्ष छानबिन हुनुपर्ने उनले माग गरे ।
सामाजिक अभियन्ता हेमन्त काफ्लेले घटनालाई निकै संवेदनशील रुपमा लिनुपर्ने बताए ।
छाडा चौपाया व्यवस्थापन गर्ने भन्दै नेपालगञ्ज उपमहानगरले व्यवस्थापन समितिसमेत गठन गरेको थियो । तर, यतिका संख्यामा गाई दैलेख लैजान लाग्दा समेत समितिलाई जानकारी नगराएको समितिका पदाधिकारीहरुको आरोप छ । समितिका उपाध्यक्ष डा. विनोद कर्णले राजीनामा दिएका छन् ।
नेपालगञ्ज उपमहानगरले भने सुर्खेत हुँदै दैलेखसम्म लैजाने क्रममा केही पशुचौपाया मरेको भन्ने विषयमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । उपमहानगरका कार्यवाहक मेयर सुनिलसिंह हमालले सो घटनाप्रति गम्भिर ध्यानाकर्षण भएको बताउँदै यस विषयमा यथार्थ छानबिनका लागि प्रशासनसँगको समन्वयमा छानबिन समिति गठन गरिने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्